Blog

  • आज असोज १ गते अर्थात बिश्वकर्मा पुजा 

    आज असोज १ गते अर्थात बिश्वकर्मा पुजा 

    असाेज, १ दमक / आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

    आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

    एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद्हरु बताउँछन् । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

    विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने गर्छन् । वास्तु शास्त्र पुस्तकका लेखक एवम् अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा पनि मनाउने गर्छन् ।

    पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण शुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ ।

  • आज राष्ट्रिय शोक, सार्वजनिक बिदा 

    आज राष्ट्रिय शोक, सार्वजनिक बिदा 

    १ असोज, काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ ।

     

    भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो ।

     

    उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।

     

    सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

  • कमल नगर अस्पतालले सुरु गर्‍यो निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिलालाई ठूलो राहत

    कमल नगर अस्पतालले सुरु गर्‍यो निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिलालाई ठूलो राहत

    असाेज १ , तोपगाछी, झापा – कमल गाउँपालिका–०२ स्थित कमल नगर अस्पतालले गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। गाउँपालिकाको सहयोग र ओम आदि फाउन्डेसनको योगदानमा प्राप्त एम्बुलेन्समार्फत यो सेवा २४ घण्टा सञ्चालनमा ल्याइएको हो।

    अस्पतालका अनुसार गर्भवती र सुत्केरी महिलाले प्रसूति सेवाका लागि अब कुनै शुल्क नतिरी अस्पताल आउन–जान सक्ने भएका छन्। गत आर्थिक वर्ष २०८१ /८२ मा १३० महिलाले यो सेवा उपयोग गरेका थिए। अन्य सर्वसाधारणले पनि सुलभ मूल्यमा एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

    कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल संचालन समितिका अध्यक्ष हुकुम सिंह राईका अनुसार यो सेवाले ग्रामीण भेगका महिलालाई समयमै अस्पतालसम्म पुग्न मद्दत गर्ने र मातृ तथा शिशु मृत्यु दर घटाउन सहयोग पुर्‍याउनेछ।

    कमल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालले ओम आदि फाउन्डेसनप्रति आभार व्यक्त गर्दै यस सेवाले समुदायमा स्वास्थ्य सेवामा पहुँच बढाएको बताए।

    कमल नगर अस्पतालले सामान्य सुत्केरी सेवा, नवजात शिशु स्वास्थ्य निगरानी, चिकित्सकको सम्पर्कमा उपचार सुविधा र PNC Home Visit Programme जस्ता निःशुल्क सेवाहरू पनि निरन्तर सञ्चालन गर्दै आएको छ।

    स्थानीय बासिन्दाहरूले निःशुल्क एम्बुलेन्स सेवाले सुरक्षित मातृत्व प्रवर्द्धनमा ठूलो योगदान गरेको बताएका छन्। वडा अध्यक्ष अशोक सुब्बाका अनुसार समयमै उपचार पाउँदा गर्भवती आमाको जीवन बच्ने सम्भावना धेरै बढेको छ र स्थानीयको विश्वास पनि बलियो बनेको छ।

    यस सेवाबाट गरिब, असहाय र आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो लाभ पुगेको र भविष्यमा अझ प्रभावकारी बनाइने अस्पतालले जनाएको छ।

  • दमक नगरपालिका कार्यपालिकाको आकस्मिक बैठक, शान्ति–सुरक्षा र सेवा निरन्तरतामा जोड

    दमक नगरपालिका कार्यपालिकाको आकस्मिक बैठक, शान्ति–सुरक्षा र सेवा निरन्तरतामा जोड

    दमक, ३० भदौ / सोमबार साँझ ४ बजे बसेको दमक नगरपालिका कार्यपालिकाको आकस्मिक बैठकले हालसालै भएको जेनजी प्रदर्शन र त्यस क्रममा भएका घटना–दुर्घटनालाई लिएर पाँच बुँदे निर्णय गरेको छ।

     

    बैठकले प्रदर्शनका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, आन्दोलनको क्रममा सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा आगजनी, लुटपाटजस्ता अवाञ्छित गतिविधि गर्ने जो–कोहीलाई नेपाल सरकारबाट कडा कारबाहीको माग गर्ने निर्णय गरेको छ।

     

    नगरपालिकाले भोलि ३१ गतेदेखि वडा कार्यालय र स्वास्थ्य क्षेत्रका सम्भव हुने सबै सेवाप्रवाह निरन्तर गर्ने तथा सामुदायिक, निजी र आवासीय विद्यालयहरूमा पठनपाठन सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

     

    शान्ति–सुरक्षाको लागि इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी, बाखोर चौकी र बेलडाँगीस्थित सशस्त्र प्रहरी क्याम्पलाई थप सशक्त बनाउन र नगरवासीलाई सुरक्षित वातावरण दिन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। यस्तै, सरकारी सुरक्षा व्यवस्थामा ढिलाइ भएमा प्रत्येक टोलमा टोल विकास समितिले वडा कार्यालयसँग समन्वय गरी गस्ती व्यवस्था मिलाउने व्यवस्था गर्न भनिएको छ।

     

    बैठकले संक्रमणकालीन अवस्थामा कालोबजारी वा कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गर्दै त्यस्तो गतिविधि भेटिए कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। साथै, आन्दोलनका क्रममा भएको सरकारी, संस्थागत र व्यक्तिगत सम्पत्तिको हानीनोक्सानी कानुनी रूपमा मुजुल्का गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

  • झापामा जेनजी प्रदर्शनका क्रममा तीन जनाको मृत्यु

    झापामा जेनजी प्रदर्शनका क्रममा तीन जनाको मृत्यु

    भदौ २७, झापा _जेनजी आन्दोलनका क्रममा बिर्तामोडमा घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा- ८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी रहेका छन् । बीएण्डसी अस्पतालमा उपचाररत उनको शुक्रवार बिहान ११.३५ बजे मृत्यु भएको परिवारजनले जनाएका छन् ।

    प्रहरी र प्रदर्शनकारीबीचको झडपपश्चात् प्रदर्शनकारीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई कब्जा लिई आगजनी गर्ने क्रममा कार्यालयभित्र रहेको ग्यास सिलिन्डर बिष्फोट भई राजवंशी घाइते भएका थिए ।उनको पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
    यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड अगाडि भएको झडपमा हिलिहाङ–२ पाँचथर घर भई बिर्तामोड १० मा बस्दै आएका अन्दाजी ३५ वर्षका कमल भण्डारी र अर्जुनधारा -८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो ।

    जेनजी विद्रोहकै क्रममा सुनसरीको इटहरीमा झडप हुँदा २३ गते इटहरीका २३ वर्षीय अभिषेश श्रेष्ठ र इटहरी- १४ का मोहन सरदारको मृत्यु भएको थियो ।कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेलले घाइतेको तथ्याङ्क भने नआइसकेको बताए । ‘हामी विवरणहरू सङ्कलन गरिरहेका छौँ । अहिलेसम्म यकिन विवरण आएको छैन,’ उनले भने ।

  • दमकमा खुकुरी हानाहान, दुई जना घाइते

    दमकमा खुकुरी हानाहान, दुई जना घाइते

    भदौ २५ दमक, सुजन गाैतम – झापाको दमक नगरपालिका वडा नं ५ स्थित क्याम्पस मोडबाट आमदा अस्पताल जाने बाटोमा खुकुरी प्रहार भएको छ। घटनामा दुई जना घाइते भएका छन्।

     

    उर्लाबारी नगरपालिका वर्गाछी बस्ने २६ वर्षीय अमन मोता गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गहिरो चोट लागेको र दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ। अर्का घाइते दमक नगरपालिका वडा नं ९ बस्ने अर्जुन राई रहेका छन्, उनको अवस्था सामान्य रहेको बताइएको छ।

     

    घाइते अर्जुन राईका अनुसार करिब आठ जनाको समूह मोटरसाइकलमा आएर क्यारमबोर्ड खेलिरहेको बेला खुकुरी प्रहार गरेका थिए। घटनामा सिरुपाते खुकुरी, बियरको बोतल र बाइकको हेल्मेट प्रयोग भएको जानकारी दिइएको छ।

     

    खुकुरी प्रहार गर्ने मध्ये दमक नगरपालिका वडा नं ९ बस्ने सुनिल वानेन फागो (उपनाम माइला) र दमक वडा नं ९ कै सनम लिम्बुको संलग्नता खुलेको छ। सनम लिम्बुले हेल्मेटले प्रहार गरेको र उनी लागूऔषध कारोबारमा संलग्न रहेको समेत खुलेको छ। अन्य ६ जनाको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

     

    घटना सम्बन्धी थप अनुसन्धान गर्नका लागि Gen – Z आन्दोलनका कारणले दमकमा प्रहरीसमेत नरहेको जानकारी गर्दछौं।

  • झापामा आन्दोलनका क्रममा १२ जना घाइते, प्रहरीद्वारा विवरण सार्वजनिक

    झापामा आन्दोलनका क्रममा १२ जना घाइते, प्रहरीद्वारा विवरण सार्वजनिक

    भदौ २४, झापा / सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्ने उद्देश्यले गरेको निर्णयविरुद्ध आइतबार सुरु भएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा झापामा भएका भिडन्तमा १२ जना घाइते भएका छन्। सोमबार दमक, विर्तामोडसहितका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेका बेला प्रहरीले अश्रुग्याँस, लाठीचार्ज र गोली प्रहारसमेत गरेको थियो।
    जिल्ला प्रहरी कार्यालय झापाले मंगलबार बिहान संचारमाध्यमलाई उपलब्ध गराएको विवरणअनुसार घाइतेमध्ये अधिकांश दमकमा प्रदर्शन गर्नेहरू रहेका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको छ।
    घाइतेहरूको विवरण
    प्रकाश भट्टराई (३०), कमल–५ – बायाँ खुट्टाको फिलामा चोट, दमक अस्पतालमा उपचारपछि बीएन्डसी बिर्तामोड।
    भुपेन्द्र खड्का (२०), दमक–३ – अनुहार र घाँटीमा चोट, बोल्न सक्ने मध्यम अवस्था, लाईफलाइन दमकबाट थप उपचारका लागि धरान।
    सागर हेमरम (२०), गौरीगञ्ज–१ – अनुहार, छातीमा चोट, बोल्न सक्ने मध्यम अवस्था, विर्तामोड रेफर।
    अभिषेक चेम्जोङ (१८), दमक–१ – अनुहारमा चोट, अवस्था सामान्य, विर्तामोड रेफर।
    प्रयुस चौहान (१९), उर्लाबारी–४ – दाहिने हात, खुट्टा र छातीमा चोट, नोबेल अस्पताल विराटनगर।
    युनिस दाहाल (१८), शिवसताक्षी–११ – कान र घाँटीमा चोट, नोबेल अस्पताल विराटनगर।
    साईन राई (२४), चुलाचुली–३, इलाम – दाहिने खुट्टामा चोट, लाईफलाइन दमकमा उपचाररत।
    अविनाश राई (१९), कमल–५ – हात र खुट्टामा चोट, नोबेल अस्पताल विराटनगर।
    औसन रिमाल (१७), दमक–१० – हातमा चोट, विर्तामोडमा थप उपचार।
    रोयल रिजाल (१८), दमक–७ – दुवै खुट्टामा चोट, लाईफलाइन दमकमा उपचाररत।
    प्रदिप खरेल (३३), बिर्तामोड–५ – दाहिने खुट्टामा चोट, बीएन्डसीमा उपचार, अवस्था सामान्य।
    सन्देश गिरी (१६), बिर्तामोड – अश्रुग्याँसको धुवाबाट घाइते, बिर्तासिटी अस्पतालमा, अवस्था सामान्य।
    जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदर्शनका क्रममा केहीलाई नियन्त्रणमा पनि लिइएको छ। घाइतेहरूको अवस्था भने अधिकांश सामान्य रहेको जनाइएको छ।