Author: Multi Media

  • कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

    कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

    माघ ३, झापा / कमल गाउँपालिका–५ स्थित सितापुरी उत्तरमा रहेको किराँत समुदायको ऐतिहासिक साकेला थानमा प्रतीकात्मक सुप्तुलुङ, माङ्पा सामा र बुम्छुत का छुट्टाछुट्टै प्रतिमा अनावरण गरिएको छ।

    कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले औपचारिक कार्यक्रमका बीच ती प्रतिमाहरूको अनावरण गरेका हुन्। अनावरणसँगै उक्त प्रतिमाहरू किराँत राई यायोक्खा झापा जिल्ला समितिलाई हस्तान्तरणसमेत गरिएको छ।

    किराँत राई यायोक्खा कमल गाउँ समितिको पहलमा स्वदेश तथा विदेशमा रहेका किराँतसम्बद्ध सहयोगदाताहरूको आर्थिक सहयोगबाट प्रतिमाहरू निर्माण गरिएको हो। कार्यक्रमका अवसरमा यायोक्खा कमलतर्फबाट प्रतिमा निर्माण समिति संयोजक भिमराज राईले यायोक्खा झापाका अध्यक्ष गणेश राईलाई सम्पदा हस्तान्तरण गरे। अध्यक्ष राईले संरचनाहरूको संरक्षण, आवश्यक रेखदेख तथा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    यायोक्खा कमल गाउँ समिति सदस्य भिमराज राईका अनुसार प्रतिमा निर्माणका लागि ८ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ। साथै उनले निर्माण प्रक्रियामा भएको आम्दानी तथा खर्चको विवरणसमेत सार्वजनिक गरेका थिए।

    कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष हुकुमसिंह राईले साकेला थानको रक्षा र किराँत सम्पदाको संरक्षणका लागि सबै किराँत धर्मावलम्बीहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। यस्ता पहलहरूले नयाँ पुस्तामा किराँत धर्म, संस्कृति र पहिचानप्रति अभिप्रेरणा जगाउने विश्वास व्यक्त गरे।

    प्रथम किराँत राजा यलम्बरले शुरु गरेको येले सम्वत ५०८६ नयाँ वर्ष तथा माघे संक्रान्तिको अवसरमा शुभकामना आदान–प्रदानसहित सम्पन्न कार्यक्रममा स्थानीय किराँत धर्मप्रेमी तथा सामाजिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशिष्ट अतिथिका रूपमा कोशी प्रदेशका पूर्व सांसद अर्जुन राईले शुभकामना मन्तव्य राखेका थिए।

    किराँत राई यायोक्खा कमल गाउँ समिति अध्यक्ष हरिचन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सल्लाहकार संयोजक सन्तोष राईले राखेका थिए भने कार्यक्रम सञ्चालन सदस्य चन्द्रप्रकाश राईले गरेका थिए।

  • राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

    राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

    माघ ३, झापा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पार्टीका केन्द्रीय सदस्य लक्ष्मी प्रसाद संग्रौलालाई आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै संगठन विस्तार र स्थानीय तहमा प्रभावशाली नेतृत्वको पहिचान बनाइसकेका संग्रौला उम्मेदवार चयन भएसँगै झापा–५ को राजनीतिक सरगर्मी थप बढेको छ।

    झापा–५ हाल देशकै सबैभन्दा चर्चित र प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रका रूपमा उभिएको छ। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको सम्भावित प्रतिस्पर्धाले यस क्षेत्रलाई राष्ट्रिय स्तरमै चर्चा र चासोको केन्द्र बनाएको छ। यही पृष्ठभूमिमा राप्रपाले पनि आफ्ना तर्फबाट बलियो र स्थापित उम्मेदवारका रूपमा संग्रौलालाई अघि सारेको हो।

    राप्रपाका नेताहरूका अनुसार संग्रौलाको उम्मेदवारीले झापा–५ मा त्रिकोणात्मक प्रतिस्पर्धा झन् रोचक बन्ने विश्वास गरिएको छ। स्थानीय नेताहरूले संग्रौलालाई इमानदार, संगठनमैत्री र कार्यकर्तामाझ लोकप्रिय व्यक्तित्वका रूपमा चिनिने नेता भएको बताएका छन्।

    बढ्दो राजनीतिक चहलपहल र बहसलाई ध्यानमा राख्दै पार्टीको सुदृढ उपस्थिति जनाउने उद्देश्यसहित संग्रौलालाई उम्मेदवार बनाइएको राप्रपाले जनाएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवार चयन, चुनावी तयारी, रणनीति तथा सम्भावित गठबन्धनका कारण झापा–५ को राजनीतिक वातावरण थप तातिँदै गएको छ। अब विभिन्न दलका उम्मेदवारबीचको प्रतिस्पर्धा कसरी अघि बढ्छ भन्ने विषयले देशव्यापी राजनीतिक वृत्तमा विशेष चासो पैदा गरेको छ।

  • झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

    झापा–५ मा प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

    माघ २, दमक / निर्वाचन आयोग नेपालको मातहतमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि झापा क्षेत्र नम्बर ५ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। कोशी प्रदेशअन्तर्गत झापा जिल्लाको दमक नगरपालिका–८ मा रहेको अर्गानिक कृषि बजारको खाली भवनमा कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी सम्पूर्ण काम–कारबाही अगाडि बढाइएको छ।

    झापा क्षेत्र नम्बर ५ का लागि निर्वाचन अधिकृत विदुर कार्कीको नेतृत्वमा ९ जना कर्मचारी खटिएका छन्। कार्यालयमा एक जना मुख्य निर्वाचन अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, नासु वा खरिदार सरहका एक जना कर्मचारी, एक जना कम्प्युटर अपरेटर, दुई जना कार्यालय सहयोगी, एक जना सवारी चालक तथा एक जना पीएसओ कार्यरत रहेका छन्।

    निर्वाचन प्रयोजनका लागि यस क्षेत्रमा ६१ वटा मतदान स्थल र १ सय ८५ वटा मतदान केन्द्र तोकिएका छन्। निर्वाचन कार्यालयका अनुसार झापा क्षेत्र नम्बर ५ मा कुल १ लाख ६३ हजार ३ सय ७९ जना मतदाता रहेका छन्।

    निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी तीव्र रूपमा अघि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयको शुभारम्भसँगै व्यवस्थापनसम्बन्धी कार्यहरू सुरु भइसकेको निर्वाचन अधिकृत विदुर कार्कीले जानकारी दिनुभयो । निर्वाचन सफल पार्न सबै सरोकारवालासँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

  • दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

    दमकमा प्रथम नगरस्तरीय जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

    माघ ३, दमक / झापाको दमकमा शुक्रबारदेखि सुरु भएको प्रथम दमक नगर जुनियर तथा सिनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। स्कुल जुनियर र सिनियर तर्फका खेलहरू २ र ३ गते सञ्चालन भई उत्कृष्ट खेलाडी तथा विद्यालयहरूलाई पुरस्कार वितरण गरिएको हो।

    समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा दमक नगरपालिकाका नगर प्रमुख राम थापा उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा दमक वडा नं. ७ का वडाध्यक्ष भिम प्रसाद पौडेल, झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णु नेम्बाङ, दमक नगर खेलकुद समितिका अध्यक्ष भिम चम्लागाईं लगायत अन्य अतिथिहरूको सहभागिता रहेको थियो। सम्पूर्ण खेल तथा कार्यक्रमहरू सभ्य र भव्य रूपमा सम्पन्न गरिएको आयोजकले जनाएको छ।

    प्रतियोगितामा विद्यालयतर्फको नतिजा यस प्रकार रहेको छः

    प्रथम विद्यालय: चुलाचुली बोर्डिङ स्कुल – ७ स्वर्ण, २ कास्य

    द्वितीय विद्यालय: इन्स्पायर बोर्डिङ स्कुल – ६ स्वर्ण, ३ कास्य ४ रजत

    तृतीय विद्यालय: सिद्धार्थ बोर्डिङ स्कुल – ६ स्वर्ण, २ कास्य

    व्यक्तिगत उत्कृष्टतर्फ महिला उत्कृष्ट खेलाडी चुलाचुली बोर्डिङ स्कुलकी दीक्षा तामाङ र पुरुष उत्कृष्ट खेलाडी सोही विद्यालयका सुसान्त लिम्बू घोषित भए। अनुशासित विद्यालय को उपाधि सेन्कु पब्लिक स्कुल ले प्राप्त गर्‍यो।

    कार्यक्रमको सञ्चालन बिमल जंग शंकर ले गर्नुभएको थियो भने कार्यक्रम झापा जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष नवीन तामाङ को अध्यक्षतामा सम्पन्न भएको हो।

    झापा जिल्ला आईटीएफ तेक्वान्दो संघको स्थापना २०७२ सालमा भएको हो। हाल कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, इलामको चुलाचुली गाउँपालिका लगायत झापा जिल्लाभर संघका शाखाहरू विस्तार भइसकेका छन्।

  • गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

    गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगको आधिकारिकता

    माघ २, काठमाडौं — निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ। आयोगको शुक्रबार बसेको बैठकले थापालाई नेपाली कांग्रेसको सभापतिको मान्यता दिने निर्णय गरेको हो।

    राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा गगन थापा सभापति चयन भएका थिए। सभापति चयनपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेका थिए।

    आयोगले दुवै पक्षबाट बुझाइएका कागजात, निर्णय र प्रक्रिया अध्ययन गरेपछि थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएको जनाएको छ। यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा शेरबहादुर देउवा पक्षबाट गुमेको छ। देउवा पक्षले पनि आफू नै आधिकारिक भएको दाबी गर्दै आयोगमा कागजात पेश गरेको थियो।

  • दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

    दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक जना नियन्त्रणमा

    माघ २, दमक / झापाको दमक नगरपालिका–१ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका डेकबहादुर थापाको घरभित्र लुकाइछिपाई राखिएको अवस्थामा हातहतियारको पार्टपुर्जा फेला परेको छ।

    प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट डिएसपी किशोर लम्सालको कमाण्डमा खटिएको प्रहरी टोलीले थापा बस्दै आएको जस्ताको छानो भएको टहरामा खानतलासी गरेको थियो। सो क्रममा टहराको भुईँमा बालुवाले पुरेर राखिएको अवस्थामा सर्टगनको बटको भाग (बटमा १३२०४४७ नम्बर लेखिएको) थान–१ बरामद गरिएको प्रहरीले जनाएको छ।

    बरामद गरिएको उक्त हातहतियारको पार्टपुर्जा मिति २०८२/०५/२४ गते Gen-Z आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको अभिलेखसँग मेल खाएको प्रहरीको भनाइ छ।

    प्रहरीले बरामद गरिएको हातहतियारको पार्टपुर्जा कानून बमोजिम नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको इप्रका दमकले जानकारी दिएको छ।

  • मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

    मिडिया नेपाल झापा सह–सचिवमा सुजन गौतम मनोनित

    पुष ३०, झापा / मिडिया नेपाल झापा शाखाको सह–सचिव पदमा युवा पत्रकार सुजन गौतम मनोनित भएका छन्। मिडिया नेपालको कार्यसमितिको निर्णयअनुसार गौतमलाई सह–सचिव पदमा मनोनयन गरिएको हो।

    तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा जन्मिएका गौतम हाल झापाको दमक नगरपालिकामा बसोबास गर्दै आएका छन्। उनी नेक्स्ट नेपाल मिडिया प्रा.लि.द्वारा सञ्चालित मल्टिमिडिया डट कमका सञ्चालकसमेत हुन्। साथै, न्युज झापा अनलाइन र पूर्व सन्देश पत्रिका लगायत विभिन्न सञ्चार माध्यम तथा संस्थामा उनी आबद्ध रहँदै आएका छन्।

    २२ वर्षे उमेरमै पत्रकारितामा सक्रिय गौतमले पाँच वर्षभन्दा बढी समयदेखि निरन्तर पत्रकारिता गर्दै आएका छन्। स्थानीयदेखि राष्ट्रिय विषयवस्तुमा समाचार, सूचना र जनसरोकारका मुद्दा उठाउँदै आएका उनी युवामाझ परिचित नाम हुन्। मनोनयन पत्रमा मिडिया नेपालले गौतमको अनुभव, सक्रियता र प्रतिबद्धताले संस्थाको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

    साथै, संस्थाको विधान, नियम र निर्णयअनुसार जिम्मेवारी निर्वाह गर्दै आगामी दिनमा संस्थाका गतिविधिमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ। गौतमको मनोनयनसँगै मिडिया नेपाल झापा शाखामा युवाको सहभागिता थप सशक्त हुने विश्वास गरिएको छ।