Author: Multi Media

  • दमक भ्यु टावर भोलिदेखि खोलिने एन्ट्री शुल्क सय रूपैयाँ

    दमक भ्यु टावर भोलिदेखि खोलिने एन्ट्री शुल्क सय रूपैयाँ

    दमक / झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर बिहिवार देखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।

    शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले सूचना जारी गरी दमक नगरपालिका वडा नं ३ दापगाछीस्थित दमक भ्यू टावर (दमक व्यापारिक कम्प्लेक्स) भोलिदेखि सर्वसाधारणको लागि स–शुल्क प्रवेश तथा अवलोकन खुला गरिने जनाएको छ । सो भ्यूटावर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म परिसर खुला गरिने भएको छ ।

    भ्यूटावर अवलोकन गरेको शुल्क प्रतिव्यक्ति सय रुपैयाँ तोकिएको छ । त्यस्तै पार्किङ शुल्क हलुका सवारीका लागि रु.२५ , बसका लागि ५० र मोटरसाइकलको लागि रु.१० तोकिएको छ ।

  • प्रेम विवाहपछि ठुलो परिमाणमा दाइजोकाे मागे : पत्नीलाई दाइजोको निउमा यातना

    प्रेम विवाहपछि ठुलो परिमाणमा दाइजोकाे मागे : पत्नीलाई दाइजोको निउमा यातना

    काठमाडौँ । सिरहामा एक जना युवकले प्रेम विवाहपछि ठुलो परिमाणमा दाइजो मागेर पत्नीलाई यातना दिएको घटना सार्वजनिक भएको छ । अर्नमा गाउँपालिका–२ ब्रम्हपुरी घर भएका २४ वर्षीय मुकेश प्रधान सुडी र उनको परिवार मिलेर २३ वर्षीया मनीषा कुमारी गामीलाई यातना दिएका हुन् ।

    प्रेम विवाह गर्दा मुकेशले ‘दाइजो लिन्न’ भनेको पीडित मनीषाको भनाई छ । तर, विवाह गरेसँगै ६० लाख नगद, २० तोला सुन, कार र राजमार्गमा पर्ने बन्दिपुर भन्ने ठाउँमा जग्गा खरिद गरिदिन दबाब दिएपछि उनले प्रहरीकहाँ जाहेरी दिइन् ।

    प्रहरीले अनुसन्धान सकेर सो मुद्दा अदालतमा दर्ता गरेको छ । २०८२ जेठ ७ मा मनीषाले दाइजो विरुद्धको कसुरमा श्रीमान्, सासू र ससुरालाई विपक्षी बनाएर जाहेरी दिइन् । मुलुकी अपराध संहिता २०७४ को दफा– १७४ अनुसार दाइजो लिन पाइँदैन । तर, आफूलाई दाइजो मागेर यातना दिएको मनीषाले रातोपाटीलाई बताइन्, उनले भनिन्, ‘विवाहको बेला मेरो बुवाले १० लाख नगद र ७ लाखको सामान दिनुभएको थियो, त्यतिले पुग्दैन भनेर मलाई यातना दिइरहनुहुन्छ ।’

    मनीषाको जाहेरी दर्ता गरेर प्रहरीले ४८ वर्षीया ललिता कुमारी प्रधान सुडीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अदालतको आदेशले उनी १ लाख धरौटीमा रिहा भएकी छन् । प्रहरीले ५० वर्षीय गौरी शङ्कर प्रधान सुडी, ४८ वर्षीया ललिता कुमारी प्रधान सुडी, २४ वर्षीय मुकेश प्रधान सुडीलाई प्रतिवादी कायम गरेको छ ।

    मनीषाको माइतीघर कर्जन्हा नगरपालिका–२ बन्दिपुर हो । ललितपुरमा ब्याचलर अफ सिभिल इन्जिनियरिङको सातौँ सेमेस्टरमा अध्ययनरत मुकेश प्रधान सुडी र उनका बुवा गौरीशंकर प्रधान सुडी विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । तर, उनीहरू पक्राउ परेका छैनन् ।

  • अर्जुनधाराकी गंगा राई मृत्यु घटना सम्बन्धमा चार जनामाथि आत्महत्या दुरुत्साहन मुद्दा

    अर्जुनधाराकी गंगा राई मृत्यु घटना सम्बन्धमा चार जनामाथि आत्महत्या दुरुत्साहन मुद्दा

    दमक / झापा अर्जुनधाराकी गंगा राई मृत्यु घटना सम्बन्धमा चार जनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही अगाडि बढाइएको छ । सामूहिक कुटाइबाट मृत्यु भएको पुष्टि नभएपछि उनीहरूमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको हो । गत असार २४ गते राति अर्जुनधारा-४ भाङवारी घर भई हाल वडा नं ८ शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया राईको मृत्यु भएको थियो ।

    सो घटनाका सम्बन्धमा भोजपुर रामप्रसादलाई गाउँपालिका-६ वैकुण्ठे घर भई अर्जुनधारा-८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने वर्ष ३१ वर्षीय रमेश भुसाल, उनकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसाल, सोही ठाउँ बस्ने ५४ वर्षीया मैयाँ भनिने डम्बरकुमारी श्रेष्ठ र २४ वर्षीया मेनुका पाँचकोटेलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको हो । असार २५ गते पक्राउ परेका उनीहरूमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले जानकारी दिएका छन् ।

  • दमकमा स्कुटीको ठक्करबाट गम्भीर घाइते वृद्धको मृत्यु

    दमकमा स्कुटीको ठक्करबाट गम्भीर घाइते वृद्धको मृत्यु

    दमक । झापाको दमक नगरपालिका–१० जहदा टोलस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

    मिति २०८२ साल असार २९ गते राति करिब ८:३० बजे मे.७ प.३७८९ नम्बरको स्कुटीले पैदल हिँडिरहेका ७७ वर्षीय देव बहादुर श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको, दाहिने हात भाँचिएको र दुबै खुट्टा तथा अनुहारमा समेत चोट लागेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    घाइते श्रेष्ठ बोल्न नसक्ने अवस्थामा रहेकाले तत्काल दमकस्थित निम्स अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित बिराट टिचिङ अस्पताल रेफर गरिएको थियो ।
    विराटनगरमा भेन्टिलेटरमा राखेर उपचार भइरहेका श्रेष्ठलाई परिवारजनले घर लैजाने क्रममा स्वास्थ्य अवस्था झनै गम्भीर भएपछि पुनः दमक अस्पताल ल्याइएको थियो । अस्पतालमा इ सि जि परीक्षण गर्दा राति चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेका हुन् ।

    स्कुटी चालक १६ वर्षीय अर्चन खापुङ रहेका छन्, जो तेह्रथुमको म्याङलुङ घर भई हाल दमक–१० मा बसोबास गर्दै आएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

    दुर्घटना पछि बुधबार प्रहरी अधिकृतको टोली घटनास्थलमा खटिएको थियो । कानुनी प्रक्रिया पूरा गरी मृतक श्रेष्ठको शव पोष्टमार्टमपछि उनका छोरा सुरेश कुमार श्रेष्ठलाई बुधबार दिउँसो अन्तिम संस्कारका लागि जिम्मा दिइएको प्रहरी स्रोतले जनाएको छ ।

  • दमक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार राजु खड्काको प्रतिबद्धता: व्यवसायीको हक हित र व्यवस्थित बजार प्रमुख एजेन्डा

    दमक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार राजु खड्काको प्रतिबद्धता: व्यवसायीको हक हित र व्यवस्थित बजार प्रमुख एजेन्डा

    दमक / दमकमा व्यवसायीको हक हितमा निरन्तर आवाज उठाउँदै आउनुभएका राजु खड्का आगामी दमक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ।

    वर्तमानमा संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका खड्का एक दर्जनभन्दा बढी संघ–संस्थामा आबद्ध हुनुहुन्छ। युवाशक्ति, अनुभव र जोशले भरिपूर्ण खड्काले अहिलेसम्म संघको कुनै पनि चुनावमा हार व्यहोर्नु परेको छैन।

    पार्टीको तर्फबाट औपचारिक उम्मेदवारी घोषणा भएसँगै खड्काले व्यवसायी हितका विविध पक्षलाई समेट्दै आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको छ।

    उहाँको मुख्य एजेन्डा यसप्रकार छन्:

    सदस्यता विस्तार र शुल्क परिमार्जन: संघको वार्षिक शुल्क परिमार्जन गरी नयाँ व्यवसायीलाई आकर्षित गर्दै सदस्यता वृद्धि गरिनेछ।

    साना व्यवसायीको व्यवस्थापन: सडकमा मकै पोल्ने, जुत्ता सिलाउने, चटपटे बेच्नेजस्ता साना व्यवसायीलाई व्यवस्थित गरेर सहज व्यावसायिक वातावरण तयार पारिनेछ।

    व्यवसायिक हितकोषको प्रभावकारिता: संघद्वारा सञ्चालित व्यवसायिक हितकोषको माध्यमबाट क्यान्सर, मुटुरोग, मृगौला पीडित व्यवसायीलाई उपचार खर्च स्वरूप निश्चित सहयोग प्रदान गरिनेछ।

    अव्यवस्थित बजार नियन्त्रण: बजार क्षेत्रमा लागू पदार्थ सेवन, चन्दा उठाउने, ठगी गर्नेजस्ता गतिविधि नियन्त्रण गर्न स्थानीय प्रहरी र नगरपालिका सँग समन्वय गर्दै कठोर कार्यान्वयन गरिनेछ।

    घुमन्ते व्यापारको नियन्त्रण: अनधिकृत रूपमा साइकल, सिटी सफारीमा सामग्री बिक्री गर्ने पोके व्यापारलाई कर प्रणालीमा ल्याई निश्चित स्थानमा मात्रै कारोबार गर्न दिने व्यवस्था गरिनेछ।

    राजु खड्काले आफ्नो उम्मेदवारी घोषणासँगै भनेका छन्, “बोलेर भन्दा पनि गरेर देखाउने मेरा कार्यशैली हुन्। व्यवसायीको हक, अधिकार र सुरक्षाका लागि मैले बोकिएको एजेन्डालाई कार्यान्वयन गर्नेछु।”

    आफ्नो उम्मेदवारी कुनै व्यक्तिको विरोधमा नभई व्यवसायीको हक र हितका लागि भएको स्पष्ट पारेका छन्।

    खड्काले उद्योग वाणिज्य सङ्घ कुनै राजनीतिक दलको काम गर्ने थलो नभएको उल्लेख गर्दै, “यो सङ्घ व्यवसायीका समस्या समाधान गर्ने साझा संस्था हो, यसलाई राजनीतिक रंग दिनु अनुचित हुन्छ,” भन्ने धारणा व्यक्त गरे।

    उहाँका अनुसार व्यवसायीहरूबीच एकता र सहकार्यको खाँचो रहेको अहिलेको समयमा आफूले उम्मेदवारी दिएर व्यवसायी हितमा दृढ भूमिका खेल्ने लक्ष्य लिएको बताउनुभयो। “व्यवसायीका समस्या र अधिकारका पक्षमा बलियो आवाज उठाउने बेला आएको छ,” उहाँले भन्नुभयो।

    उहाँले दमकका सम्पूर्ण व्यवसायीहरूप्रति समर्थनको अपेक्षा व्यक्त गर्दै आगामी निर्वाचनमा सक्दो साथ र सहयोगको अपेक्षा राखेको जनाउनुभयो।

    दमकका व्यवसायीमाझ लोकप्रिय नाम बनिसक्नुभएका खड्काको उम्मेदवारीसँगै आगामी चुनाव प्रतिस्पर्धात्मक र नीतिगत बहसमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

  • केही स्थानमा भारी वर्षाको सम्भावना

    केही स्थानमा भारी वर्षाको सम्भावना

    दमक / हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ। यसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

    राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

  • दमक–चिसोपानी सडक ३३ वर्षमा पनि पूरा भएन

    दमक–चिसोपानी सडक ३३ वर्षमा पनि पूरा भएन

    दमक / झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुननन्द मार्ग) निर्माण सुरु भएको तीन दशक बित्यो । सडक निर्माणका लागि अबौँं लगानी भइसक्यो । तर, सडक निर्माणले पूर्णता पाउन भने सकेको छैन ।

    स्थानीयवासीले पटक–पटक माग र दबाब गरे पनि सडकको अवस्था अझै दयनीय छ । ३३ किलोमिटरको यो सडकको अहिले रतुवा नदीको तिरैतिर ट्र्याक खोलिएको छ । जहाँ हिउँदमा धुलो र वर्षामा हिलोले यातायात र जनजीवन दुवै अस्तव्यस्त बनाइरहेको छ । सडक कालोपत्र नहुँदा बर्खामा मुस्किलले दमकदेखि चिसोपानीसम्मको यात्रा गर्नुपर्ने बाध्यता छ ।

    दमक–चिसापनी सडक झापा र इलामलाई जोड्ने महत्वपूर्ण पहुँच मार्ग हो । झापा, इलाम र पाँचथरका हजारौँ नागरिकले दैनिक आवतजावत गर्ने र कृषि उत्पादनलाई बजासम्म पुर्याउने यो सडक निर्माण ढिलाइले स्थानीयवासी आक्रोशित छन् ।

    पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमक (झापा) र पूर्व संविधानसभा अध्यक्ष स्व सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र माङसेबुङ (इलाम) जोड्ने सडक निर्माणले पूर्णता नपाउँदा नेतृत्वको आलोचना हुँदै आएको छ ।

    सो सडक निर्माणमा सरकारले लगानी नगरेको भने होइन । पटक–पटक गरी अबौंँ लगानी भइसकेको छ । तर, निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम नगरेकाले सडक निर्माणले पूर्णता पाउन नसकेको सडक डिभिजन दमकले जनाएको छ । ३३ किलोमिटर दुरी कालोपत्र गर्ने गरी ठेक्का लगाएको सात वर्ष बितिसक्यो । तर, काम भने आधा पनि भएको छैन । ट्र्याक चौडा र कालोपत्र गर्ने गरी सडक डिभिजन दमकले तीन खण्डमा ठेक्का लगाएको थियो ।

    तीन वर्षमा काम पूरा गर्ने गरी लगाएको ठेक्काको म्याद पटक–पटक थप्दासमेत ठेकेदार कम्पनीले काम नगरेपछि सडक अलपत्र परेको छ । पहिलो खण्ड अन्तर्गत दमकको जिरो प्वाइन्टदेखि सात किलोमिटर सडक कालोपत्र गर्ने ठेक्का महालक्ष्मी–किरातेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २०७५ साल साउन २९ गते सम्झौता गरेको थियो । रु २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का सम्झौता भएको थियो । रतुवा नदीको भित्ता काटेर ट्र्याक खोलिसकेको सडक कालोपत्र मात्र गर्ने सो निर्माण कम्पनीको जिम्मा थियो ।

    तर, चार पटक म्याद थपिँदासमेत कालोपत्र सकिएको छैन । अन्तिम पटक थपिएको म्याद २०८० साल असार मसान्तसमा सकिएको थियो । अहिले ठेकेदार कम्पनीले दैनिक जरिवानामा काम गरिरहेको सडक डिभिजन दमकका डिभिजन प्रमुख श्यामकुमार यादवले बताए । ‘अन्तिम पटक थपिएको म्याद दुई वर्ष अघि नै सकिएको हो ।

    अहिले दैनिक जरिवानामा काम गरिरहेको छ । पछिल्लो पटक कम्पनीले म्याद थपका लागि निवेदन दिएको छ, तर निर्णय गरिएको छैन,’ डिभिजन प्रमुख यादवले भने, ‘बिचबिचमा कालोपत्रको काम गरिरहेको छ ।कामको प्रगति बढाउनुहोस् भनेका छौँ । काम गर्ने सुनिश्चितता भए म्याद थप हुन्छ, नभए जरिवानामा नै काम गर्छ ।’

    दोस्रो र तेस्रो खण्डमा भने गत वर्षदेखि नै काम ठप्प छ । करिब आधा मात्र काम सकिएको सो खण्डमा सडक अस्तव्यस्त बनेको छ । दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो खण्ड ११ किलोमिटर सडक चौडा गर्ने र कालोपत्र गर्ने ठेक्का लुम्बिनी–गणपति जेभीले पाएको थियो । दुवै खण्ड सडक कालोपत्र गर्ने गरी २०७६ फागुन २ गते ठेक्का लागेको थियो ।

    दोस्रो खण्ड रु ५४ करोड ४४ लाख ८७ हजारमा र तेस्रो खण्ड रु ५९ करोड १५ लाख ३५ हजारमा ठेक्का लागेको थियो । दुवै खण्डको म्याद २०७९ फागुन २ गते नै सकिएको थियो । तर, म्याद थप गर्दा दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा २८ प्रतिशत मात्र सकिँदा काम रोकिएको हो ।

    यी दुवै सडक खण्डको विषयमा अदालतमा मुद्दा परेपछि थप कुनै काम निरन्तर अगाडि सकेको छैन । डिभिजन प्रमुख यादवका अनुसार सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी–गणपति जेभीले काम नगरेपछि २०८० फागुनमा कार्यालयले ठेक्का सम्झौता रद्द गरेको थियो ।

    कार्यालयले ठेक्का सम्झौता रद्द गरेपछि सरकारले बैङ्क ग्यारेन्टी‘ जफत गर्‍यो । सो निर्णयको विरुद्धमा विपक्षी लुम्बिनी–गणपति जेभीले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो । तर उच्च अदालतले रिट खारेज गरिदिएको डिभिजन कार्यालयले जनाएको छ ।

    तर, त्यसअघि नै लुम्बिनी–गणपति जेभीले जिल्ला अदालत झापामासमेत अर्को मुद्दा दर्ता गरेको र अन्तिम किनारा नलागेकाले कुनै काम अघि बढ्न नसकेको डिभिजन प्रमुख यादवले बताए । ‘जिल्ला अदालत झापामा समेत साविकको ठेक्का सम्झौता यथावत् कायम गरिपाउँ भनी मुद्दा हालेको छ,’ उनले भने, ‘त्यो न्यायिक प्रक्रियामा छ, न्यायिक प्रक्रिया नटुङ्गिएसम्म केही गर्न सकिँदैन ।’

    सो सडक निर्माणको सुरुवात २०४९ मा डा गोपाल कोइराला नेतृत्वको समितिले गरेको थियो । पछि विभिन्न समिति निर्माण गरी काम अगाडि बढाइएको थियो ।

    सडक निर्माणको काम अलपत्र बनेपछि स्थानीयले भने सास्ती खेप्नुपरेको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा यात्रा गर्न निकै कष्टकर बनेको माङसेबङ गाउँपालिका–३ का सजन राईले बताए । ‘बर्खाको समयमा हिँडडुल गर्न समस्या छ,’ उनले भने, ‘हामी केटाकेटी हुँदा निर्माण सुरु भएको सडकले पूर्णता नपाउँदा मजस्ता हजारौँले सास्ती खेप्नु परिरहेको छ ।’

    बर्खा लाग्नसाथ वर्षौँंदेखिको समस्या ब्युँतिने गरेको माङसेबुङ गाउँपालिका–२ की समीक्षा खड्काले बताइन् । ‘वर्षोँदेखि बाटो बन्छ मात्र भन्छन्, नेताहरू चुनावमा यही बाटोलाई चुनावी एजेण्डा बनाउँछन् । तर बाटो अझै बनेन,’ उनले भनिन्– ‘अहिले त झन् मुद्दा परेको भन्ने सुनिन्छ, यसले झनै हामीलाई निराश बनाएको छ ।’

    नागरिकहरूलाई आवतजावतमा सहजताका लागि माङसेबुङ गाउँपालिकाले आफ्नै लगानीमा मर्मत सम्भारको काम गर्दै आएको छ । गत वर्ष रु १५ लाख विनियोजन गरेर सडक मर्मत सम्भार गरेको माङसेबुङले यो वर्ष भने व्यवसायीलाई जेसिभी उपलब्ध गराएर सहयोग गरेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।

    ‘हामीले गत वर्ष रु १५ लाख विनियोजन गरेर सडक मर्मत सम्भार गरी सहज बनाएका थियौँ,’ अध्यक्ष राईले भने, ‘यो वर्ष पालिकाको तर्फबाट जेसिभी उपलब्ध गराएका छौँ, व्यवसायीहरूले इन्धन जुटाएर सामान्य मर्मतको काम भएको छ ।’ गाउँपालिकाको तर्फबाट छिटो काम अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गरिएको उनले बताए ।