Author: Multi Media

  • गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ५८ प्यालेस्टिनीको मृत्यु

    गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ५८ प्यालेस्टिनीको मृत्यु

    काठमाडाैं । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तिमा ५८ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । गाजामा नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताएअनुसार मध्य गाजा शहरको भीडभाड भएको बजारलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा एक डाक्टर र एक बालकसहित कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

    अल-शाती शरणार्थी शिविर र गाजा शहरको ताल अल-हवा, अल-जैटौन र अल-सब्राका छिमेकीहरूमा छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा एक केटीसहित ११ जनाको मृत्यु भएको छ । प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली ड्रोनहरूले मध्य गाजा पट्टीमा रहेको अल-नुसैरत शरणार्थी शिविरमा रहेको पानी वितरण बिन्दुमा आक्रमण गरेका छन् ।

    अल-अवदा अस्पतालले बम विस्फोटमा बालबालिका सहित १० जनाको मृत्यु र १६ जना घाइते भएको बताएको छ । अस्पतालले सोही शरणार्थी शिविरमा रहेको आवासीय घरलाई लक्षित गरी गरिएको छुट्टै इजरायली हवाई आक्रमणबाट थप १० जनाको मृत्यु भएको रेकर्ड गरेको छ ।

    दक्षिणमा, खान युनिस शहरमा आठ जनाको मृत्यु भएको नासेर मेडिकल कम्प्लेक्सले जनाएको छ । रफाहको उत्तरमा रहेको शकौश क्षेत्रमा रहेको अमेरिकी समर्थित सहायता केन्द्र बाहिर इजरायली सेनाको गोली लागेर थप चार जनाको मृत्यु भएको उल्लेख गर्दै नासेर मेडिकल कम्प्लेक्सले जनाएको छ । आफ्नो तर्फबाट, इजरायल रक्षा बलले आईतवार गाजा पट्टीमा विगत एक दिनमा १५० भन्दा बढी आतंकवादी लक्ष्यहरूलाई प्रहार गरेको बताएको छ ।

  • साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकालाई  फराकिलो गोल अन्तरले हराए

    साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकालाई फराकिलो गोल अन्तरले हराए

    काठमाडौँ / बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा आफ्नो तेस्रो खेल खेलिरहेको नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ५-० को अग्रता बनाएको छ ।

    भारी वर्षाका कारण बसुन्धरा किङ्स एरेनाको अभ्यास मैदानमा ढिला गरी सुरु भएको खेलमा नेपालका लागि मिना देउवा र पूर्णिमा राईले २-२ तथा समिक्षा मगरले १ गोल गरेका छन् ।

    खेलको आठौं मिनेटमा मीनाले डिबक्सको बाहिरबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । १३औं मिनेटमा समिक्षाले नेपालको अग्रता दोब्बर पारिन् ।

    ४२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रतामा पुर्‍याइन् । इन्जुरी समयमा पूर्णिमा राईले दुई गोल गर्दै अग्रता अझ फराकिलो बनाइन् ।

    नेपालले यीबाहेक पनि अन्य धेरै अवसरहरू पाउँदा गोलमा परिणत भने गर्न सकेको छैन ।

    नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।

    श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो ।

    प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ ।

    चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

  • पेट्रोलकाे मुल्य  पाँच रूपैयाँले घट्यो

    पेट्रोलकाे मुल्य पाँच रूपैयाँले घट्यो

    दमक / पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो । बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।

  • गौरादह नगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

    गौरादह नगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

    गौरादह/ गौरादह नगरपालिकाको १६ औँ नगर अधिवेशन सम्पन्न भएको छ । नगरपमुख छत्रपती सुवेदीको अध्यक्षतामा मङ्गलबार बसेको अधिवेशनको पाचौं बैठकले विभिन्न विधेयक , प्रतिवेदन तथा प्रस्तावहरु पारित गरे संगै नगर अधिवेशन सम्पन्न भएको हो । असार ८ गते सुरु भएको नगर अधिवेशनमा आज ३१ गते सम्म विभिन्न पाँच वटा बैठक बसेको नगर प्रमुख छत्रपति सुवेदीले जानकारी दिनुभयो ।

    आज बसेको १६ औं नगर सभाको पाँचौ बैठकले चौथो बैठकमा नगरसभा सदस्य हेमनाथ थापाले प्रस्तुत गर्नुभएको गौरादह नगरपालिकामा करारमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा ब्यवस्था गर्न बनेको विधेयक २०८२ सर्वसम्मत रूपमा पारित गरेको छ ।

    बैठकले उपप्रमुख जल वर्षा राजवंशीले प्रस्तुत गर्नुभएको नगरपालिकाको न्यायीक समितिको आर्थिक बर्ष २०८१/०८२ को बार्सिक प्रतिवेदन ,अनुगमन समितिको प्रतिवेदन ,नगर सभा सदस्य गोपालप्रसाद कोइरालाले प्रस्तुत गर्नुभएको नगरपालिकाको बेरुजु र फर्च्योट सम्बन्धि प्रस्ताव त्यसैगरी नगरसभा सदस्य नगेन्द्र भण्डारीले प्रस्तुत गर्नुभएको विविध प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

    नगरसभाको पहिलो बैठक देखि पाचौं बैठक सम्म नगरसभा कुल ६ घण्टा ४० मिनेट बसेको विभिन्न ११ प्रस्तावहरु प्रस्तुत भएर दफाबार छलफल सहित पारित भएका छ्न ।

    नगरको १६औं अधिवेशन बाट नगरसभा संचालन कार्यविधि २०८२ ,गौरादह नगरपालिकाको नीति तथा कार्यक्रम ,नगरको आर्थिक बर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम ,आर्थिक विधेयक २०८२ विनियोजन विधेयक २०८२ लगायतका विधेयक र सार्वजनिक महत्वका प्रस्ताव सर्वसम्मतिले पारित गरेको नगरका प्रबक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो

  • दमकको सर्प डसाई उपचारमा विरामी घट्दै, सचेतनाको प्रभाव  देखियो

    दमकको सर्प डसाई उपचारमा विरामी घट्दै, सचेतनाको प्रभाव देखियो

    दमक / पछिल्ला वर्षहरूमा झापाको दमकस्थित सर्प डसाई उपचार केन्द्रमा उपचार गराउन आउने विरामीको संख्या घट्दो क्रममा देखिएको छ । नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाले २०५५ सालदेखि सञ्चालनमा ल्याएको सर्प डसाई उपचार केन्द्रमा अघिल्लो वर्षसम्म वार्षिक करिब १५ सय विरामी आउने गरेकोमा हाल त्यो संख्या घटेर करिब ८ सयको हाराहारीमा सीमित भएको छ ।

    चालु आर्थिक वर्षको असार मसान्तसम्म ८१३ जना सर्प डसाईका विरामीले केन्द्रबाट सेवा लिएका छन् । केन्द्रका प्राविधिक गंगाप्रसाद उप्रेतीका अनुसार सचेतना अभियान प्रभावकारी बन्दै गएको र सर्पको संख्या पनि घट्दै जानुले यस्तो गिरावट आएको हुनसक्ने अनुमान गरिएको छ ।

    उनी भन्छन्, “अघिल्लो दशकमा १५ सयजति विरामी वार्षिक उपचारका लागि आउँथे, अहिले भने मुश्किलले ८ सय पुग्छ । तीमध्ये करिब १० प्रतिशत मात्र विषालु सर्पको डसाई हुने गर्छ ।”
    दमकको यो केन्द्र झापा जिल्लाकै पुरानो र भरपर्दो सर्प डसाई उपचार केन्द्र मानिन्छ । यहाँ हाल ६ जना प्राविधिक स्वास्थ्यकर्मी कार्यरत छन् । केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीका अनुसार विशेषतः गर्मीयाम र वर्षायाममा सर्प डसाईका घटना बढी हुने गर्छन् । ती मौसममा दैनिक ७–८ जना विरामी उपचारका लागि केन्द्रमा पुग्ने गरेका छन् ।

    “गर्मी र पानी परेका बेला सर्प रातिको समयमा चरनका लागि निस्कने हुँदा त्यो बेला डस्ने सम्भावना बढी हुन्छ,” इन्चार्ज भण्डारीले भने । सर्पले डसेपछिको प्रारम्भिक घण्टा निकै संवेदनशील हुने भएकाले झारफूकमा समय नगुमाई तुरुन्त स्वास्थ्य संस्थामा ल्याउनु पर्ने उनको जोड छ ।

    सर्प डसाई उपचारका लागि केन्द्र पुगेकी झापा गौरीगञ्जकी चन्द्रा स्वर्णकारले पनि स्वास्थ्य संस्थामा समयमा पुग्दा ज्यान जोगिएको बताइन् । उनले भनिन्, “सर्पले डसेपछि झारफूक होइन, जतिसक्दो चाँडो अस्पताल पुग्नुपर्छ ।”

    दमकको सर्प डसाई उपचार केन्द्र झापाका विभिन्न पालिकासँगै पूर्वी मोरङ, इलाम, पाँचथर र भारतको सीमावर्ती क्षेत्रका नागरिकका लागि समेत सहज सेवा केन्द्र बनेको छ । रेडक्रस दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीका अनुसार सर्प डसाईका घटनाले विशेषतः तल्लो वर्गका श्रमिक समुदायलाई बढी असर पार्ने गरेको देखिन्छ ।

    सर्प डसाई उपचार केन्द्रमा हाल अत्यन्त न्यून शुल्क, रु २,२५० मा उपचार सेवा दिइँदै आएको छ । यसैबीच, गौरीगञ्ज गाउँपालिकाले गत वर्षदेखि सर्प डसाईबाट प्रभावित नागरिकलाई निशुल्क उपचार सुविधा प्रदान गर्दै आएको छ, जसबाट अघिल्लो वर्ष ३३ जनाले सेवा लिएको केन्द्रले जनाएको छ ।

    सर्प डसाईका घटनामा देखिएको कमीले सर्पबारे जनचेतना अभियानको प्रभावकारिता देखाएको छ भने, समयमै उपचारबाट अकाल मृत्यु न्यूनीकरण गर्न सकिने स्पष्ट सन्देश पनि दिएको छ ।

  • दमक–७ मा मुस्लिम विद्यार्थीहरूलाई स्टेशनरी र खेलकुद सामग्री वितरण

    दमक–७ मा मुस्लिम विद्यार्थीहरूलाई स्टेशनरी र खेलकुद सामग्री वितरण

    दमक / झापाको दमक नगरपालिका वडा नम्बर ७ मा मुस्लिम समुदायका विद्यार्थीहरूलाई लक्षित गरी स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको छ।

    दमक–७ स्थित राधा माधव टोलको मदरसा शहबाजिया स्कुलमा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरूलाई प्रभु बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामग्री हस्तान्तरण गरिएको हो।कार्यक्रम वडा नं. ७ को समन्वयमा सम्पन्न भएको हो।

    विद्यालयमा अध्ययनरत ६८ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा खेलकुदका सामान प्रदान गरिएको प्रभु बैंकका दमक शाखा प्रमुख रोशन संग्रौलाले जानकारी दिनुभयो।उहाँका अनुसार आर्थिक रूपमा कमजोर तथा शैक्षिक रूपमा पछाडि रहेका मुस्लिम समुदायका बालबालिकालाई सशक्त बनाउने उद्देश्यले करीब २० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो।

    कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ७ का वडा सचिव योगेश भट्टराई, वडा सदस्य अतित बान्तवा राई, दमक यातायात व्यवस्थापन शाखाका व्यवस्थापक भूवन दाहाल, प्रभु बैंकका कर्मचारी कमल भट्टराई, अमृत बिष्ट लगायतको उपस्थिति रहेको थियो।

    स्थानीय समुदायले यस्ता सहयोगले विद्यार्थीहरूलाई हौसला मिल्ने र उनीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।

  • दमक नगरपालिका वडा नम्बर ७: समृद्धिको दिशामा अगाडि बढ्दो नमुना वडा

    दमक नगरपालिका वडा नम्बर ७: समृद्धिको दिशामा अगाडि बढ्दो नमुना वडा

    दमक-सुजन गाैतम/ झापाको दमक नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर ७, एक प्रगतिशील र व्यवस्थित वडाको रुपमा चिनिँदै गएको छ। कुल १.२३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस वडामा १८०१ घरधुरीका ७३८७ जनसंख्या (जनगणना २०७८ अनुसार) बसोबास गर्छन्।

    महेन्द्र राजमार्गदेखि उत्तर, रतुवा खोलासम्म पश्चिम, नेपाल टेलिकम क्षेत्रसम्म दक्षिण र बसपार्क–नगरपालिका रोडबाट पूर्वसम्म फैलिएको यो वडा स्थानीय शासन प्रणाली अन्तर्गत २०७३ साल फागुन २७ गतेदेखि सक्रिय रहेको हो। हाल वडाको नेतृत्व भीमप्रसाद पौडेलको अध्यक्षतामा रहेको छ।

    वडामा इन्दु खड्का (पौडेल), अतित वान्तवा राई, तारा रणपलहेली र मानबहादुर खवास सदस्यका रूपमा सक्रिय छन्। सचिव योगेश भट्टराई, सोसल मोबिलाइजर सरिता राई, तथा कार्यालय सहयोगी र सरसफाइ कर्मीहरूको सक्रियताले सेवा प्रवाह प्रभावकारी बनेको छ।

    यस वडाको एक प्रमुख आर्थिक इन्जिनको रूपमा रहेको पशु हाटबजार हरेक बुधबार सञ्चालन हुँदै आएको छ। रतुवा खोलानजिकको उत्तरी हाटखोला क्षेत्रमा मौलिक स्वादका परिकारहरूले वडाको पहिचान झल्काएका छन्।

    शिक्षा क्षेत्रमा वडाले प्राथमिकता दिँदै आएको छ। यहाँ चारवटा प्रमुख शैक्षिक संस्था—श्री पृथ्वी मावि, सिद्धार्थ इंग्लिस बोर्डिङ, ईस्टर्न स्टार बोर्डिङ र हलेसी लिटल एञ्जल्स स्कुल सञ्चालनमा छन्। हजारौं विद्यार्थीले शिक्षाको पहुँच पाएका छन्।

    स्वास्थ्य सेवामा पनि दमक–७ अग्रपंक्तिमा रहेको छ। किओच दमक बाल अस्पताल बालस्वास्थ्यमा उत्कृष्ट सेवा दिँदै आएको छ भने ओम मेची अस्पताल महिलासम्बन्धी गुणस्तरीय स्वास्थ्यसेवामा समर्पित छ। रेडक्रस सोसाइटीको ब्लड बैंक तथा सर्पदंश उपचार सेवा वडाबासीका लागि सहयोगी सिद्ध भएको छ।

    वडाले बिपद् व्यवस्थापनमा समेत उदाहरणीय काम गरेको छ। रतुवा खोलामा तटबन्ध निर्माण गरी बाढीको जोखिम न्यूनीकरण गर्नुका साथै सौन्दर्यीकरण, वाकिङ ट्र्याक र ८० फिटको सडक निर्माणमार्फत जीवनस्तर सुधारमा योगदान दिइएको छ।सुकुम्बासी परिवारहरूलाई नमुना बस्तीमा पुनर्वास गरिँदा सामाजिक समावेशिता सुनिश्चित गरिएको वडा अध्यक्ष पौडेल बताउँछन्।

    सामाजिक सुरक्षामा केन्द्रित रहँदै वडा कार्यालयले ‘सेफ हाउस’ निर्माण गरी वृद्धवृद्धा, अशक्त र गरिब नागरिकका लागि सुरक्षित आश्रयको व्यवस्था गरेको छ।

    यस वडामा २७ वटा टोल विकास संस्था सक्रिय छन्। ती संस्थाहरूले स्वास्थ्य, शिक्षा, बालमैत्री समाज निर्माणमा कार्य गर्दै आइरहेका छन्। यही अभियान अन्तर्गत वडा छिट्टै नै ‘बालमैत्री वडा’ घोषणाको अन्तिम तयारीमा रहेको जानकारी प्राप्त भएको छ।

    वडाले चालु आर्थिक वर्षमा मात्र भौतिक पूर्वाधारका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। ढल, कल्भर्ट, रेलिङसहितको सिँढी र टायल बाटो निर्माणका कामहरू सम्पन्न भएका छन्।

    सामाजिक र आर्थिक विकासमा समेत वडा सक्रिय रहँदै आएको छ। विभिन्न तालिम, उद्यमशीलता प्रवर्द्धन कार्यक्रम तथा सार्वजनिक सेवामा पहुँच वृद्धिका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

    दमक वडा नम्बर ७ आज सामाजिक, आर्थिक र भौतिक विकासको समुचित संयोजनसहित समृद्धिको यात्रामा अघि बढिरहेको नमुना वडाको रूपमा स्थापित हुँदैछ।