Author: Multi Media

  • आज जनै पूर्णिमा अर्थात ऋषितर्पणी पर्व मनाइँदै

    आज जनै पूर्णिमा अर्थात ऋषितर्पणी पर्व मनाइँदै

    साउन २४ , दमक / हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी आज नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरी धुमधामसँग मनाइँदैछ ।

    तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हिन्दू धर्मशास्त्रअनुसार जनैलाई ब्रम्हासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रम्हा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । आज जनै तथा राखी बाध्नाले देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त भइने तथा जनैले मानिसमा बल, बुद्धि र तेज प्रदान गर्छ भन्ने विश्वास रहिआएको छ ।

    आजका दिन नाडीमा मन्त्रिएको डोरी बाँधेर रक्षाबन्धन पनि गरिन्छ । यस दिन विशेष गरी तागाधारीहरुबाट सप्तऋषि गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, बशिष्ठ, कश्यप र अत्रिलाई तर्पण दिने भएकाले यस पर्वलाई ‘ऋषि तर्पणी’ समेत भन्ने गरिन्छ ।
    तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाँधिदिने चलन छ । आजै विभिन्न नौ प्रकारका गुडागुडी मिसाएर पकाइएको क्वाँटी खाने गरिन्छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षातका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ । नेवारी समुदायले भने आजका दिन ‘गुन्हु पुन्ही’ मनाउने प्रचलन छ ।

    उपत्यकाका किसानहरुले आफ्ना खेतमा गएर भ्यागुता पूजा गरेर भात खुवाउने गर्दछन् । ऋषितर्पणीका अवसरमा काठमाडौँको पशुपतिनाथ, पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरको गंगासागर तथा धनुषसागर, जुम्लाको त्रिवेणीलगायतका स्थानमा भक्तजनहरूको घुइँचो लागेको छ ।

  • किसान महासंघ कोशी प्रदेशको अध्यक्षमा पुनः भट्टराई

    किसान महासंघ कोशी प्रदेशको अध्यक्षमा पुनः भट्टराई

    दमक , २३ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा पुनः राजेन्द्र भट्टराई निर्वाचित भएका छन् । दमक निवासी भट्टराई यसअघि महासघको तदर्थ समितिका अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

    महासंघको दमकमा आज सम्पन्न प्रथम प्रादेशिक अधिबेशनको निर्वाचन कार्यक्रमबाट भट्टराईको अध्यक्षतामा २४ सदस्यीय प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित समितिको उपाध्यक्षमा भिष्मबहादुर गुरुङ, महिला उपाध्यक्षमा सीता खत्री, सचिवमा टेकनाथ घिमिरे , सहसचिवमा मोहनकुमार विष्ट चयन हुनुभएको निर्वाचन समितिका संयोजक लेखनाथ सेढाईले जानकारी दिए ।

    महासंघको कार्यसमिति सदस्यहरुमा प्रजापतिदेवी विश्वास,हरिवहादुर केसी, बासुदेव गुरागाई,राधाकृष्ण बराल, गंगाप्रसाद चापागाई, भगीरथ शर्मा सुवेदी, दिपक पोख्रेल, मानेश्वर मेहता,भावना अर्याल, पदमबहादुर महत, टेकबहादुर बस्नेत, प्रेमकुमार आङदेम्बे निर्विरोध निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा किशोर न्यौपाने, रेनुकुमारी बरुवाल,सृजना भट्टराई,रमेशकुमार अधिकारी, तेजराज तिम्सीना, काजीमान सिंह भण्डारी, सजित राई र गोपाल प्रसाई चयन भएको संयोजक सेढाईले जनाएका छन् ।

    अधिबेशनको विहिबार कांग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गरेका थिए । दमकस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित अधिबेशनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट महासंघको प्रतिनिधित्व गरि सय बढी प्रतिनिधि,पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

  • ओली एण्ड एशोसिएटको दमकमा शाखा कार्यालय स्थापना, अन्तराष्ट्रिय उच्च शिक्षा अध्ययनका लागि परामर्श सेवा सुरू

    ओली एण्ड एशोसिएटको दमकमा शाखा कार्यालय स्थापना, अन्तराष्ट्रिय उच्च शिक्षा अध्ययनका लागि परामर्श सेवा सुरू

    साउन २३ , दमक / उच्च शिक्षा अध्ययनका लागि अन्तराष्ट्रिय मुलुकहरुतर्फ जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श उपलब्ध गराउने उदेश्यसहित ओली एण्ड एशोसिएटले दमकमा काार्यलय स्थापना गरेको छ ।
    आज (शुक्रबार) दमकस्थित होटल संगमस्वटीस्को दोस्रो तलामा ओली एण्ड एशोसिएटले नयाँ व्यवस्थापन र योजनासहित दमकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

    ओली एण्ड एशोसिएट दमक शाखाका सञ्चालक अशोक अधिकारीका अनुसार दमकमा उच्च शिक्षा अध्ययनका लागि अन्तराष्ट्रिय मुलुकहरुतर्फ जाने विद्यार्थीहरुलाई उचित परामर्श प्रदान गर्न नयाँ योजना र व्यवस्थापनसहित शाखा कार्यालय आजदेखि सञ्चालनमा ल्याइएको हो । होटल संगमस्वीटस्मा स्थापना गरिएको सो शाखा कार्यालयलाई औपचारिक उद्घाटन गरिएको छ ।

    शुक्रबार, बिहान एक कार्यक्रमबीच नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई र ओली एण्ड एशोसिएट दमक शाखाका सञ्चालक अधिकारीकी ममतामयी माता तुलासा अधिकारीले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
    सञ्चालक अधिकारीले ओली एण्ड एशोसिएट दमक शाखाबाट विश्वमै उत्कृष्ट ठहरिएका कलेजका प्रतिनिधिहरु, बैकिङ क्षेत्रका विज्ञ प्रतिनिधिहरुले विद्यार्थी तथा अभिभावकहरुलाई जानकारीमुलक प्रशिक्षण तथा परामर्श सेवा उपलब्ध गराउने बताउनुभयो ।

    ओली एण्ड एशोसियटले अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजिल्याण्ड जस्ता देशका कलजेहरुमा उच्च शिक्षा अध्ययनका लागि उचित परामर्श लगायतका सेवा प्रदान गर्दै आएको छ ।
    शाखा कार्यालय उद्घाटन समारोहमा होटल संगम स्वीट्सका सञ्चालका एबम् लायन्सकर्मी बिमल शर्मा, पत्रकार अनिलदेब राई, बिष्णुप्रसाद पोख्रेल लगायत विभिन्न विद्यालयका शिक्षकहरु र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

  • दमकमा पहिलो पाइला नेपाल र ब्राइटन कन्सल्टेन्सीद्वारा शैक्षिक सामग्री वितरण

    दमकमा पहिलो पाइला नेपाल र ब्राइटन कन्सल्टेन्सीद्वारा शैक्षिक सामग्री वितरण

    झापा, दमक — पहिलो पाइला नेपाल दमक शाखाको आयोजना र ब्राइटन कन्सल्टेन्सीको सहयोगमा बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

    गौरादह–९ बैगुन्धुरास्थित बलभद्र प्रा.वि.मा अध्ययनरत सबै विद्यार्थीलाई करिब २० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री र दिवा खाजा वितरण गरिएको हो। कार्यक्रममा २० दर्जन कापी, ५० वटा सिसाकलम, ५० वटा पेन्सिल तथा खाजा वितरण गरिएको विद्यालयले जनाएको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गौरादह–९ का वडा सदस्य केदार धिताल प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा दमक शाखा अध्यक्ष राजु निरौला, ब्राइटन कन्सल्टेन्सीका सञ्चालक युवराज निरौला, प्रधानाध्यापक चेतमणि न्यौपाने, संस्थाका सल्लाहकार छवि घिमिरे, केन्द्रीय सदस्य मेघनाथ फुयाल, लबराज खड्का, दिवस खतिवडा लगायतको उपस्थिति थियो।

    कार्यक्रममा बोल्दै प्रधानाध्यापक न्यौपानेले पहिलो पाइला नेपालको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो। ब्राइटन कन्सल्टेन्सीका सञ्चालक युवराज निरौलाले सामाजिक कार्यमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो। दमक शाखा अध्यक्ष राजु निरौलाले संस्थाले शिक्षा, स्वास्थ्य, सरसफाइ, विद्यार्थी कपाल काट्ने अभियानलगायतका गतिविधि गर्दै आएको जानकारी दिनुभयो।

    कार्यक्रम विद्यालयका शिक्षक गोबिन्द धितालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयले ब्राइटन कन्सल्टेन्सीका सञ्चालक युवराज निरौला र पहिलो पाइला नेपाल दमक शाखालाई सम्मानपत्र प्रदान गरेको थियो।

  • गाैरादहमा आँखाको सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    गाैरादहमा आँखाको सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    गाैरादह, साउन २३ – पहिलो पाईला नेपाल गाैरादह शाखाको आयोजनामा आँखाको सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। गाैरादह शाखा सदस्य पोसांगा बास्तोलाको संयोजकत्वमा तथा शाखा अध्यक्ष भुपेन्द्र निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष एवं नगर प्रवक्ता नगेन्द्र भण्डारी प्रमुख अतिथि रहनुभएको थियो।

    कार्यक्रममा केन्द्रीय सह-कोषाध्यक्ष दिवस खतिवडा, दमक शाखा सचिव सञ्जु निरौला, विद्यालयकी सहायक प्रधानाध्यापक थानेश्वरी ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान कार्की, गाैरादह आँखा अस्पतालका सञ्चालक ध्रुव गिरी लगायतको उपस्थिति रहेको थियो।

    स्वागत मन्तव्य शाखा सह-सचिव लिला खत्रीले राख्नुभएको उक्त कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै आँखाको स्वास्थ्यमा ध्यान दिनु र समयमै उपचार गराउनु पर्नेमा जोड दिनुभयो। विद्यार्थी तर्फबाट कक्षा १२ का गुडलक दाहालले कार्यक्रमप्रति प्रतिक्रिया व्यक्त गरेका थिए।

    सचेतनामूलक प्रस्तुतिमा केसीका थापा र यशोदा अधिकारीले आँखाको रोग, कारण र बच्ने उपायबारे प्रष्ट पार्नुभयो। कार्यक्रममा शाखा अध्यक्ष भुपेन्द्र निरौला, द्वितीय उपाध्यक्ष बाबुराम अधिकारी, सचिव प्रदिप धमला, सह-सचिव लिला खत्री, सदस्य भुवन कटुवाल, गंगा ताजपुरिया र पोसांगा बास्तोलाको उपस्थिति रहेको थियो।

    कार्यक्रमको प्राविधिक सहयोग गाैरादह आँखा अस्पतालले गरेको थियो भने स्थान उपलब्ध गराउने विद्यालय परिवारप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रदिप धमलाले गर्नुभएको थियो।

  • तोपगाछी स्वास्थ्य चौकीदेखि कमल नगर अस्पतालसम्म: अध्यक्ष हुकुम सिंह राईको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा क्रान्ति

    तोपगाछी स्वास्थ्य चौकीदेखि कमल नगर अस्पतालसम्म: अध्यक्ष हुकुम सिंह राईको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा क्रान्ति

    साउन २३ झापा, कमल — २०७९ सालको स्थानीय निर्वाचनपछि कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले लिएको पहिलो निर्णयले गाउँको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक परिवर्तनको बाटो खोल्यो। तोपगाछी स्वास्थ्य चौकीलाई बिमा सेवा सहितको अस्पतालमा रूपान्तरण गर्ने घोषणा मात्र होइन, यसले ग्रामीण पूर्वी झापामा नयाँ आशा र विश्वासको बीउ रोप्यो। आज त्यो सपना “कमल नगर अस्पताल” को रूपमा मूर्त रुप लिएको छ। यो अस्पताल अब केवल कमल गाउँपालिकाको होइन, सम्पूर्ण ग्रामीण क्षेत्रको गौरव बनिसकेको छ।

    अस्पतालले ग्रामीण क्षेत्रमा दुर्लभ मानिने मानसिक रोग विशेषज्ञ सेवा सुरु गरेको छ, जसअन्तर्गत हरेक महिनाको तेस्रो बुधबार डा. नवराज कोइरालाको नेतृत्वमा टोलीले सेवा दिन्छ। डिप्रेशन, तनाव, चिन्ता र दुर्व्यसन जस्ता समस्याका उपचारका लागि अब शहर धाउनुपर्ने बाध्यता हटेको छ। वडा नं. २ का अध्यक्ष अशोक सुब्बाले भने, “गाउँपालिकाको इच्छाशक्ति, जनप्रतिनिधिको सक्रियता र नागरिकको सहभागिताले सम्भव भएको हो – विशेषज्ञ सेवा अब गाउँमै पाइन्छ।”

    कमल नगर अस्पतालमा गर्भवती महिलाहरूका लागि प्रत्येक महिनामा एक दिन निःशुल्क भिडियो एक्स–रे (ग्रामीण अल्ट्रासाउन्ड) सेवा दिइन्छ। यसले गर्भकालीन जटिलता समयमै पत्ता लगाएर सुरक्षित मातृत्व सुनिश्चित गर्न ठूलो भूमिका खेलेको छ। अध्यक्ष हुकुम सिंह राई भन्छन्, “गाउँमै विशेषज्ञ डाक्टर, उपकरणयुक्त सेवा र जनस्वास्थ्य विस्तार गरेर, कमललाई स्वास्थ्य आत्मनिर्भर गाउँपालिका बनाउने मेरो सपना हो।”

    धेरै पालिकामा अस्पताल भवनसम्म सीमित रहने अवस्थामा, कमल नगर अस्पताल निरन्तर सेवामा सुधार गर्दै आएको छ—विशेषज्ञ उपचार, नियमित खोप, मानसिक स्वास्थ्य, र अल्ट्रासाउन्ड सेवा जस्ता कार्यक्रमहरूले यसलाई जनमुखी र प्रभावकारी बनाएको छ। यो परिवर्तन नेतृत्वको दृढता, जनप्रतिनिधिको सक्रियता र नागरिकको विश्वासको परिणाम हो । तोपगाछी स्वास्थ्य चौकी आज आत्मनिर्भर अस्पतालमा रूपान्तरण भएको छ, र यो यात्रा अझ टाढा पुग्ने संकेत देखिएको छ।

  • देशको साझा मुद्धामा दलहरु एक हुुनको विकल्प छैन : कांग्रेस नेता सिटौला

    देशको साझा मुद्धामा दलहरु एक हुुनको विकल्प छैन : कांग्रेस नेता सिटौला

    साउन २२ , दमक । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले देश र जनताका साझा मुद्धामा नेपालका राजनीतिक दलहरुको भूमिका प्रंशसनीय भएको औल्याएका छन् ।

    देश र जनताका मुद्धामा नेपालका सबै राजनीतिक दलहरु सधै एकै ठाउँमा उभिएको भन्दै उनले यस्तो राजनीति संस्कारलाई दलहरुले आत्मसात गरि अघि बढ्नुको विकल्प नभएको स्पष्ट पारेका छन् ।

    कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेश समितिको विहिबार दमकमा आयोजित प्रथम प्रादेशिक अधिबेशनको उद्घाटन गर्दै नेता सिटौलाले देश र जनताको परिवर्तनका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै शुसासन र समृद्धितर्फ देशलाई लैजान ठुला दलहरुवीच सहकार्य भएको र यो आवश्यकता पनि भएको जोड दिए । उनले भने, –‘देश जोगाउन सत्तारुढ दलहरुवीच सहकार्य बनेको र यसमा दुवै पार्टी भित्र कुनै शंका र उपशंका छैन् । आसन्न निर्वाचनसम्म यो सहकार्य रहने छ । ’

    देशको मुख्य आधार स्रोत कृषि क्षेत्र भएपनि लक्ष्य अनुसार कृषि क्षेत्रले प्रतिफल दिन नसकेको उल्लेख गर्दे उनले हाम्रो कृषि कर्मलाई निर्वाहमुखी मात्र नभई व्यवसायिकसंगै उद्योगका रुपमा विकास गरिनु पर्ने उल्लेख गरे ।

    खेतीपातीगर्ने किसान घाटामा जान नहुने भन्दै उनले किसान घाटामा जान लागे उनीहरुलाई नाफामा पु¥याँउने दायित्व सरकारको भएको धारणा राखे । नेपालको वर्तमान संबिधानले पनि कृषक घाटामा जान नहुने कुराको सुनिश्चितता गरे पनि त्यहाँ पुग्नका लागी सबै दलहरुवीच सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।

    नेपाल किसान महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि कांग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले अहिले निर्वाहमुखी खेती भईरहेको भन्दै यसलाई ब्यवसायीमुखी बनाउने दायित्व सरकारको भएको विचार राखे । हाम्रो देश कृषि प्रधान देश भनिए पनि त्यस अनुसारको नीतिनिर्माण नहुदाँ कृषि पेशा हेलाको पेशा बनिरहेको उनको भनाई थियो ।

    कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईले कृषकका मुद्धा उठाउने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताउदै कृषि र किसानका विषयमा पार्टी विमुख हुदै गएको गुनासो गरिन् । पार्टीका पूर्व केन्द्रीय सदस्य तथा संबिधानसभा सदस्य शुधिर कुमार शिवाकोटीले कृषि प्रधान मुलुक भनिए पनि बिदेशबाट खाद्यान्न ल्याउनु पर्ने बाध्यता रहेको भन्दै त्यसलाई अन्त्य गर्नु पर्ने बताए ।
    कांग्रेस दमक पार्टी कार्यालयमा भएको किसान महासंघको अधिबेशन उद्घाटनमा कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो, झापा जिल्ला सभापति देउकुमार थेवे, सुनसरी जिल्ला सभापति केदार भण्डारी, कांग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नेपाल किसान महासंघ केन्द्रीय सदस्य सिताराम भट्टराई, महासंघ भोजपुर अध्यक्ष ईन्दिरा प्रधान, ताप्लेजुङ्ग अध्यक्ष भिमबहादुर गुरुङ लगायतले समेत मन्तव्य राख्नु भएको थियो । अधिबेशनले महासंघको नयाँँ नेतृत्व चयन गर्ने जनाईएको छ ।