Author: Multi Media

  • दमकमा सिनियर तथा जुनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप हुने

    दमकमा सिनियर तथा जुनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप हुने

    पुष २६, दमक / झापा जिल्लाको दमकमा सिनियर तथा जुनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ २ र ३ गते दमक नगरपालिका–७ स्थित वडा कार्यालय परिसरभित्र सञ्चालन हुनेछ । निजी तथा सरकारी दुवै विद्यालयको सहभागिता रहने प्रतियोगितामा १७ वटा विद्यालय सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रम झापा जिल्ला आईटीएफ तेक्वान्दो सङ्घ र दमक नगर आईटीएफ तेक्वान्दो समितिको संयुक्त आयोजनामा हुन लागेको हो ।

    आर्थिक सहयोगका रूपमा दमक नगर खेलकुद समिती तथा दमक नगरपालिका वडा नम्बर ७ बाट वार्षिक ५० हजार रुपैयाँ विनियोजन गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सञ्चालनका लागि अनुमानित खर्च १ लाख ६० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा विद्यालयस्तरमा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडी (महिला तथा पुरुष ), अनुशासित खेलाडी (महिला तथा पुरुष ) र अनुशासित विद्यालयलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

    कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम थापा रहने छन् भने विशिष्ट अतिथिमा दमक नगर खेलकुद समितिका अध्यक्ष भीम चम्लागाईं र वडा नम्बर ७ का अध्यक्ष भीमप्रसाद पौडेल रहनेछन् । झापा जिल्ला आईटीएफ तेक्वान्दो सङ्घको स्थापना २०७२ सालमा भएको हो । हाल कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, इलामको चुलाचुली गाउँपालिका लगायत झापा जिल्लाभर यसको शाखा विस्तार भइसकेको छ ।

    झापा जिल्ला आईटीएफ तेक्वान्दो सङ्घका अध्यक्ष नवीन तामाङले शनिबार ल्याटे आर्ट क्याफेमा आयोजित एक कार्यक्रममा प्रतियोगिताबारे जानकारी गराउँदै खेलकुदमार्फत युवालाई लागूऔषधको कुलतबाट जोगाउँदै स्वस्थ गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । दमक नगरपालिकाले सहयोग गरिरहेको भए पनि खेलकुदको थप प्रवर्द्धनका लागि अझै सहयोग आवश्यक रहेको तामाङको भनाइ छ । प्रतियोगितामा आईटीएफ तेक्वान्दो सङ्घका राष्ट्रिय रेफ्री अनुप श्रेष्ठ र मनोज खटिवडा, आईटीएफ तेक्वान्दोका राष्ट्रिय स्वर्ण पदक विजेता रोशन मगरलगायत खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति रहने छ ।

  • दमकमा बालिकाको कानको सुनको रिङ काटेर चोरी गर्ने ६ जनाको समूह पक्राउ

    दमकमा बालिकाको कानको सुनको रिङ काटेर चोरी गर्ने ६ जनाको समूह पक्राउ

    पुष २५, दमक / झापाको दमक नगरपालिका–५ लालीगुराँस टोलमा पाँच वर्षीया बालिकाले लगाएको सुनको रिङ नेल कटरको प्रयोग गरी काटेर चोरी गर्ने समूहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    पुस २५ गते बिहीबार दिउँसो करिब ३ बजे भएको उक्त घटनामा संलग्न व्यक्तिहरूलाई आज पक्राउ गर्न प्रहरी सफल भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुमन लिम्बुको पाँच वर्षीया छोरी प्यारोन लिम्बु आफ्नै घरअगाडि बाटोमा खेलिरहेको अवस्थामा सो समूह प्र.१–०१–००१ ह ८३८५ नम्बरको सिटी सफारीमा आएर बालिकाले कानमा लगाएको सुनको रिङ नेल कटरले काटी चोरी गरी फरार भएका थिए।

    प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दमक नगरपालिका–८ का १८ वर्षीय संजय माझी, दमक–७ का १८ वर्षीय निश्चल विश्वकर्मा, दमक–६ का ३८ वर्षीय मेघराज मेहेत्तर तथा भारतको कलकत्ताका स्थायी बासिन्दा भई हाल दमक–६ मा बस्दै आएका ५३ वर्षीय रिटन दाससहित ६ जनालाई पक्राउ गरेको जनाएको छ। अन्य दुई जनाको विवरण अनुसन्धानका क्रममा खुलाइएको प्रहरीले बताएको छ।पक्राउ परेकाहरूमाथि चोरी मुद्दामा इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

  • कोशी प्रदेशको पहिलो ‘कोशी घुम्ती अस्पताल’ कमल नगर अस्पतालमा उद्घाटन

    कोशी प्रदेशको पहिलो ‘कोशी घुम्ती अस्पताल’ कमल नगर अस्पतालमा उद्घाटन

    पुष २५ , कमल / शुक्रबार, पुस २५, २०८२ कोशी प्रदेशको पहिलो “कोशी घुम्ती अस्पताल” को औपचारिक उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कमल नगर अस्पतालमा गर्नुभएको छ। झापाको कमल गाउँपालिकाबाट कोशी प्रदेशकै पहिलो घुम्ती अस्पताल सेवा सुरु हुनु ऐतिहासिक उपलब्धि भएको बताउँदै मुख्यमन्त्री कार्कीले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण तथा अर्ध–शहरी समुदायलाई लक्षित गरी यो कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।

    गाउँ–गाउँमा सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालनमा ल्याइएको घुम्ती अस्पतालबाट नागरिकले विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय सेवा सहजै प्राप्त गर्ने स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले बताउनुभयो। उहाँले यस्ता जनहितका कार्यक्रमलाई पार्टीगत दृष्टिकोणले नभई सबैले साझा रूपमा साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। कोशी प्रदेश सरकारद्वारा सञ्चालनमा ल्याइएको पहिलो घुम्ती अस्पताल आफ्नै पालिकाबाट सुरु भएकोमा खुसी व्यक्त गर्दै कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले प्रदेश सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो। घुम्ती अस्पतालमार्फत आफ्ना पालिकाका नागरिकले विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाउन थालेको उल्लेख गर्दै उहाँले यसले स्थानीय स्वास्थ्य सेवामा ठुलो राहत पुगेको बताउनुभयो।

    घुम्ती अस्पताल सेवाअन्तर्गत रगत परीक्षण, पिसाब परीक्षण, रक्तचाप जाँच, मधुमेह (सुगर) परीक्षण, थाइराइड जाँच, मुटु सम्बन्धी परीक्षण, ईसीजी (मुटुको जाँच), हड्डी तथा नसासम्बन्धी रोगको परीक्षण, विशेषज्ञ परामर्श तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। कार्यक्रममा स्वास्थ्य निर्देशनालय कोशीका निर्देशक ज्ञानबहादुर बस्नेत, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव यदुचन्द्र घिमिरे, विशेषज्ञ चिकित्सक, जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    त्यसैगरी कमल नगर अस्पतालमा Artificial Intelligence (AI) प्रविधिमा आधारित Digital X-Ray सेवा सहितको स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो। शिविरमार्फत क्षयरोग, फोक्सो तथा छातीसम्बन्धी रोगहरूको छिटो र प्रभावकारी परीक्षण गरिएको थियो। कमल नगर अस्पताल प्रमुख दिपक प्रसाद दहालका अनुसार, AI–Digital X-Ray सेवामार्फत जम्मा १८२ जनाको परीक्षण गरिएकोमा ३६ जना क्षयरोग शंकास्पद देखिएकाले थप परीक्षण तथा उपचारका लागि सिफारिस गरिएको छ। समग्रमा घुम्ती अस्पताल र AI–Digital X-Ray शिविरबाट जम्मा ३६१ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका थिए। यस प्रकारका एकीकृत तथा प्रविधिमैत्री स्वास्थ्य कार्यक्रमले ग्रामीण समुदायको स्वास्थ्यस्तर सुधारमा दीर्घकालीन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

  • दमकमा पतंजली योग नगर समिति गठन, रोहित उप्रेती अध्यक्षमा सर्वसम्मत चयन

    दमकमा पतंजली योग नगर समिति गठन, रोहित उप्रेती अध्यक्षमा सर्वसम्मत चयन

    पुष २५, दमक / पतंजली योग दमक नगर समितिको अध्यक्षमा रोहित (किरण) उप्रेती सर्वसम्मत चयन भएका छन् ।इलामको चुलाचुलीस्थित पर्यटकीयस्थल चपेटीमा आज आयोजित बनभोजसहित तेस्रो वार्षिक साधारणसभाले उप्रेतीको अध्यक्षतामा पतंजली योग दमक नगर समिति गठन भएको हो । समितिको महासचिवमा शेखर अधिकारी, सचिवमा रमेश दाहाल, संगठन सचिवमा रिङकुमार आचार्य, कोषाध्यक्षमा नन्दकुमार राई, प्रमुख प्रशिक्षक लक्ष्मी श्रेष्ठ, मिडिया प्रभारी भोलाप्रकाश ओझा रहनुभएको छ ।

     

    त्यस्तैं, समितिका सदस्यहरुमा राजन दाहाल, भजेन्द्र श्रेष्ठ, रुद्र खतिवडा, संजिव रिमाल, राजकुमार खड्का, भिम सुवेदी, ख्याम गौतम, राजु मिश्र चयन हुनुभएको छ ।आजै, सम्पन्न वार्षिक साधारणसभाले उमेश घिमिरेको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ । समितिको सदस्यहरुमा तारा उप्रेती, रणजित बस्नेत र अम्बिका खनाल रहनुभएको छ ।समितिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा र पतंजली योग पीठ नेपाल कोशी प्रदेशका महासचिव लक्ष्मी काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा प्रमुख अतिथि काफ्लेले नवगठित समितिका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुको नामावली घोषणा गर्नुभएको थियो ।

     

    कार्यक्रममा अध्यक्ष दुर्गा प्रसाद भण्डारीले दमक नगर समिति स्थापनाकालदेखि हालसम्मका संस्थागत विषयलाई समेटेर तयार पारिएको प्रतिववेदन पेश गर्नुभएको थियो । वहाँले दमक नगरपालिकालाई योगमय बनाउने अभियानमा जोडिनुभएको अग्रज व्याक्तित्वहरुका योगदानदेखि विभिन्न घट्नाहरुको स्मरण गर्नुहुँदै योग गुरु तथा योग शिक्षिकाहरुलाई आभार तथा धन्यवाद दिनुभएको थियो ।सो कार्यक्रममा पतंजली योग कोशी प्रदेश सदस्य मिना कोइराला पतंजली योग झापा उपाध्यक्ष शशिल निरौला, जिल्ला मिडिया प्रभारी सोमनाथ आचार्य, कमल गाउँ अध्यक्ष त्रिलोलन गौतम, महामन्त्री मोहन खनाल, दमक उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र ढकाल, सूर्य दर्शन वचत तथा ऋण सहकारी संस्थाका कर्जा प्रमुख तथा योग गुरु इश्वर नेपाल, सूर्य दर्शन वचत तथा ऋण सहकारी संस्थाका बजार प्रमुख तथा योग गुरु राजकुमार खड्का लगायतको उपस्थिति थियो ।

     

    कार्यक्रममा नवगठित समितिको तर्फबाट अध्यक्ष उप्रेतीले प्रतिवद्धता भनाईहरु राख्नुभएको थियो । उप्रेतीले दमकमा योग साधानासम्बन्धि गतिविधिहरुलाई आगामी वर्ष अझ बढी प्रभावकारी बनाइने बताउनुभयो ।बार्षिक साधारणसभा सञ्चालन हुनुअघि म्यूजिकल चियर, हण्डीफोर, गीत, कविता र नृत्यहरु प्रस्तुत गरिएको थियो । सोही अवसरमा सामुहिक बनभोजसमेत गरिएको थियो ।

  • दमक–९ मा करेन्ट सर्टका कारण भीषण आगलागी, करिब १ करोड ३० लाखको क्षति

    दमक–९ मा करेन्ट सर्टका कारण भीषण आगलागी, करिब १ करोड ३० लाखको क्षति

    पुस २५, दमक / झापाको दमक नगरपालिका–९ मा करेन्ट सर्टका कारण भीषण आगलागी भएको छ। दमक–९ निवासी पदम भण्डारीले सञ्चालन गर्दै आएको टिनको छानो र पक्की वालयुक्त स्वस्तिक थुप्पा फ्याक्ट्रीमा अचानक करेन्ट सर्ट भई आगलागी हुँदा फ्याक्ट्री पूर्ण रूपमा जलेर नष्ट भएको हो।
    आगलागीले फ्याक्ट्रीसँगै जोडिएको भण्डारीकै तीनतले पक्की घरमा समेत आगो सल्किँदा घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएका छन्। घटनापछि दमक नगरपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, शिवसताक्षी नगरपालिका तथा कमल गाउँपालिकाबाट आएको दमकल, स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीको संयुक्त प्रयासमा आगो निभाउने कार्य गरिएको थियो।
    प्रहरीका अनुसार बिहान करिब ११:२५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियोे । आगलागीबाट कुनै पनि मानवीय वा चौपाया क्षति नभएको जनाइएको छ।आगलागीका कारण फ्याक्ट्रीका सम्पूर्ण उपकरण तथा कच्चा पदार्थ र घरभित्रका सबै सरसामान जलेर नष्ट हुँदा अन्दाजी १ करोड ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • बारम्बार बमको त्रास फैलाउने खगेन्द्र खरेल झापाबाट पक्राउ

    बारम्बार बमको त्रास फैलाउने खगेन्द्र खरेल झापाबाट पक्राउ

    पुस २५, झापा / झापामा ‘प्रेसर कुकर बम’ राखिएको भन्दै त्रास फैलाउने घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बम राखेर आतंक मच्चाएको आरोपमा सञ्जय भन्ने खगेन्द्र खरेललाई प्रहरीले पक्राउ गरेको हो।

    कनकाई नगरपालिका–४ स्थित कनकाई पुल नजिक विस्फोटक पदार्थ राखी सर्वसाधारणमा आतंक फैलाएको आरोपमा ५५ वर्षीय खरेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनी कनकाई नगरपालिका–८ का स्थायी बासिन्दा हुन्।

    झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार खरेल यसअघि पनि पटक–पटक यस्तै प्रकृतिका घटनामा संलग्न भई पक्राउ परेका र सजाय भोगिसकेका व्यक्ति हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।प्रहरीले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिँदै सर्वसाधारणलाई शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

  • खयरबारी युवा क्लबद्वारा मुक्तिघाट निर्माण अभियान, दुईतले मल्टीपर्पोज भवन निर्माण हुँदै

    खयरबारी युवा क्लबद्वारा मुक्तिघाट निर्माण अभियान, दुईतले मल्टीपर्पोज भवन निर्माण हुँदै

    पुष २३, दमक / खयरबारी युवा क्लबको पहलमा “खयरबारी युवा क्लबको पहिचान–मुक्तिघाट बनाउने हाम्रो अभियान” भन्ने उद्देश्यसहित मुक्तिघाट तथा बहुउद्देश्यीय भवन निर्माण कार्य सुरु गरिएको छ। २०८२ साल मङ्सिर ९ गते शिलान्यास गरिएको उक्त भवन निर्माणका लागि रत्नकुमारी खनालले जग्गादान गर्नुभएको हो। भवन निर्माणको अनुमानित लागत ३० लाख रुपैयाँ रहेको क्लबले जनाएको छ।

    क्लबका अनुसार लागत जुटाउन बडा दशैंमा चिठा कार्यक्रम, शुभ दीपावलीमा देउसी–भैलो, तथा तेस्रो चरणमा देश–विदेशमा रहनुभएका सहयोगीहरूलाई आह्वान गरी रकम सङ्कलन गरिएको हो। हालसम्म १० लाख रुपैयाँ सङ्कलन भइसकेको र सहयोग रकम आउने क्रम जारी रहेको अध्यक्ष राम शाही ठकुरीले जानकारी दिनुभयो। तत्कालका लागि दुईतले मल्टीपर्पोज भवन निर्माण गरिनेछ। भवनको माथिल्लो तलामा फलैचा तथा खाजा खाने व्यवस्था, र तल्लो तलामा ट्वाइलेट, बाथरूम तथा इस्टर रुम रहने योजना रहेको छ। निर्माण कार्य आउँदो वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

    क्लबले सहयोगी दाताहरूलाई प्रोत्साहनस्वरूप सम्मानको व्यवस्था पनि गरेको छ। रु. १ देखि ४,९९९ सम्म सहयोग गर्ने दातालाई उद्घाटन सत्रमा सम्मान, रु. ५,००० देखि ९,९९९ सम्म सहयोग गर्ने दातालाई कदरपत्रसहित सम्मान, रु. १०,००० वा सोभन्दा माथि सहयोग गर्ने दातालाई शिलालेखमा नाम उल्लेख गरी कदरपत्रसहित सम्मान गरिने जनाइएको छ।

    अध्यक्ष ठकुरीका अनुसार यस अभियानमा स्थानीय सरकारबाट हालसम्म कुनै आर्थिक सहयोग प्राप्त नभएको र समुदाय तथा शुभेच्छुकहरूको सहयोगमै निर्माण अघि बढाइएको छ। क्लबले मुक्तिघाट निर्माणलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण परियोजनाका रूपमा लिँदै सबै सहयोगी हातहरूलाई साथ दिन पुनः आह्वान गरेको छ।