Blog

  • कमलमा एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

    कमलमा एचआईभी/एड्स, यौन रोग र मानव बेचबिखनबारे सचेतना कार्यक्रम सम्पन्न

    कमल, २० भदौ / पूर्वपश्चिम लोकमार्गअन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको क्रममा झापाको कमल गाउँपालिकामा एचआईभी/एड्स, यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

    मंगलबार पडाजुंगीस्थित रोड स्टार सभाहलमा आयोजित उक्त कार्यक्रम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एशियाली विकास बैंक (ADB) को आर्थिक सहयोगमा सञ्चालित राजमार्ग अभिवृद्धि आयोजना अन्तर्गत गरिएको हो।

    कार्यक्रममा वडा नं. ३, ४ र ५ का स्थानीय बासिन्दा, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी र अन्य चलायमान जनसंख्यालाई लक्षित गरी स्वास्थ्य तथा सामाजिक जोखिमबारे जानकारी दिइएको थियो।

    लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले सडक निर्माणसँगै बाहिरबाट आउने कामदारहरूको उपस्थितिले महिलाहरू, बालबालिका र स्थानीयमा यौनजन्य हिंसा, दुर्व्यवहार र मानव बेचबिखनको जोखिम बढ्ने सम्भावना रहेको बताउँदै समयमै परीक्षण, उपचार र सतर्कता आवश्यक रहेको उल्लेख गरिन्।

    स्वास्थ्यकर्मी दीपक दाहालले एचआईभी/एड्स र यौन रोगसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए भने दमक इलाका प्रहरी कार्यालयका सई कुमार खतिवडाले मानव बेचबिखन तथा लागुऔषधका जोखिम र सुरक्षा उपायबारे प्रोजेक्टरमार्फत प्रस्तुति दिएका थिए।

    ५० भन्दा बढी शिक्षक, सामाजिक संस्थाका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको कार्यक्रममा सिंहकै सहजीकरणमा विभिन्न छलफल पनि भएका थिए। उनका अनुसार झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न पालिकामा यस्ता जनचेतना कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। साथै सडक छेउका विभिन्न स्थानहरूमा चेतनामूलक साइनबोर्डहरू राख्ने कार्य पनि अघि बढाइएको छ।

  • कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

    कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

    भदौ १९, कमल / कमल गाउँपालिका–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न भएको छ । स्थानीय बासिन्दामाझ पुगेर कुष्ठरोगका लक्षण, कारण, सरुवा हुने तरिका र उपचारबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको अभियानमा शंका लागेका व्यक्तिहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

    कार्यक्रम कमल नगर अस्पतालका प्रमुख दिपक प्रसाद दहालको नेतृत्वमा अहेव पुर्ण कुमार ताजपुरिया, अहेव पन्जिका थापा मगर “रुजु”, कमल अपाङ्गता समितिका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविका र टोल विकास समितिका प्रतिनिधिहरूको सक्रियतामा सञ्चालन गरिएको हो । अभियान भाद्र १७ गते थापा टोल र नवोदय टोलबाट सुरु भई समयगढ, प्रगती, ज्योति टोल, हलफल टोल, सेतुमारी, भुत्लुङ्ग र देविचौन टोलसम्म पुगेको थियो ।

    यसअघि वडा सदस्य कल्पना राई, NLF अफिसर डी.बी. गुरुङलगायत सरोकारवालाको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष अशोक सुब्बाले यस्ता अभियानले कुष्ठरोगप्रति फैलिएको भ्रम, त्रास र विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रम सफल बनाउन नेपाल कुष्ठरोग सङ्गति (NLF) झापाको सक्रियता उल्लेखनीय रह्यो । NLF ले प्रविधिक मार्गदर्शन, जनचेतनामूलक सामग्री र तालिम प्राप्त जनशक्ति उपलब्ध गराएको थियो । कमल गाउँपालिका अध्यक्ष हुकुम सिह राईले NLF को सहकार्यप्रति आभार प्रकट गर्दै “यस्ता अभियानले कुष्ठरोग नियन्त्रण र उन्मूलनतर्फ ठोस योगदान पुर्‍याउनेछन्,” भने ।

    घरदैलो अभियानमार्फत कुष्ठरोगका कारण, लक्षण, उपचार र सामाजिक विभेद अन्त्य गर्ने उपायबारे जानकारी गराइनुका साथै शंका लागेका व्यक्तिहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले दीर्घकालीन रूपमा स्वस्थ, सचेत र विभेद–मुक्त समाज निर्माणमा योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरेका छन् ।

  • दमकमा मेची महाकाली बुहारी संयुक्त आवाजको छैठौं स्थापना दिवस, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण

    दमकमा मेची महाकाली बुहारी संयुक्त आवाजको छैठौं स्थापना दिवस, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण

    भदौ १९, दमक / मेची महाकाली बुहारी संयुक्त आवाजले आफ्नो छैठौं स्थापना दिवस विशेष सामाजिक कार्यक्रमसहित मनाएको छ। झापाको दमक–९ स्थित दिपज्योति उराउटोलमा आयोजित कार्यक्रममा २० विपन्न परिवारलाई खाद्यान्नसहित लत्ताकपडा वितरण गरिएको हो।

    कार्यक्रममा प्रमुख अतिथि दमक–९ का वडा अध्यक्ष कुबेर प्रसाद भट्टराईले महिलाहरु पुरुष सरह सामाजिक जिम्मेवारी पूरा गर्न सक्षम रहेको उदाहरण प्रस्तुत भएको भन्दै संस्थाको कार्यप्रति प्रशंसा गर्नुभयो। उहाँले समाज सुधार र सहयोगका कार्यमा महिलाहरु सक्रिय रूपमा लाग्नु सकारात्मक कदम भएको टिप्पणी गर्नुभयो।

    केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले संस्थाले कुनै बाह्य आर्थिक सहयोग नलिइ सदस्यहरुको सानो–सानो योगदानबाटै सामाजिक कार्य गर्दै आएको जानकारी दिनुभयो। घरभित्र मात्रै सीमित हुने परम्परालाई तोड्दै समाजमा योगदान गर्ने अवसर प्रदान गर्न संस्था क्रियाशील रहेको उहाँको भनाइ थियो।

    कार्यक्रममा प्रति परिवार एक बोरा चामल, एक बोरा भुजा र एउटा साडी वितरण गरिएको थियो। कार्यक्रम संस्थाको झापा जिल्ला अध्यक्ष गंगा भट्टराई, दमक उपशाखा अध्यक्ष एलिसा ओली लगायत पदाधिकारी र सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो।

    देशभर ५६ शाखा सञ्चालनमा रहेको मेची महाकाली बुहारी संयुक्त आवाजले स्थापना कालदेखि नै थुप्रै सामाजिक गतिविधि गर्दै आएको छ। कार्यक्रम सञ्चालन दमक उपशाखा सचिव सुमन भुर्तेलले गर्नुभएको थियो।

  • शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

    शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

    भदौ १८, दमक / झापाको दमकस्थित शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ। दमक–६ स्थित पशुपति मन्दिरको सभाहालमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेमकुमार कोइराला रहनुभएको थियो।

    विशिष्ट अतिथिमा जिल्ला सहकारी सङ्घका सञ्चालक सदस्य तथा फागुनन्द सहकारी संस्थाका अध्यक्ष पदम लिम्बु, सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणि ओझा, दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी क्षेत्रलाई तीन खम्बे अर्थनीतिको आधार स्तम्भको रूपमा सरकारले स्वीकार गरिसकेको बताउनुभयो। उहाँका अनुसार सहकारीमार्फत बचत परिचालन, लगानी अभिवृद्धि तथा ग्रामीण विकासमा संयोजनकारी भूमिका निर्वाह गर्ने लक्ष्यसहित सहकारीलाई सुदृढीकरण गर्ने नीति लिइएको छ।

    लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक विवेक मैनालीले आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल खर्च ३ करोड ८२ लाख २४ हजार ६ सय ५१ रुपैयाँ ६८ पैसा, कुल आम्दानी ४ करोड ४ लाख ५५ हजार ४ सय २९ रुपैयाँ ३० पैसा र खुद नाफा १२ लाख १५ हजार ५ सय ६८ रुपैयाँ ५१ पैसा रहेको जानकारी दिनुभयो। यसै वर्षमा संस्थाको सेयर पुँजी ३ करोड ८ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको पनि बताइयो।

     

    सभामा उत्कृष्ट कारोबारकर्ता ६८ जना, जेष्ठ सदस्य बचतकर्ता २८ जना तथा उत्कृष्ट बाल बचतकर्ता ४५ जना गरी जम्मा १४१ जनालाई दोसल्ला, प्रमाणपत्र, ब्याग र नगदसहित सम्मान गरिएको थियो।कार्यक्रम सचिव तीर्थराज चाम्लिङ राईको सञ्चालनमा अध्यक्ष तेजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

  • सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

    सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

    दमक, भाद्र १९ / काठमाडौंको सातदोबाटोमा भाद्र १२, १३ र १४ गते सम्पन्न चौथो NTA लिग च्याम्पियनसिपमा दमक तेक्वान्दो डोजाङकी छात्रा सेमिना राईले पुम्से विधातर्फ कास्य पदक जितेकी छन्।

    यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै बुधबार झापाको दमकमा आयोजित विशेष कार्यक्रममा सेमिना राईलाई सम्मान गरिएको हो।
    कार्यक्रममा दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले खेलजीवनमा अझ बढी मेहनत र निरन्तर प्रशिक्षण आवश्यक रहेको बताउँदै विद्यार्थीहरूलाई आगामी प्रतिस्पर्धामा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गरे।

    सम्मान समारोह सर्वोदय इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा सम्पन्न भएको थियो। कार्यक्रममा हाम्रो सरोकार डट नेटका सञ्चालक अनिल देव राई, दमक तेक्वान्दो डोजाङका उपाध्यक्ष नवीन योगी, विद्यार्थीहरू को उपस्थित रहेको थियो। दमक तेक्वान्दो डोजाङले विगत केही वर्षदेखि दमकका चार विद्यालयमा करिब १५० विद्यार्थीलाई नियमित प्रशिक्षण दिंदै आएको छ।

  • इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल स्थगित गर्न एमाले सांसद नेम्वाङको माग

    इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल स्थगित गर्न एमाले सांसद नेम्वाङको माग

    भदौ १८ , काठमाडौँ / नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य तत्काल स्थगन गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेम्वाङले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दा जनतालाई अनावश्यक आर्थिक भार र झन्झट थपिएको भन्दै यसको औचित्यमाथि प्रश्न उठाए ।

     

    उनले हजारौँ नागरिकले वर्षौँ कुर्नुपर्दा पनि लाइसेन्स पाउन नसकेको, कर तिर्न दिनभर लाइनमा बस्नुपरेको अवस्थामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिनु जनविरोधी भएको तर्क गरे । “सवारी प्रयोग गर्ने आम जनतामाथि पहिले नै धेरै भार छ । गाडी किन्दा उच्च कर, हरेक वर्ष अनिवार्य बिमा, सडक कर तिर्न लामो लाइन र लाइसेन्स बनाउन फार्म, परीक्षा र लामो प्रतीक्षा । यस्तो अवस्थामा इम्बोस्ड नम्बर प्लेट किन अनिवार्य गरिँदै छ ?” उनले प्रश्न गरे ।

     

    नेम्वाङले नम्बर प्लेट अंग्रेजीमै हुनुपर्ने प्रावधानमाथि पनि आपत्ति जनाए । उनले आम जनताले भाषा र भावनासँग जोडेर यस विषयमा प्रश्न उठाइरहेको बताए । “जनताले हाम्रो भाषा र भावनासँग जोडेर पनि प्रश्न उठाएका छन् । अंग्रेजीमै किन हुनुपर्‍यो ?” उनले थपे ।

     

    इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन तत्काल स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधि र चेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढ्न उनले सरकारलाई आग्रह गरे ।

  • कमल–५ स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

    कमल–५ स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

    भदौ १८, कमल / कमल गाउँपालिका–५ मा रहेको स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा बुधबार एकदिने नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। विद्यालयको आयोजनामा एन्जल फाउन्डेशनको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा पाईल्स, फिस्टुला, फिसर, मलद्वार दुख्ने, पोल्ने, चिलाउने, कब्जियत, मासु पलाउने, मलद्वारबाट रगत आउने लगायतका समस्या सम्बन्धी उपचार तथा ल्याब सेवा उपलब्ध गराइएको थियो।

     

    स्मारिका सामुदायिक बोर्डिङ स्कूलका फाउन्डर प्रिन्सिपल गुणराज गिरीका अनुसार विद्यालयले विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै स्वास्थ्यसँगै शिक्षामा पनि चासो देखाउँदै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। शिविर प्रमुख प्रकाश राजवंशीले देशको कुल जनसंख्याको झण्डै दुई करोड मानिसमा गुप्त रोगसम्बन्धी समस्या देखिने भएकाले एन्जल फाउन्डेशनले विद्यालय, सहकारी तथा लघुवित्त संस्थामा यस्ता स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

     

    कार्यक्रममा सहभागी अभिभावक युवराज कार्की र वृन्दाप्रसाद आचार्यले टाढा नगइ विद्यालयमै सहज रूपमा स्वास्थ्य सेवा पाएकोमा खुसी व्यक्त गर्नुभयो।यस शिविरमा करिब ३५ जना अभिभावक तथा विद्यार्थीले स्वास्थ्य सेवा लिएका थिए। साथै, उपचारका लागि एन्जल फाउन्डेशनले ५० प्रतिशत छुटको व्यवस्था गरेको थियो।सन् २०६६ सालमा स्थापना भएको स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा हाल ९०० विद्यार्थी अध्ययनरत छन्।