Author: Multi Media

  • बिराटनगरमा विश्व स्तनपान सप्ताह भव्यताका साथ सम्पन्न

    बिराटनगरमा विश्व स्तनपान सप्ताह भव्यताका साथ सम्पन्न

    बिराटनगर, साउन २२ / बिराटनगर नर्सिङ क्याम्पस र पेडियाट्रिक नर्सिङ एशोसिएसन नेपाल (PNAN) को संयुक्त आयोजनामा ३३औँ विश्व स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष अगस्त १ देखि ७ तारिखसम्म विश्वव्यापी रूपमा मनाइने स्तनपान सप्ताह यस वर्ष पनि विविध कार्यक्रममार्फत मनाइएको हो। बिराटनगरको कोशी अस्पतालका विभिन्न विभागहरूमा जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिक्षा, सफल तथा पूर्ण स्तनपानबारे जानकारीमूलक प्रदर्शनी जस्ता गतिविधि संचालन गरिएको थियो।

    कार्यक्रममा बिराटनगर नर्सिङ क्याम्पसका BNS प्रथम वर्षका विद्यार्थीहरूले स्तनपान सम्बन्धी स्वास्थ्य शिक्षा प्रदान गरेका थिए भने स्वास्थप्रद स्तनपान अभ्यासबारे प्रदर्शनी पनि गरिएको थियो। कार्यक्रममा नर्सिङ क्याम्पसका शिक्षक, नर्सिङ संघ, मिडवाइफ्री संघ, अस्पतालका नर्सिङ प्रशासक, वार्ड इन्चार्ज र स्टाफहरूको सक्रिय सहभागिता रहेको थियो।

    सभापति समेत रहेकि बिराटनगर नर्सिङ क्याम्पसकि क्याम्पस प्रमुख भण्डारीले स्तनपानलाई प्रोत्साहित गर्न स्वास्थ्यकर्मीहरुकाे पनि अहम् भुमिका रहेकाे बताउदै स्तनपान सप्ताहलाई सप्ताह मा मात्र सिमित नराख्न र वर्ष भरि स्तानपानलाई प्रोत्साहित गर्न सुझाव दिनुभयाे ।

    कार्यक्रमको शुभकामना मन्तव्य मिडवाइफ्री विभाग प्रमुख सावित्रा सुवेदीले राख्दै स्तनपान गराउने जिम्मेवारी केवल आमाको नभई पूरै परिवारको रहेको बताइन्। यस्तै, चाइल्ड हेल्थ नर्सिङ विभागका तर्फबाट मुनावत्ती राईले बोतलको सट्टा स्तनपानलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइन्।

    कार्यक्रमको सभापतित्व बिराटनगर नर्सिङ क्याम्पसकी क्याम्पस प्रमुख मेनुका भण्डारीले गरेकी थिइन्।कार्यक्रम संचालन BNS प्रथम वर्षकी छात्रा सोनी भण्डारी र जनिस चम्लागाईंले गरेका थिए। कार्यक्रमको समापन समारोह बिराटनगर नर्सिङ क्याम्पसको सभाहलमा सम्पन्न गरिएको थियो जहाँ छात्रा झर्का श्रेष्ठले स्तनपानसम्बन्धी कविता प्रस्तुत गरेकी थिइन्।यस स्तनपान सप्ताहले आमाहरूलाई स्तनपानको महत्त्व बुझाउन र सफल स्तनपानलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजक संस्थाहरूले बताएका छन्।

  • दमकमा नेवार समुदायको सांस्कृतिक सम्पदा लाखे नाँच सुरु, कृष्ण जन्माष्टमीसम्म चल्ने

    दमकमा नेवार समुदायको सांस्कृतिक सम्पदा लाखे नाँच सुरु, कृष्ण जन्माष्टमीसम्म चल्ने

    दमक, साउन २२ – दमकमा नेवार समुदायले परम्परागत सांस्कृतिक सम्पदा संरक्षण गर्ने क्रममा प्रसिद्ध लाखे नाँच देखाउन सुरु गरेको छ। नेवार समुदायका विभिन्न संघसंस्थाहरूको पहलमा दमकको सहर बजार क्षेत्रमा लाखे नाँच प्रस्तुत गरिँदैछ, जसले स्थानीयलाई मनोरञ्जन दिनुका साथै सांस्कृतिक चेतना पनि फैलाइरहेको छ।

    देय देवु समाज दमकको आयोजनामा बिहीबारदेखि सुरु भएको लाखे नाँच आगामी कृष्ण जन्माष्टमीसम्म चल्ने बताइएको छ। प्रत्येक वर्ष चाडपर्व र विशेष अवसरहरूमा प्रस्तुत गरिने लाखे नाँच यसपटक पनि दमकवासीको आकर्षणको केन्द्र बनेको छ।
    सिथी नखःमा बन्द भएको नेवार समुदायको सांस्कृतिक नाँचगानको सिलसिला गथां मुगः पर्वसँगै फेरि सुरु हुन्छ। यस क्रममा घण्टाकर्ण राक्षसको बध गरिँदै सांस्कृतिक कार्यक्रमको ढोका खोलिन्छ। लाखे नाँच पनि देवी–देवता र भूत–प्रेतसम्बन्धी कथासँग जोडिएको नृत्य हो, जुन परम्परागत रूपमा नाग पञ्चमीदेखि इन्द्रजात्रासम्म विभिन्न समयमा नचाइन्छ।

    लाखे नाँचको उत्पत्तिबारे विभिन्न तर्कहरू पाइन्छन्। केहीले राजा हरिसिंह देवले सिम्रौनगढबाट तलेजु भवानीलाई काठमाडौं उपत्यकामा ल्याउँदा साथमा लाखेलाई पनि ल्याएको बताएका छन् भने, अन्यले नुवाकोटबाट आएका ठकुरी राजासँग लाखे भित्रिएको तर्क पनि राख्छन्।

    नेपाल भाषा वंशावलीअनुसार लाखे नाँचको सुरुवात राजा गुणकामदेवको पालादेखि भएको उल्लेख पाइन्छ। तर, यस नाँचले व्यापक र लोकप्रिय स्वरूप भने राजा प्रताप मल्लको पालादेखि पाएको देखिन्छ, जहाँ लाखेले मुकुट लगाएर नृत्य गर्ने परम्परा सुरु भएको हो।

    धाः र भुस्याः बाजा प्रमुख वाद्ययन्त्रका रूपमा प्रयोग गरिने यस नाँचमा खिं, पछिमा, नायिखं, धिमे लगायतका बाजाहरूको धुनमा नृत्य गरिन्छ। कतिपय स्थानमा मादल र बाँसुरीको प्रयोगसमेत गरिन्छ। सांस्कृतिक जगेर्ना र समुदायको पहिचान झल्काउने लाखे नाँचले दमकको सांस्कृतिक वातावरणमा नयाँ रंग भरिरहेको छ।

  • एलाइड अंग्रेजी विद्यालयमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न, ४०० जनाले सेवा लिए

    एलाइड अंग्रेजी विद्यालयमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न, ४०० जनाले सेवा लिए

    साउन २२ झापा, दमक / झापाको दमक नगरपालिका–८ स्थित एलाइड अंग्रेजी विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य जाँच तथा दन्त शिविर सम्पन्न भएको छ। एलाइड अंग्रेजी विद्यालयको आयोजनामा तथा एन्जल फाउन्डेसन उर्लाबारी, मोरङ र ओम शान्ति डेन्टल हस्पिटल दमक–५ को प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो।

    शिविरमा फिसर, फिस्टुला, पाइल्स, गुप्तरोग लगायतका रोगहरूको विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो। विद्यालयका संस्थापक अध्यक्ष मित्र खत्रीका अनुसार विगतका वर्षहरूमा विद्यार्थीहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिँदै आएकोमा यस वर्ष भने अभिभावकहरूलाई समेत समेटेर फरक ढंगले कार्यक्रम आयोजना गरिएको हो। उहाँले स्वास्थ्य सचेतना वृद्धिका लागि यस्ता शिविरहरू प्रभावकारी रहेको धारणा व्यक्त गर्नुभयो।

    ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेले शिविरमा भाग लिने विद्यार्थी तथा अभिभावकहरूलाई निःशुल्क एक्स–रे, डाक्टर परामर्श तथा औषधोपचारमा २० प्रतिशतसम्म छुट दिइएको जानकारी दिनुभयो। उहाँले ओपिडी कार्ड लिएर हस्पिटलमा गएमा डाक्टर परामर्श शुल्क नलाग्ने र दाँतसम्बन्धी सम्पूर्ण उपचार सेवा दमकमै उपलब्ध गराइएको बताए।

    शिविरमा सेवा लिएका एलाइडकी छात्रा जस्मिन धिमालले विद्यालयमै यस्ता कार्यक्रम हुँदा सानातिना स्वास्थ्य समस्या बेलैमा थाहा पाइ उपचार गर्न सजिलो भएको बताइन्। शिविरमा डेन्टल विशेषज्ञ डा. अञ्जली ठाकुर, एन्जल फाउन्डेसनबाट वरिष्ठ सर्जन डा. बिनिता थापा, मेडिकल अफिसर डा. विनम प्रधान र डा. बसन्त अधिकारीले सेवा दिएका थिए। एक दिनको उक्त शिविरबाट कुल ४००जनाले सेवा लिएका छन्।

  • कमल गाउँपालिकाबाट प्रतिबन्धित औषधिसहित २ जना पक्राउ, दमकमा हालसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद

    कमल गाउँपालिकाबाट प्रतिबन्धित औषधिसहित २ जना पक्राउ, दमकमा हालसम्मकै ठूलो परिमाणमा लागुऔषध बरामद

    साउन २२ , दमक / झापाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधजन्य औषधिसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कमल -६ काटाचौकका बिष्णुप्रसाद बगाले थापा र गंगाबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    कमल-७ गेउरियामा फार्मेसी सञ्चालन गरिआएका बगालेको काटाचौकस्थित घरबाट ७ हजार १ सय ६० थान प्रतिबन्धित औषधिसहित बुधबार राति ९ वजेतिर पक्राउ गरेको हो । बगालेको घरमा लुकाई छिपाई राखेको ट्रामाडोल ३ हजार थानसहित अन्य विभिन्न प्रतिबन्धित औषधि ७ हजार १ सय ६० थान प्रतिवन्धित औषधी वरामद गरिएको प्रहरीले जनाएको छ । बगालेको घरमा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त घर तलासी लिने क्रममो ती अवैध औषधीहरु वरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सीनाले जानकारी दिए ।

    उनका अनुसार बगालेले खुद्रा मूल्यमा ती औषधीहरु विक्री गर्देआएको खुलेको छ । स्वास्थ्यकर्मी समेत रहेका बगालेले ती औषधीहरु दमकको थानारोडमा रहेको दमक मेडिकल डिस्ट्रिब्युटरबाट खरिद गरेको प्रारम्भिक वयान दिएपछि अनुसन्धानका लागि सो डिस्ट्रिब्युटरका संचालक ४० वर्षीय खड्कालाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रनाउ तिम्सिनाले बताए । दमकमा प्रतिवन्धित लागूऔषधजन्य औषधी यतिका परिणाममा बरादम गरिएको पहिलो भएको प्रहरीले जनाएको छ ।

  • दमकमा लागूऔषध न्यूनीकरणमा डीएसपी तिमल्सिनाको कडाई: माघयता ५३ जना पक्राउ, ठूला परिमाणमा लागूऔषध बरामद

    दमकमा लागूऔषध न्यूनीकरणमा डीएसपी तिमल्सिनाको कडाई: माघयता ५३ जना पक्राउ, ठूला परिमाणमा लागूऔषध बरामद

    साउन २१ , दमक / लागूऔषधको अखडा नै बन्न लागिसकेको झापाको दमकमा प्रहरीले कडाई गरेपछि त्यसको न्यूनीकरण हुँदै गएको छ । इलाका प्रहरी कार्यालय दमकको कमाण्ड सम्हालेका डीएसपी रामप्रसाद तिमल्सिनाले लागूऔषधलाई पहिलो प्राथमिकता राखेर अभियान संचालन गरेपछि यो समस्या घटेको हो । डीएसपी तिमल्सिनाले कमाण्ड सम्हालेयता गत माघ १ गतेदेखि हालसम्म लागूऔषधसम्बन्धी ३४ वटा मुद्धा दर्ता भएको छ भने ५३ जनालाई पक्राउ गरी कानुनी कार्वाही गरिएको छ ।

    त्यस्तै ठूलो मात्रामा लागूऔषध बरामद गर्न प्रहरी सफल भएको छ । माघ १ देखि हालसम्म ब्राउनसुगर प्लाष्टिकबाहेक ६१ ग्राम ७०० मिलिग्राम , ट्रामाडोल ९१ हजार ६६५ ट्याब्लेट , स्पास्पेन ३० हजार १६६ चक्की , स्पास्म १ हजार ६०९ चक्की , गाँजा १ केजी ४०० ग्राम बरामद भएको थियो । डीएसपी तिमल्सिनाले लागूऔषध न्यूनीकरण गर्नकै लागि गत जेठ २४ गते स्वीप अपरेशन गरी एकैरात ५० जनालाई पक्राउ गरेका थिए ।

    आज पत्रकार भेटघाट गरी उनले आफ्नो कार्यकालमा भएका कार्यप्रगतिको विवरण सार्वजनिक गरेका छन् । आफू दमक आएपछि शान्ति सुरक्षा ब्यवस्थापन ,अपराध न्यूनीकरण र अपराध अनुसन्धानमा महत्वपूर्ण कार्य भएको उनले बताए । माघ १ देखि हालसम्म सवारी ज्यानसम्बन्धी ९ वटा मुद्धा दर्ता भएकोमा ९ जना नै पक्राउ परेका छन् । त्यस्तै कर्तव्य ज्यानसम्बन्धी ३ वटा मुद्धा दर्ता भएकोमा तीनैजना पक्राउ परेका छन् । त्यस्तै आर्थिक अपराधसम्बन्धी ३६ वटा मुद्धा दर्ता भएकोमा ११ जना पक्राउ परेका छन् भने २५ जना फरार रहेका छन् ।

    पाँच वर्षअघि प्रहरी निरीक्षक रहँदा तिमल्सिनाले इलाका प्रहरी कार्यालय उर्लावारीको इन्चार्ज सम्हालेका थिए । उत्कृष्ट कार्यसम्पादन गरेवापत् उनी त्यसबेला जिल्ला प्रहरी कार्यालय मोरङबाट उत्कृष्ट प्रहरी निरीक्षकको रुपमा पुरस्कृत भएका थिए ।

  • नेकपा (एकीकृत समाजवादी) झापाद्वारा टिकटक प्रतियोगिता घोषणा, विजेतालाई भदौ ९ गते पुरस्कार वितरण

    नेकपा (एकीकृत समाजवादी) झापाद्वारा टिकटक प्रतियोगिता घोषणा, विजेतालाई भदौ ९ गते पुरस्कार वितरण

    बिर्तामोड, २१ साउन / नेकपा (एकीकत समाजवादी) झापााले टिकटक प्रतियोगिताु आयोजना गर्ने भएको छ । भाद्र ९ गते एकीकृत समाजवादी पार्टीको स्थापना वर्षको अवसर पारेर झापामा टीकटक प्रतियोगिता गर्ने भएको हो ।

    आज (बुधबार) बिर्तामोडस्थित पार्टीको जिल्ला कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । सुसासन र रोजगारी, समाजवादको तयारीु बिषयमा टीकटक भिडियो निर्माण हुनुपर्ने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

    नेपाली भाषामा निर्माण भएको टिकटक भिडियो सामाग्री तीन मिनेटसम्मको रहनुपर्ने छ । टिकटक प्रतियोगितमा सहभागि हुनका लागि उमेर समूह र भुगोललाई आभार बनाइएको छैन, अध्यक्ष बीपि भट्टराईले भने ।

    अध्यक्ष भट्टराईका अनुसार प्रतियोगिताम सहभागिहरुले एकैपटक टिकटकमा पोष्ट नगरी पार्टी जिल्ला कमिटीको आधिकारिक आईडीबाट प्रकाशित गर्नुअघि भिडियो सामाग्रीलाई अध्ययन गरिने छ । भिडियो सामाग्रीलाई मोबाइल नम्बर (वाट्सएप नम्बर-९७०७९०५७०९) मा पठाउन हुन समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    सो भिडियो सामाग्री निर्णायक मण्डलमा एकीकृत समाजवादी कोशी प्रदेश सदस्य एबम् समाजवादी प्रेष संगठनका उपाध्यक्ष तीर्थ सिग्देल, एकीकृत समाजवादी झापाका प्रचार विभाग प्रमुख अनिलदेब राई र समाजवादी प्रेष संगठन झापाका अध्यक्ष गोविन ल्वागुन रहेका छन् ।

    साउन २५ देखि भदौ १ गतेसम्म आएका भिडियो सामाग्रीहरु प्रतियोगितामा समावेश गरिनेछ । भदौ ८ गतेसम्म प्राप्त भएका लाईक, भ्युज र शेयरलाई ५० अङक प्रदान गर्ने छ । बाँकी ५० अङक निर्णायक मण्डलले प्रदान गर्ने अध्यक्ष भट्टराईले जानकारी गराए ।

    प्रतियोगितामा पहिलो हुनले १० हजार, दोस्रोले ५ हजार र तेस्रो हुनेले तीन हजारसहित प्रमाणपत्र पाउने छन् । प्रतियोगिताका बितेताहरुलाई एकीकृत समाजवादी पार्टीको स्थापना दिवस भदौ ९ गते एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने छ ।

    पत्रकार सम्मेलनमा एकीकृत समाजवादी कोशी प्रदेश सचिवालय सदस्य एबम् नेपाल खेलकुद महासंघ समाजवादीका वरिष्ठ उपाध्यक्ष शंकर थापा, एकीकृत समाजवादी झापाका निवर्तमान अध्यक्ष एबम् झापाका पुराना बामपन्थी नेता बेदराज रेग्मी, नेता बासु दुलाल, नेता तीर्थ सिग्देल, उपाध्यक्ष नबीन इजम, सरस्वती सुब्बा, सचिव सानकुमार लामा, उपसचिव श्री मिश्र लगायतको उपस्थिति थियो ।

  • दमकमा सम्भव एजुकेसन कन्सल्टेन्सीको शाखा सञ्चालनमा

    दमकमा सम्भव एजुकेसन कन्सल्टेन्सीको शाखा सञ्चालनमा

    साउन २१ , दमक । झापाको दमक नगरपालिकामा सम्भव एजुकेसन कन्सल्टेन्सीको नयाँ शाखा सञ्चालनमा आएको छ। दमक नगरपालिकाका मेयर रामकुमार थापाको प्रमुख आतिथ्यतामा रिबन काटेर कन्सल्टेन्सीको उद्घाटन गरिएको हो।

    काठमाडौँको पुतलीसडक, बागबजारमा मुख्य कार्यालय रहेको सम्भव एजुकेसन कन्सल्टेन्सीले दमकको डिम्याक्स सिनेमा हलको चौथो तलाबाट सेवा सञ्चालन गरेको छ। एसी सहितको सुविधा सम्पन्न कक्षा कोठामा विद्यार्थीहरुलाई अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, फ्रान्स, डेनमार्क लगायतका देशहरूमा अध्ययनका लागि परामर्श दिने सम्भव कन्सल्टेन्सीका टिम म्यानेजर पर्वत बस्नेतले जानकारी दिनुभयो।

    राजेश थापा, नवीन ढकाल, प्रेम खड्का लगायतको साझेदारीमा दमक शाखा विस्तार गरिएको कन्सल्टेन्सीको उद्घाटन कार्यक्रममा काठमाडौँबाट फाउन्डर अमृत बुढाथोकी विशेष उपस्थितिमा रहनुभएको थियो। उक्त कार्यक्रममा रिता बस्नेत श्रेष्ठ, भगवान बस्नेत लगायतको पनि उपस्थिति रहेको थियो।