विराटनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश कार्यसमितिको प्रथम बैठक विराटनगरस्थित सप्तकोशी पार्टी प्यालेसमा सम्पन्न भएको छ।
कोशी प्रदेश अध्यक्ष रामकुमार थापाको अध्यक्षतामा बसेको बैठकले पार्टीको आगामी महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउने, वडा तहदेखि प्रदेश तहसम्म संगठनलाई थप सुदृढ र गतिशील बनाउने तथा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने विषयमा छलफल गरेको छ।
बैठकमा संगठन विस्तार, कार्यकर्तामा नयाँ ऊर्जा भर्ने, जनतासँगको सम्बन्ध थप बलियो बनाउने र निर्वाचनमा पार्टीको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ।
राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन र समृद्धिलाई पार्टीको मूल मान्यताका रूपमा अघि बढाउँदै जनताको विश्वासलाई राजनीतिक शक्तिमा रूपान्तरण गर्ने अभियानलाई निरन्तरता दिने बैठकको निष्कर्ष रहेको छ।
बैठकले आगामी दिनमा संगठनात्मक गतिविधिलाई तीव्रता दिँदै पार्टीलाई वडा तहदेखि प्रदेश तहसम्म थप मजबुत बनाउने संकल्पसमेत व्यक्त गरेको छ।



























