तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाका–३ का अध्यक्ष मिननाथ दाहालले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।
नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले नगरपालिकाको दैनिक कामकाज सञ्चालन गर्न भन्दै दाहाललाई कार्यवाहकको जिम्मेवारी तोकेका थिए । तर, वडाध्यक्ष दाहालले भने उक्त जिम्मेवारी अस्वीकार गरेका हुन् ।
नगरपालिकाले २०८३ मंसिर १ गते पत्र जारी गर्दै नगरप्रमुख जिल्ला बाहिर जानुपर्ने भएकाले फर्किएर उपस्थित नभएसम्म दैनिक रूपमा कार्यवाहक नगरप्रमुख भई कामकाज गर्न दाहाललाई भनेको थियो । पत्रमा नगरप्रमुखको अनुपस्थितिमा नगरपालिकाको दैनिक प्रशासनिक कामकाज सञ्चालन गर्न कार्यवाहकको जिम्मेवारी सम्हाल्न भनिएको छ ।
तर, दाहालले नगरप्रमुख र उपप्रमुखबीचको सहमति तथा कानुनी प्रक्रियाबारे प्रश्न उठाउँदै जिम्मेवारी अस्वीकार गरेका हुन् ।
उनले नगरपालिकाको नेतृत्वविहीन अवस्था हुन नदिन नगरप्रमुखको अनुपस्थितिमा उपप्रमुखले जिम्मेवारी बहन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको बताएका छन् ।
यसअघि पनि नगरप्रमुख तुम्बाहाम्फेले उपप्रमुख जमुनादेवी सुवेदी उपस्थित हुँदाहुँदै वडा अध्यक्ष दाहाललाई कार्यवाहक नगरप्रमुखको जिम्मेवारी दिएपछि नगरपालिका विवादमा परेको थियो । त्यतिबेला नगरप्रमुख भारत भ्रमणमा जानुअघि वडा नं। ३ का अध्यक्ष दाहाललाई कार्यवाहकको पत्र तयार गरी जिम्मेवारी तोकेका थिए ।
उक्त निर्णय स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत भएको भन्दै उपप्रमुख सुवेदी उच्च अदालत विराटनगरको धनकुटा इजलास पुगेकी थिइन् ।अदालतले प्रारम्भिक सुनुवाइपछि कार्यवाहक नगरप्रमुखको जिम्मेवारी वडा अध्यक्षलाई दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन, २७४ को दफा १६ को उपदफा (४) को खण्ड (क) को १२ अनुसार नगरप्रमुख सात दिनभन्दा बढी अनुपस्थित हुने अवस्थामा उपप्रमुखलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ । उपप्रमुख पनि अनुपस्थित भएमा मात्र कार्यपालिकाका कुनै सदस्यलाई जिम्मेवारी दिन सकिने कानुनी प्रावधान रहेको छ ।
यसअघि कार्यवाहकको जिम्मेवारी पाएका दाहालले आफूलाई नगरप्रमुखले दिएको पत्रका आधारमा जिम्मेवारी बुझेका थिए । पुनस् कार्यवाहकको जिम्मेवारी तोकिएपछि दाहालले नगरप्रमुख र उपप्रमुखबीच यस विषयमा सहमति भएको हो वा होइन भन्ने स्पष्ट हुनुपर्ने बताएका छन् ।नगरप्रमुख तुम्बाहाम्फे, उपप्रमुख सुवेदी र वडा अध्यक्ष दाहाल तीनै जना गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।



























