Author: Multi Media

  • दमक बहुमुखी क्याम्पसद्वारा छात्रावास सञ्चालन सुरु

    दमक बहुमुखी क्याम्पसद्वारा छात्रावास सञ्चालन सुरु

    माघ २४ , दमक / दमक बहुमुखी क्याम्पसले शुक्रबारदेखि छात्रावास सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी क्याम्पसले छात्रावासको उद्घाटन गरेको हो ।

    दमक नगरपालिका–९ स्थित क्याम्पस मोडबाट दक्षिणतर्फ क्याम्पस झर्ने बाटोमै रहेको सुरक्षित तथा पूर्ण कम्पाउन्डसहितको घर भाडामा लिएर अस्थायी रूपमा छात्रावास सञ्चालन गरिएको क्याम्पस प्रमुख यज्ञराज गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार हाल उक्त छात्रावासमा ५० जना विद्यार्थी अट्ने व्यवस्था गरिएको छ भने दमकभन्दा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीहरूलाई न्यूनतम शुल्कमा बसोबासको सुविधा उपलब्ध गराइनेछ ।

    छात्रावासमा जम्मा २० वटा कोठा रहेका छन् । साथै भान्सा तथा भण्डार कक्ष छुट्टै व्यवस्था गरिएको जनाइएको छ । कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष ढुण्डिराज भण्डारीले हाल सञ्चालनमा ल्याइएको छात्रावास अस्थायी भएको उल्लेख गर्दै भविष्यमा क्याम्पसकै आफ्नै स्थायी भवन निर्माण गरी छात्रावास सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार जग्गा खरिद प्रक्रिया अघि बढिसकेको र जग्गा प्राप्त भएपछि आवश्यकता अनुसार स्थायी छात्रावास निर्माण गरिनेछ ।

    छात्रावास उद्घाटन कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रामकुमार थापा रहनुभएको थियो । कार्यक्रममा विभिन्न सरोकारवाला, शिक्षा प्रेमी, क्याम्पस सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

  • दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

    दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

    माघ २३, दमक / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दमकका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। शुक्रबार दमक नगरपालिकामा आयोजित छलफल कार्यक्रममा सहभागी दल तथा उम्मेदवारहरूले घृणा फैलाउने अभिव्यक्ति बन्द गर्दै शान्तिपूर्ण, मर्यादित र स्वच्छ निर्वाचन सम्पन्न गर्न आफूहरू तयार रहेको साझा धारणा व्यक्त गरे।

    कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख राम थापाले निर्वाचन नागरिकको अभिमत प्रकट गर्ने लोकतन्त्रको सुन्दर प्रक्रिया भएकाले यसलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु सबैको साझा दायित्व रहेको बताउनुभयो। उहाँले झापा क्षेत्र नम्बर ५ सबैको चासोको क्षेत्र भएकाले यहाँ स्वस्थ राजनीतिक प्रतिस्पर्धा देखिनुपर्ने धारणा व्यक्त गर्नुभयो। त्यस्तै, इलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपालले निर्वाचन आचारसंहिता पालनाको अवस्था सूक्ष्म रूपमा अनुगमन भइरहेको जानकारी दिँदै आचारसंहिता उल्लङ्घन भएमा उम्मेदवारीसमेत खारेज हुन सक्ने भन्दै सबै दललाई सजग रहन आग्रह गर्नुभयो।

    छलफलमा नेकपा एमाले दमक नगर अध्यक्ष राम पौडेल, नेपाली कांग्रेस दमक नगर कार्यवाहक सभापति प्रेम भट्टराई, नेपाली कम्युनिस्ट पार्टी नगर अध्यक्ष रवि बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति तीर्थ लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष हेम सुवेदी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाई लगायत धार्मिक तथा सामाजिक क्षेत्रका अगुवाहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा सहभागीहरूले जेलबाट फरार कैदी तथा अवैध हतियार नियन्त्रणका लागि एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधि प्रयोगमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।दलहरूले आचारसंहिता विपरीत गतिविधिमा संलग्न आफ्ना कार्यकर्तालाई आफैं कारबाही गर्ने र निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्ने साझा निष्कर्ष निकालेका छन्।

  • इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

    इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

    माघ २२, इलाम / इलामको चुलाचुली गाउँपालिका–५ स्थित श्री भानु माध्यमिक विद्यालय, बुकुवामा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक, जुत्ता तथा मोजा वितरण गरिएको छ। आमा डेन्टल केयर प्रा.लि. दमकको आर्थिक सहयोगमा कक्षा १ देखि ४ सम्म अध्ययनरत ७१ जना विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो।

    आमा डेन्टल केयर प्रा.लि. दमककी सञ्चालिका मन्दिरा श्रेष्ठको जन्मदिनको अवसर पारेर फजुल खर्चलाई निरुत्साहित गर्ने उद्देश्यसहित करिब १५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा बोल्दै आमा डेन्टल केयर प्रा.लि.का सञ्चालक अर्जुन श्रेष्ठले समाजसेवा गर्न धनसँगै मन पनि आवश्यक हुने बताउँदै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने धारणा व्यक्त गर्नुभयो।

    विद्यालयमा हाल विपन्न वर्गका २८१ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी विद्यालयका प्रधानाध्यापक रघुनाथ मिश्रले दिनुभयो। उहाँले यस किसिमको सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप उत्साह मिल्ने बताउनुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद सम्मानफेले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अनिवार्य रूपमा पोशाक लगाएर विद्यालय आउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

    कार्यक्रम भानु मिलन बाल क्लबकी अध्यक्ष निशा सम्भाव्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विद्यालयका शिक्षक माधव खनालले गर्नुभएको थियो। आमा डेन्टल केयर प्रा.लि.ले यसअघि पनि यस्ता सामाजिक तथा मानवीय सेवा कार्यक्रमहरू निरन्तर गर्दै आएको जनाएको छ।

  • लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा

    लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा

    माघ २२, दमक / लेखक तथा पशुपालन व्यवसायी ब्रिजकुमार शर्माले राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको सन्देश बोकेर मेची–महाकाली पैदल यात्रा सुरु गर्नुभएको छ। यात्राका क्रममा उहाँले “स्थिर सरकार युगको आवश्यकता” भन्ने मूल नारासहित देशभर जनचेतना फैलाउने उद्देश्य लिएको बिहिबार दमकमा पत्रकारसँग भेटघाटका क्रममा बताउनुभएको छ।

    यात्राको क्रममा प्रयोग गरिएको झोलामा उहाँको पुस्तक ‘आशा–सपना’ को तस्वीरसहित स्थिर सरकारको महत्व दर्शाउने सन्देश अंकित गरिएको छ। राजनीतिक अस्थिरताले विकास र सुशासनमा बाधा पुर्‍याएको उल्लेख गर्दै लेखक शर्माले स्थिर सरकार नै समृद्ध नेपालको आधार भएको धारणा राख्नुभएको छ।

    उहाँका अनुसार पैदल यात्रामार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्दै राजनीतिक स्थायित्व, जिम्मेवार शासन प्रणाली र जनमुखी विकासबारे बहस सिर्जना गर्ने लक्ष्य रहेको छ। “राजनीतिक स्थायित्व बिना सुशासन सम्भव छैन, र सुशासन बिना समृद्धि हासिल हुँदैन,” उहाँले भन्नुभयो। मेचीदेखि महाकालीसम्मको यो पैदल यात्रा सामाजिक सन्देशमूलक अभियानका रूपमा अघि बढाइएको आयोजक पक्षले जनाएको छ।

  • इलाका प्रहरी कार्यालय दमकद्वारा सई सुजाता सुवेदीको विदाई तथा वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान

    इलाका प्रहरी कार्यालय दमकद्वारा सई सुजाता सुवेदीको विदाई तथा वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान

    माघ २१, दमक / इलाका प्रहरी कार्यालय दमकले ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाश प्राप्त गर्नु भएकी प्रहरी नायव निरीक्षक (सई) सुजाता सुवेदीको विदाई तथा प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा पदोन्नति हुनु भएकी संगिता देवी निरौला श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान गरेको छ।
    कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा अनिवार्य अवकाश प्राप्त सई सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथि तथा इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव निरीक्षक किशोर लम्सालले प्रशंसा पत्र प्रदान गर्नुभयो। सो अवसरमा बोल्दै कार्यालय प्रमुख लम्सालले सुवेदीले प्रहरी संगठनमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै अवकाशपछिका दिनमा पनि नेपाल प्रहरी संगठनलाई निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।
    यसैगरी दज्र्यानी चिन्ह प्राप्त गर्नु भएकी प्रहरी वरिष्ठ हवल्दार संगिता देवी निरौला श्रेष्ठलाई बधाई दिँदै कार्यालय प्रमुख लम्सालले पदोन्नतिसँगै जिम्मेवारी पनि बढेकाले इमान्दारिताका साथ कर्तव्य निर्वाह गरी उदाहरणीय प्रहरी बन्न निर्देशन दिनुभयो।
    विदाई मन्तव्य राख्दै सई सुवेदीले आफ्नो ३० वर्षे सेवा अवधिमा भोगेका अनुभवहरू साझा गर्नुभयो। संगठनमा रहँदा विभिन्न कठिन परिस्थिति, दुःख–सुख, बाधा–बेहोरनाका बाबजुद अग्रज तथा सिनियर अधिकृतहरूको साथ, सहयोग र मार्गदर्शनका कारण लामो समयसम्म प्रहरी संगठनको गरिमा कायम राख्न सफल भएको बताउनुभयो।

    सेवा अवधिभर कुनै पनि कारबाहीमा नपर्न पाएकोमा गर्व लागेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रमको अन्त्यमा इलाका प्रहरी कार्यालय दमकका सम्पूर्ण प्रहरी परिवारले सई सुवेदीलाई सहसम्मान विदाई गर्दै प्रहरी भ्यानमार्फत घर पठाएको कार्यालयले जनाएको छ।

  • मेची प्रशोधित पानी उत्पादक सङ्घको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, पदम राउत अध्यक्षमा निर्वाचित

    मेची प्रशोधित पानी उत्पादक सङ्घको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, पदम राउत अध्यक्षमा निर्वाचित

    माघ २१, बिर्तामोड / झापाको बिर्तामोडमा मेची प्रशोधित पानी उत्पादक सङ्घको आठौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट एक्वा मेरी पानी फ्याक्ट्रीका सञ्चालक पदम राउत सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित हुनुभएको छ।

    बुधबार बिर्तामोड नगरपालिका–५ स्थित अर्किड होटेलमा आयोजित कार्यक्रममा नेपाल पानी उद्योग महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश संयोजक रुपचन्द्र नौलखा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नौलखाले पानी उद्योगलाई अझ स्वच्छ, सुरक्षित र गुणस्तरीय बनाउन आवश्यक मापदण्डहरू कडाइका साथ पालना गर्न उद्योगीहरूलाई आग्रह गर्नुभयो।

    अध्यक्षमा निर्वाचित पदम राउतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत एक वर्षमा सम्पन्न कार्यक्रमहरूको विवरण सार्वजनिक गर्नुभयो। उहाँले जिल्लास्तरीय पानी उद्योगीहरूबीच एकता सुदृढ गर्दै गुणस्तरीय उत्पादन र मुनाफासहितको बिक्री–वितरणलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो। साथै कोशी प्रदेशभर मूल्य समायोजन तथा एउटै प्रणाली लागू गर्न प्रदेशस्तरीय संयन्त्र स्थापना गरी प्रदेशलाई नियमनकारी बनाइएको बताउनुभयो।

    आगामी एक वर्षका लागि नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष राउतले गुणस्तरीय उत्पादन र व्यवस्थित बिक्री–वितरणलाई अझ प्रभावकारी बनाउने, जिल्लास्तरीय उद्योगीहरूलाई सङ्घमा आबद्ध गराउने, संघको नीति तथा विधानअनुसार भाइचाराको वातावरण सिर्जना गर्ने तथा छिमेकी जिल्लामा हुने गतिविधिहरूमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    अधिवेशनबाट सात सदस्यीय कार्यसमिति गठन गरिएको छ। उपाध्यक्षमा प्रकाश महत्तो, सचिवमा राजेन्द्र अधिकारी , कोषाध्यक्ष मदन पाण्डे चयन हुनुभएको छ भने सदस्यहरूमा अन्जना निरौला, सुमन भट्टराई र टिका पराजुली रहनुभएको छ। कार्यक्रमको सञ्चालन सङ्घका सचिव राजेन्द्र अधिकारीले गर्नुभएको थियो।

  • दमकमा टिफर र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

    दमकमा टिफर र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

    माघ २१, दमक / झापाको दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ। दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिफर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१-०१-०१८ प ८३०३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

    दुर्घटनामा मोटरसाइकल चालक जिल्ला इलाम चुलाचुली गाउँपालिका–४ निवासी २२ वर्षीय प्रवेश राई र पछाडि सवार सोही ठाउँका १९ वर्षीय जनम राई गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि दमक अस्पताल ल्याइएकोमा उपचारकै क्रममा दिउँसो ३:५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

    टिपर चालक जिल्ला उदयपुर त्रियुगा नगरपालिका–९ राटमाटे निवासी ३२ वर्षीय हिबराज राय रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि टिपर चालक, टिपर र मोटरसाइकललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। मृतक दुवैको शव हाल दमक अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।