
दमक । झापाको दमक–५ मामाचोक छेउमा ‘पहाडे अर्गानिक भान्साघर’ तथा ‘पहाडे अर्गानिक हब’ सञ्चालनमा आएको छ । एक कार्यक्रमको आयोजना गरी भान्साघर तथा अर्गानिक हबको औपचारिक शुभारम्भ गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी संघ, कोशी प्रदेशका अध्यक्ष राजन दङ्गालले होटल व्यवसायमा छिटो सुरु हुने र छिट्टै बन्द हुने प्रवृत्ति रहेको उल्लेख गर्दै व्यवसाय सञ्चालन गर्दा दीर्घकालीन योजना र निरन्तरतामा ध्यान दिन आग्रह गर्नुभयो।
पहाडे अर्गानिक भान्साघर तथा पहाडे अर्गानिक हबका सञ्चालक रबिन चाम्लिङ राईले अर्गानिक रूपमा उत्पादन भएका तरकारी तथा स्थानीय उत्पादनबाट तयार पारिएका खाना तथा खाजा दमकवासीलाई उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याइएको बताउनुभयो।
रवि पास्थरको स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै उपभोक्तालाई स्वस्थ, ताजा र गुणस्तरीय अर्गानिक खाना उपलब्ध गराउने आफ्नो मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।
कार्यक्रमको सञ्चालन हाम्रो सरेकार डट नेटका सञ्चालक अनि देव राईले गर्नुभएको थियो। कार्यक्रममा दमक उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य तथा अम्बिका माछा फ्राईकी सञ्चालिका डुका कुमाल, दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमाल लगायतको उपस्थिति रहेको थियो।
दमक । झापाको दमकमा दशैँको अवसर पारेर दुईवटा खेलकुद प्रतियोगिता आयोजना हुने भएका छन्। दमक नगरपालिका–६ को खेलकुद विकास समितिको आयोजनामा वडा स्तरीय फुटसल र खुला दौड प्रतियोगिता हुन लागेको हो।
असोज २४ र २५ गते दमक–५ स्थित बिष्ट फुटसल मैदानमा हुने फुटसल प्रतियोगितामा दमक नगरपालिकाका १० वटै वडाबाट टोली सहभागी हुनेछन्। प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन टोलीले २ हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ।
खेलकुद विकास समिति दमक–६ का अध्यक्ष सबिन निरौलाका अनुसार युवालाई खेलकुदतर्फ आकर्षित गर्दै वडा तहबाटै खेलाडी उत्पादन र विकास गर्ने उद्देश्यले पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागिएको हो।
त्यसैगरी, असोज ३१ गते ५ किलोमिटर दूरीको खुला दौड प्रतियोगिता आयोजना गरिने भएको छ। महिला तथा पुरुष दुवै विधामा हुने प्रतियोगितामा देशभरबाट ५ सयभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
दौड दमक बजारस्थित शंखधर चोकबाट सुरु भई फर्निचर लाइन, पशुहाट, सुत्लीलाइन–नगरपालिका रोड हुँदै फाल्गुनन्द चोक पुगेर पुनः शंखधर चोकमै आएर सम्पन्न हुनेछ।
दौड प्रतियोगिताका विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। सहभागी सबैलाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुन ३५० रुपैयाँ शुल्क तोकिएको छ भने नाम दर्ता गरेपछि सहभागीलाई टी–सर्टसमेत उपलब्ध गराइने युवा धावक सरोज सिंहले जानकारी दिनुभयो।
वडा अध्यक्ष टेकबहादुर थापाका अनुसार युवालाई कुलतबाट टाढा राख्दै खेलकुदमार्फत सकारात्मक ऊर्जा र अनुशासनतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। दशैँपछि आगामी मंसिरमा चेस, ब्याडमिन्टनलगायत अन्य खेलकुद प्रतियोगिता समेत आयोजना गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो।





