Author: Multi Media

  • इलामको सूर्योदय नगरपालिकामा एकजनाको हत्या एक गम्भीर घाइते

    इलामको सूर्योदय नगरपालिकामा एकजनाको हत्या एक गम्भीर घाइते

    इलाम– इलामको सूर्याेदय नगरपालिका–१, भालुखोपमा एक जनाको हत्या गरिएको छ । एक जना गम्भीर घाइते छन् ।

    स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईको धारिलो हतियार प्रहारबाट हत्या गरिएको प्रहरीले जनाएको छ । ३२ वर्षे निरोज चापागाई गम्भीर घाइते छन् ।

    प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्याेदय १, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ ।

    शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • श्रावण महिनाको पहिलो दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड

    श्रावण महिनाको पहिलो दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको भिड

    काठमाडौं / श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै बाक्लो उपस्थिति देखिन्छ।

    भगवान शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहँदी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्न पुग्छन्।

    श्रावणको सुरुवातसँगै मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ।

  • सेफ्टी ट्याङ्कीमा  निसासिएर पाँचथरमा १ जनाको मृत्यु

    सेफ्टी ट्याङ्कीमा निसासिएर पाँचथरमा १ जनाको मृत्यु

    दमक / पाँचथरमा सहकारी भवनको निर्माणाधीन सेफ्टी ट्याङ्कीको सेटिङ खोल्ने क्रममा अक्सिजनको कमी भई निसासिएर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजनाको अवस्था चिन्ताजनक रहेको छ ।

    आज दिउँसो पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, पञ्चमी बजार नजिकै निर्माणाधीन सहकारी भवनको सेप्टी ट्याङ्कीमा काम गर्ने क्रममा चार जना कामदार बेहोस भएका थिए।ट्याङ्कीभित्र सटिङ खोल्ने क्रममा अक्सिजनको कमी हुँदा उनीहरू बेहोस भएका हुन्।बेहोस भएका मध्ये ३५ वर्षीय रतन चेम्जोङलाई इलाम अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

    २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय विरू चेम्जोङको अवस्था गम्भीर रहेको र थप उपचारका भइरहेको जनाइएको छ।३० वर्षीय सन्तोष चेम्जोङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    घटनापछि स्थानीयबासी र प्रहरीको सहयोगमा स्काभेटर प्रयोग गरी ट्याङ्की फोरेर उद्धार गरिएको थियो ।सबै कामदारहरू फाल्गुनन्द – ५ निवासी हुन् । उनीहरु घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको भवनमा निर्माण कार्यमा संलग्न थिए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • झापा प्रहरीले ५३४ जना फरार प्रतिवादी पक्राउ गरी अदालत समक्ष उपस्थित गरायो, २४८ वर्ष कैद र ७ करोड बढी जरिवाना असुल

    झापा प्रहरीले ५३४ जना फरार प्रतिवादी पक्राउ गरी अदालत समक्ष उपस्थित गरायो, २४८ वर्ष कैद र ७ करोड बढी जरिवाना असुल

    दमक / जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्ष २०८१/८२ मा फैसला कार्यान्वयनतर्फ उल्लेखनीय सफलता हासिल गर्दै ५३४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी युनिटहरूबाट खटिएको टोलीले विभिन्न मुद्दा शिर्षकमा फरार रहेका ४६३ जना पुरुष, ७० जना महिला र १ जना यौनिक अल्पसङ्ख्यक गरी कुल ५३४ जना फरार प्रतिवादीलाई पक्राउ गरी सम्मानित झापा जिल्ला अदालतमा उपस्थित गराएको हो।

    पक्राउ परेकामध्ये कैद असुल बाँकी रहेका प्रतिवादीलाई अदालतको आदेशअनुसार झापा कारागार पठाइएको छ भने जरिवाना मात्र बाँकी रहेकाहरूको जरिवाना दाखिला गराई कानुनी प्रक्रिया पूरा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    उक्त कार्यान्वयनबाट कुल २४८ वर्ष १० महिना १४ दिन कैद र सात करोड सताईस लाख चौबिस हजार आठ सय एक्काइस रूपैयाँ छैसठ्ठी पैसा जरिवाना असुल गरिएको हो।

    प्रहरीका अनुसार पक्राउ परेका उल्लेखनीय प्रतिवादीहरूमध्ये निम्न फरारहरू रहेका छन्:

    खेमराज पोखरेल, ४८ वर्ष, भद्रपुर नगरपालिका–८: जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा सर्वोच्च अदालतको मिति २०८०।०७।१९ को फैसलाअनुसार १० वर्ष कैद।

    प्रदिप राई, ३२ वर्ष, मेचिनगर नगरपालिका–७: उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७२।०३।१६ को फैसलाअनुसार जबरजस्ती करणी र चोरी मुद्दामा १० वर्ष कैद।

    अमिर लगुन बिश्वकर्मा, ३० वर्ष, बिर्तामोड नगरपालिका–८: उच्च अदालत पाटनको मिति २०८०।११।२९ को फैसलाअनुसार राजश्व चुहावट मुद्दामा १ वर्ष २ महिना १५ दिन कैद र रु. २,८४,५८,६०५ जरिवाना।

    प्रहरीले फरार अपराधीविरुद्ध निरन्तर खोज, निगरानी र सूचना संकलनलाई प्राथमिकतामा राखी फैसला कार्यान्वयनमा कठोरता ल्याउने जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन तथा न्यायिक प्रक्रियालाई सबल बनाउन यस्ता अभियानलाई थप सशक्त बनाइने प्रतिबद्धता जनाएको छ।

  • बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

    बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन

    बिर्तामोड / बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार एक समारोह काबीच उद्घाटन भएको छ । उक्त भवनको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका हुन् । नयाँ भवन सञ्चालनमा आएसँगै नगरपालिकाको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ ।

    नगर प्रमुख पवित्रा महतारा प्रसाईँका अनुसार ४ करोड ९९ लाख १७ हजार ५८८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यो भवन पाँच तले छ । उनले नगरपालिकाको दैनिक प्रशासनिक कामकारबाहीलाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले भवन निर्माण गरिएको बताइन् ।

    ’सेवाग्राहीको बढ्दो चाप र नगरको दैनिक कामकाजलाई सहज ढङ्गले व्यवस्थापन गर्न यो भवनले महत्त्वपूर्ण भूमिका खेल्नेछ’, नगर प्रमुख प्रसाईँले भनिन् । नवनिर्मित भवनमा सेवाग्राही र कर्मचारी दुवैका लागि विशेष सुविधाहरू समेटिएका छन् । भवनको भुइँतलामा सवारी पार्किङको व्यवस्था गरिएको छ । दोस्रो तलामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहितको कार्यकक्ष बनाइएको छ ।

    तेस्रो तलामा उपप्रमुखको कार्यकक्ष छ । चौथो तलामा आकर्षक र आधुनिक सभा हल बनाइएको छ । उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाका अनुसार भवनमा लिफ्ट जडान गरिएकाले यो अपाङ्गता भएका व्यक्तिका लागि समेत सहज पहुँचयुक्त छ । भवनभित्र कार्यपालिका बैठक कक्ष र फराकिला कोठाहरू पनि निर्माण गरिएका छन्, जसले काम गर्ने वातावरणलाई थप सहज बनाउनेछ ।

    प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सेवाग्राहीको बढ्दो चाप र नगरको विस्तारित कार्य बोझलाई व्यवस्थापन गर्न नयाँ भवनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । स्थानीय पूर्वाधार विभाग र बिर्तामोड नगरपालिकाको ५०–५० प्रतिशत लागत साझेदारीमा निर्माण भएको यो भवन २०८० असार २४ गते सुरु भएर २०८१ पुस १७ गते निर्माण सम्पन्न भएको थियो ।

    २३ मिटर लम्बाइ र १४ मिटर चौडाइमा फैलिएको यो नयाँ भवनले बिर्तामोडको विकासमा नयाँ आयाम थपेको प्रमुख प्रशासकीय अधिकृत मिश्रले बताए । सोही कार्यक्रमका बीच वडा नम्बर ७ का ३ जना सुकुम्वासीलाई जग्गा धनी पुर्जासमेत वितरण गरिएको छ । उद्घाटन कार्यक्रममा कोशी प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री एकराज कार्की, जनप्रतिनिधि, विभिन्न राजनीतिक, प्रशासनिक तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

  • अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट

    अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट

    काठमाडौँ / अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, २५ जेठमा ३७ नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एक÷दुई जना नेपाली डिपोर्ट भएर आइरहेका छन् ।

    उनका अनुसार, त्यसपछिको अवधिमा १९ जना डिपोर्ट भएर आइसकेको विवरण विभागमा रहेको जनाइएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले कडा अध्यागमन नीति अख्तियार गरेको थियो । त्यसपछि सामान्य कसुरमा पक्राउ परेका केही व्यक्ति पनि डिपोर्ट भएका छन् ।

    नेपाल आएका अधिकांश चाहिँ तल्लो बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरू छन् । विभागका अनुसार, ट्रम्प निर्वाचित भएयता मात्र अमेरिकाबाट डिपोर्ट हुनेको सङ्ख्या १९७ पुगिसकेको छ ।

  • एक लाख घुससहित  मेयर रंगेहात पक्राउ

    एक लाख घुससहित मेयर रंगेहात पक्राउ

    दमक / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

    मेयर साहलाई एक लाख घुससहित अख्तियारको टोलीले बुधबार कार्यालयबाटै नियन्त्रणमा लिएको हो।
    उनलाई उपभोक्ता समितिबाट गैरकानुनी रूपमा रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ।

    उनी गत स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर निर्वाचित भएका थिए।