Author: Multi Media

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    माघ ८, दमक / दमक ट्राफिक प्रहरी कार्यालयको भवनमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम ने.प्र.रा.सु. तथा ट्रा.व्य.का. इटहरी, सुनसरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    कार्यक्रममा दमक ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक विजय राई, दमक नगरपालिका वडा नं. २ का वडा अध्यक्ष प्रजापति सापकोटा , लायन्स क्लब तथा लियो क्लबका विभिन्न पदाधिकारीहरू, बस व्यवसायी संघ, अटो तथा ई–रिक्सा संघका अध्यक्षहरू, मझौला ट्याक्सी स्टेन्डका अध्यक्ष, यातायात तथा ट्राफिक व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा भद्रभलाद्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    अन्तरक्रियामा सवारी दुर्घटनाका कारण, न्यूनीकरणका उपाय, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, चालक तथा यात्रुको सचेतना अभिवृद्धि र सरोकारवालाबीचको समन्वयलाई थप मजबुत बनाउने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले दुर्घटना न्यूनीकरणका लागि संयुक्त प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

    कार्यक्रमबाट ६५ जना सहभागीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। आयोजकले यस्ता कार्यक्रमले सडक सुरक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

    दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

    माघ ७, दमक / दमक उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमिति तथा लेखा समितिसहितको पहिलो बैठक आज सम्पन्न भएको छ। संघका अध्यक्ष गोपाल गुरागाईंको अध्यक्षतामा बसेको बैठकले हालै सम्पन्न निर्वाचनदेखि व्यवसायिक हितका विषयसम्म महत्वपूर्ण निर्णयहरू गरेको छ।

    बैठकले पुस १८ गते सम्पन्न संघको निर्वाचनमा सहभागी सम्पूर्ण उद्यमी–व्यवसायीहरू, निर्वाचन समितिका पदाधिकारी, सुरक्षाकर्मी, दलीय प्रतिनिधिहरू तथा सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ। उक्त जानकारी संघका प्रथम उपाध्यक्ष रुबल अधिकारीले दिएका हुन्।

    उनका अनुसार बैठकले संघको संस्थागत तथा प्रशासनिक कार्यलाई प्रभावकारी बनाउने निर्णयसँगै व्यवसायीहरूका समस्यामा सहजीकरण गर्दै आएको प्रक्रियालाई थप सहज बनाउने उद्देश्यले निवेदन तथा सहजीकरण शुल्क बापत लिइँदै आएको रकम खारेज गर्ने निर्णय गरेको छ।

    त्यसैगरी, विधान बमोजिम सहजीकरण समिति तथा व्यवसायी हित कोष परिचालन सम्बन्धी समितिको संयोजकमा द्वितीय उपाध्यक्ष टीकाराम खतिवडालाई तोकिएको छ। समितिका सदस्यहरूमा कविन श्रेष्ठ र विवेक बजगाईंलाई मनोनयन गरिएको छ।

    बैठकले हालै दमक–९ स्थित स्वस्तिक थुक्पा उद्योग र दमक–६ नमुना बजारमा रहेको दमक ढाका टोपी स्टोरमा भएको आगलागी घटनाप्रति दुःख व्यक्त गर्दै व्यवसायी हित कोषबाट नियमानुसार राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ।

    संघले आगामी दिनमा स्थानीय उद्योग, व्यापार तथा व्यवसायीहरूको हित संरक्षण र समस्या समाधानका लागि अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

    ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

    माघ ५, दमक / नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ लाई महाभिडन्तको संज्ञा दिनु आवश्यक नरहेको बताउनुभएको छ। जोसुकै नागरिकले निर्वाचन लड्न पाउने संवैधानिक अधिकार भएकाले कसैको उम्मेदवारीलाई ठूलो इस्यु बनाइरहन नपर्ने उहाँको भनाइ छ।

    आज सोमबार दमक आइपुग्नुभएका अध्यक्ष ओलीले दमकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन प्रक्रिया स्वाभाविक भएकाले चर्चाका लागि कसैले उम्मेदवारी दिए पनि त्यसलाई सामान्य रूपमा लिनुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहतर्फ संकेत गर्दै उहाँले झापामा घरपरिवार, आफन्त वा छिमेकीसमेत नभएका व्यक्तिको उम्मेदवारीले चुनावमा खासै प्रभाव नपर्ने दाबी गर्नुभयो।

    यहाँ आफन्त कोही नभएका व्यक्ति चुनाव लड्न आए आफैंले डेरा खोजिदिने भन्दै ओलीले आफ्नो क्षेत्रमा कसैले डराउनु नपर्ने र आवश्यक सुरक्षा पनि आफूहरूले दिने बताउनुभयो।

    अध्यक्ष ओलीले सरकारले अहिलेसम्म चुनावी वातावरण बनाउन नसकेको आरोपसमेत लगाउनुभयो। असुरक्षा बढ्दै गएको, निर्वाचन आयोग त्रासदीपूर्ण अवस्थामा काम गर्नुपरेको र प्रहरीको मनोबल कमजोर भएको उहाँको भनाइ थियो। चुनावको मुखमा झापाका प्रहरी प्रमुख एसपी सरुवा गरिएको विषयप्रति कडा आपत्ति जनाउँदै उहाँले व्यक्तिको दबाबमा प्रहरी सरुवा गर्नु अनुचित भएको बताउनुभयो। निष्पक्ष चुनाव गराउने डरले नै झापाका प्रहरी प्रमुखको सरुवा गरिएको ओलीको आरोप छ।

    पत्रकार सम्मेलनमा टिकट वितरणप्रति असन्तुष्टि देखिएको भन्ने प्रश्नमा अध्यक्ष ओलीले पार्टीभित्र कुनै ठूलो समस्या नरहेको स्पष्ट पार्नुभयो। एमाले पारदर्शी पार्टी भएको उल्लेख गर्दै ठूलो पार्टी भएकाले केही व्यक्तिको असन्तुष्टि स्वाभाविक हुने उहाँको भनाइ थियो।

    एमालेको चुनावी योजनाबारे बोल्दै अध्यक्ष ओलीले झापामा आधारभूत विकास भइसकेको उल्लेख गर्दै अब थप विकास आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा नदी नियन्त्रण, सिँचाइ, खानेपानी तथा कृषि क्षेत्रको विस्तारमा विशेष जोड दिने प्रतिबद्धता जनाउनुभयो।

  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

    नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

    माघ ५, दमक / नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा क्षेत्र नम्बर ५ बाट पार्टी केन्द्रीय सदस्य रन्जित तामाङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार घोषणा गरेको छ। पार्टीले दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तामाङको उम्मेदवारी सार्वजनिक गरेको हो।

    पत्रकार सम्मेलनमा उम्मेदवार तामाङले बालबालिकाको हत्यामा संलग्न व्यक्ति तथा भदौ २४ गते देश सञ्चालन गर्ने जिम्मेवारीमा रहेकाहरुलाई समेत कानुनी दायरामा ल्याएर सजाय हुनुपर्ने धारणा राख्नुभयो। उहाँले अहिलेको निर्वाचन प्रक्रियालाई कसैलाई पहिल्यै विजयी घोषणा गरिएको जस्तो प्रचार भइरहेकोप्रति असन्तुष्टि जनाउँदै त्यसले अराजकता र प्रतिशोधलाई बढावा दिने खतरा रहेको बताउनुभयो।

    राजनीतिले अराजकता र प्रतिशोधलाई होइन, लोकतान्त्रिक मूल्य–मान्यता र विधिलाई नेतृत्व गर्नुपर्ने उल्लेख गर्दै तामाङले अराजकता र प्रतिशोधको आयु सधैं छोटो हुने दाबी गर्नुभयो। उहाँले संसारको कुनै पनि देशमा अराजकता र प्रतिशोधले राजनीति जितेको उदाहरण नरहेको बताउँदै त्यस्ता प्रवृत्तिले मुलुकलाई निकास दिन नसक्ने जिकिर गर्नुभयो।

    तामाङले आगामी निर्वाचनमा नागरिकले विवेक प्रयोग गर्दै सही राजनीतिलाई जिताउने विश्वास व्यक्त गर्नुभयो। जनताले मुलुकको हितमा काम गर्न नसक्ने शक्तिलाई परास्त गर्ने उहाँको भनाइ छ।

  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

    प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

    माघ ४, दमक / प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। दमकबाट सहभागिता जनाएका ५९ केजी तौल समूहका आयुश धिमालले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्। त्यस्तै, ४६ केजी तौल समूहमा देन्सु योगीले द्वितीय स्थान हासिल गरी रजत पदक प्राप्त गरेका छन्।

    दमक तेक्वान्दो डोजाङबाट कुल पाँच जना खेलाडीहरूले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा दमकका खेलाडीहरूको सफलताबारे दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले जानकारी दिएका हुन्।

    उक्त प्रतियोगिता सुनसरीको इटहरीस्थित रंगशाला कबडहलमा माघ १, २ र ३ गते सञ्चालन भएको थियो। प्रदेशभरिका विभिन्न क्लब तथा डोजाङका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिता प्रतिस्पर्धात्मक र उत्साहजनक बनेको थियो।

    वि.सं. २०८१ सालमा स्थापना भएको दमक तेक्वान्दो डोजाङले छोटो समयमै खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। डोजाङले तेक्वान्दो खेलको विकाससँगै अनुशासन, आत्मविश्वास र खेलभावना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ।

  • दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

    दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

    दमक / माघ ३, दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वले आज (शनिबार) साँझ दमकमा ४५औं पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वर्ष २०२५ का अध्यक्ष सहदेव भट्टराईले वर्ष २०२६ का नवनिर्वाचित अध्यक्ष राजेन्द्र बिमलीलाई अध्यक्षको चेन पहिराएर औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए । सोही समारोहका बीच अध्यक्ष बिमलीले दमक जेसीज वर्ष २०२६ का लागि बोर्ड समिति गठन तथा मनोनयनको घोषणा गरेका थिए ।

    अध्यक्ष बिमलीले महासचिव पदमा रुवल अधिकारी, कोषाध्यक्षमा सन्ध्या बराल, कानुनी सल्लाहकारमा विशाल अधिकारी, प्रकरण निर्देशकमा सुमन कुमाल तथा सचिवमा धर्म ढुंगानालाई मनोनित गरेका छन् । यसअघि पुस महिनामा सम्पन्न निर्वाचन प्रक्रियाबाट कार्यकारिणी उपाध्यक्षमा साजन श्रेष्ठ र कृष्ण भट्टराई निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै, उपाध्यक्ष पदमा आभुषण भट्टराई, सरिता आचार्य, कुमारबाबु गजुरेल र मनिष श्रेष्ठ निर्वाचित भएका छन् । जनसम्पर्क अधिकारीमा राहुल साह तथा तालिम निर्देशकमा पंकज पोखरेल निर्वाचित भएका थिए ।

    पदस्थापन कार्यक्रममा कार्यक्रम संयोजक धर्म ढुंगानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन नवनियुक्त महासचिव रुवल अधिकारीले गरेका थिए । कार्यक्रममा साजन श्रेष्ठले धन्यवाद मन्तव्य राख्दै कार्यक्रमको समापन गरेका थिए ।

  • दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

    दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

    माघ ३, दमक / दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शुक्रबार दमक–६ स्थित मातृभूमि पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ। पुस १८ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले सो अवसरमा शपथ ग्रहण गरेका हुन्।

    कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष देवीप्रसाद गुरागाईं (गोपाल)ले गर्नुभएको थियो। निर्वाचन अधिकृत लिलानाथ गुरागाईंले अध्यक्ष गुरागाईंलाई शपथ गराउनुभएको थियो भने अध्यक्ष गुरागाईंले संघका निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य तथा लेखा समिति पदाधिकारीहरूलाई शपथ गराउनुभएको थियो।

    शपथ ग्रहण गर्ने पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष भगवान बस्नेत, प्रथम उपाध्यक्ष रुवल अधिकारी, द्वितीय उपाध्यक्ष टिकाराम खतिवडा, तृतीय उपाध्यक्ष सुवास गड्तौला तथा महिला उपाध्यक्ष संगीता तुम्बापो रहेका छन्।

    यसैगरी, कार्यसमिति सदस्यहरूमा भरत दुलाल, चिरन न्यौपाने, कविन श्रेष्ठ, कुमार श्रेष्ठ, टंकप्रसाद आचार्य, सहदेव भट्टराई, हेमसागर अधिकारी, कृष्णराज दाहाल, टंक ढकाल, डुका कुमाल, बुद्धिशेखर बजगाईं, गोकुल खड्का, खेमराज पाण्डे तथा महिला सदस्यहरू संगीता प्रसाईं र उर्मिला गुरुङ रहेका छन्। लेखा समिति संयोजकमा भेनस श्रेष्ठ तथा सदस्यहरूमा रुपक सापकोटा र राजकुमार अधिकारीले शपथ ग्रहण गरेका छन्।

    कार्यक्रमकै अवसरमा निवर्तमान कार्यसमितिलाई स–सम्मानसहित विदाई गरिएको थियो। नवनिर्वाचित अध्यक्ष गुरागाईंले व्यवसायिक हित, उद्योग–व्यवसायको प्रवर्द्धन तथा दमकको आर्थिक विकासका लागि संघले समन्वयात्मक र सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।