Blog

  • सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

    सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

    जेठ ८, दमक / झापाको दमक नगरपालिका–८ स्थित कस्मिक पार्टी प्यालेसको सभाहलमा आयोजित कार्यक्रममा हर्कराज राई ले श्रम संस्कृति पार्टी अन्य दलभन्दा फरक रहेको बताएका छन्।

    श्रम संस्कृति पार्टी दमक नगर समितिको आयोजनामा तथा नगर सभा अध्यक्ष पुजालक्ष्मी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै राईले “श्रम संस्कृति पार्टी भनेको पसिना बगाउने र परिश्रम गर्नेहरूको पार्टी हो” भन्दै श्रमदानमार्फत समाज परिवर्तनको अभियान अगाडि बढिरहेको बताए।

    उनले स्थानीय तह निर्वाचनमा पार्टीले जित हासिल गर्न सके विकास निर्माणमा प्रत्यक्ष योगदान रहने र जित्न नसके पनि श्रमदानमार्फत जनताको सेवामा निरन्तर लागिरहने धारणा व्यक्त गरे। श्रमदानलाई पर्यटनसँग समेत जोड्दै उनले दार्चुलालगायत विभिन्न स्थानमा पुगेर श्रमदान गर्दा नयाँ ठाउँको वातावरण र समाज बुझ्ने अवसर प्राप्त हुने बताए।

    कार्यक्रममा बोल्दै राईले सुकुम्बासी बस्तीमाथि सरकारले आतंक मच्चाइरहेको आरोप लगाउँदै त्यसप्रति श्रम संस्कृति पार्टीको घोर आपत्ति रहेको बताए। उनले सरकारले गरिब, निमुखा, असहाय तथा पीडित जनताको पक्षमा बोल्न नसकेको आरोप लगाउँदै श्रम संस्कृति पार्टी मात्रै गरिबको आवाज उठाउने पार्टी भएको दाबी गरे।

    उनले अन्य पार्टीहरू धनी वर्ग केन्द्रित भएको टिप्पणी गर्दै श्रम संस्कृति पार्टीले जनताको समस्या समाधान गर्न सरकारलाई समेत दबाब दिने बताए। आगामी निर्वाचनमा श्रम संस्कृति पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्नुपर्ने धारणा राख्दै उनले विभिन्न पार्टी त्यागेर मात्रै देश परिवर्तन नहुने, प्रत्येक व्यक्तिमा “हर्क साम्पाङ जस्तो सोच” आवश्यक रहेको उल्लेख गरे।

    देश विकासका लागि पूर्वदेखि पश्चिमसम्म समान रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सरकारले ऋणमाथि ऋण थपिरहेको भन्दै चिन्ता व्यक्त गरे। साथै गरिब, दुःखी तथा पीडित जनताका राजनीतिक, सामाजिक र सांस्कृतिक मुद्दा उठाउन श्रम संस्कृति पार्टी सक्षम बन्नुपर्ने बताए।

  • सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

    सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

    जेठ ७, दमक / झापाको दमक निवासी अञ्जु लिम्बुले सानै उमेरदेखि व्यवसायप्रति रुचि राख्दै आज सफल युवा व्यवसायीको रूपमा आफूलाई स्थापित गर्न सफल भएकी छन्। हाल २३ वर्ष पुगेकी अञ्जुले २० वर्षको उमेरमै व्यवसाय सुरु गरेकी थिइन् भने उनको व्यवसाय सञ्चालन गरेको तीन वर्ष पूरा भएको छ।

    दमक–६ मा सञ्चालनमा रहेको उनको पसलमा ग्राहकहरूले सस्तो तथा भरपर्दो मूल्यमा विभिन्न प्रकारका चाइनिज र कोरियन सामानहरू पाउने गरेका छन्। विशेषगरी युवापुस्तामाझ लोकप्रिय जिन्सका आइटम, नेकलेस, रिङ, बंगल्स, सनग्लास, परफ्युम लगायत लेडिज एक्सेसरिजका सामग्रीहरू उपलब्ध छन्।

    त्यस्तै विभिन्न डिजाइनका इयररिङ, बोतल रिङ तथा महिलाहरूलाई आवश्यक पर्ने सम्पूर्ण फेसन सामग्रीहरू पसलमा पाइने अञ्जुले बताइन्।५ लाख रुपैयाँ लगानीबाट सुरु गरिएको उक्त व्यवसायले अहिले मासिक करिब लाख रुपैयाँ बराबरको आम्दानी गरिरहेको अञ्जुको भनाइ छ।

    विदेश जानुभन्दा स्वदेशमै मेहनत गरेर पनि राम्रो आम्दानी गर्न सकिने उदाहरण आफूले प्रस्तुत गर्न खोजेको उनले बताइन्। अञ्जुको मेहनत र सफलताले अहिलेका युवापुस्तालाई आत्मनिर्भर बन्न प्रेरणा दिइरहेको छ। सानै उमेरमा व्यवसायिक यात्रामा होमिएकी उनी अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बन्दै गएकी छन्।

  • सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

    सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

    जेठ ७, दमक / झापाको दमक–२ स्थित मानव उदार सेवा आश्रममा पहिलो पाइला नेपाल दमक शाखाकी सक्रिय सदस्य रक्षा पाण्डे ले आफ्नो जन्मदिनको अवसर पारेर आश्रममा आश्रित मानवहरूसँग खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरण गर्दै जन्मदिन मनाएकी छन्। उनले आश्रमलाई दुई बोरा चामल, चिनी, चिउरा, तेल, बिस्कुट, फिनेल लगायतका आवश्यक सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेकी हुन्। आफ्नो व्यक्तिगत खुशीलाई मानव सेवासँग जोड्दै रक्षा पाण्डेले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रशंसनीय कार्य गरेकी छन्।

    मानवता, सहयोग र सेवाभाव नै जीवनको वास्तविक सुन्दरता हो भन्ने उदाहरण प्रस्तुत गर्दै गरिएको यस कार्यले सबैलाई प्रेरणा दिने विश्वास गरिएको छ।यस अवसरमा आश्रम सञ्चालक सुमन श्रेष्ठ ले रक्षा पाण्डेलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यक्रम अझ बढ्दै जाओस् भन्ने शुभकामना दिएका थिए।

    कार्यक्रममा पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, उपाध्यक्ष लबराज खडका, सचिव पुजा दाहाल, कमला पाण्डे लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

  • जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

    जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

    जेठ १०, दमक / दमक नगरपालिका वडा नं ७ ले आर्थिक वर्ष २०८२ /०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । वडा कार्यलयको आयोजित सो कार्यक्रमको अध्यक्षता वडाअध्यक्ष भीम प्रसाद पौडेलले गरेका थिए भने प्रमुख अतिथीका रुपमा दमक नगरपालिका प्रमुख रामकुमार थापा थिए ।

    यस्तै प्रमुख प्रशासकीय अधिृकत सुनिल निरौला, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीलगायत विभिन्न संघसंस्थाका प्रमुखहरु, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधिलगायतको आतिथ्यता रहेको सो कार्यक्रममा वर्षभरि वडाले गरेका कामहरुको फेहरिस्ता प्रस्तुत गरिएको थियो । वडा नं ७ को आयोजना तथा नेक्सट मिडिया प्रा.लि. दमकको संयोजन तथा सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    सो कार्यक्रमलाई स्वागत सम्बोधन गर्दै वडासदस्य अतित बान्तवा राईले वर्ष भरि गरेका कामहरु शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत हरेक क्षेत्रलाई आधार बनाएर विकास निर्माण गरेका कामहरु आम दमकबासीलाई सुनाउन लोकतन्त्रको कडीका रुपमा रहेको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको बताए । कार्यक्रममा वडासचिब योगेश भट्टराईले चालु आर्थिक वर्षभरिमा सम्पादन भएका गतिविधि प्रस्तुत गरेका थिए ।

    जसअन्र्तगत यसबर्ष वडामा १ करोड २२ लाख रुपैया बजेट बिनियोजन भएकोमा भदौमा भएको जेनजी आन्दोलनले १० प्रतिषत बजेट कटौती भयो । तत्पश्चात रहेको १ करोड १० लाख रुपैयामध्ये ४७ प्रतिषत बित्तिय प्रगति र ९५ प्रतिषत प्रगती भएको छ ।

    राजश्वतर्फ ७३ लाख ९३ हजार रुपैया संकलन भएको उनले बताए । उक्त कार्यक्रममा सार्वजनिक सुनुवाईमा २७ वडाका टोलबासीको सहभागिता रहेको थियो । जसमध्ये १५ जना सहभागिले वडामा रहेको विकास निर्माण, फोहोरमैला, कार्यसम्पादन लगायतका प्रश्न गरेका थिए । त्यसको जबाफ नगर प्रमुख रामकुमार थापा र वडाध्यक्ष भीम प्रसाद पौडेलले दिएका थिए ।

  • दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

    दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

    जेठ ३, दमक / झापाको दमक उद्योग वाणिज्य संघले संघका निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुनः निर्वाचित भएको अवसरमा विशेष सम्मान गरेको छ। दमकमा आयोजित सम्मान कार्यक्रममा श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। संघले निजी क्षेत्रको सुदृढीकरण, उद्योग–व्यवसायको प्रवर्द्धन तथा व्यवसायीहरूको हकहित संरक्षणमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको जनाएको छ।

    कार्यक्रममा बोल्दै संघका पदाधिकारीहरूले गोकुल श्रेष्ठले दमक उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्दा व्यवसायिक वातावरण सुधार, उद्यमशीलताको विकास तथा स्थानीय व्यवसायीहरूको समस्यालाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।

    उहाँ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुनः निर्वाचित हुनु दमकसहित समग्र पूर्वी क्षेत्रका व्यवसायीहरूका लागि गौरवको विषय भएको वक्ताहरूले उल्लेख गरे। निजी क्षेत्रका मुद्दालाई राष्ट्रिय स्तरमा प्रभावकारी ढंगले उठाउँदै व्यवसायीहरूको आवाज बुलन्द बनाउन उहाँले निरन्तर सक्रिय भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरिएको थियो। सम्मान कार्यक्रममा बोल्दै गोकुल श्रेष्ठले आफूलाई पुनः जिम्मेवारीसहित विश्वास गरेकोमा व्यवसायी समुदायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा उद्योगी–व्यवसायीको हकहित, लगानीमैत्री वातावरण निर्माण तथा आर्थिक गतिविधि चलायमान बनाउन अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो।

    उहाँले स्थानीय उद्योग–व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा निजी क्षेत्र र सरकारबीच सहकार्य विस्तार गर्न आवश्यक रहेको धारणा राख्नुभयो। सम्मान कार्यक्रममा संघका वर्तमान पदाधिकारी, पूर्वअध्यक्षहरू, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले गोकुल श्रेष्ठको पुनः निर्वाचित सफलताले दमक क्षेत्रको व्यवसायिक प्रतिष्ठा अझ उचो बनाएको बताएका थिए।

  • दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

    दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

     

    जेठ ६, दुधे / दुधेमा आजदेखि चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ सुरु भएको छ। दुधे भेट्रानको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा झापा ११ फुटबल क्लब का अध्यक्ष जल कुमार गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। उद्घाटन खेलमा पुर्वेली भेट्रानले प्रकाशपुर भेट्रानलाई ५–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। खेलभर दबाबमा राखेको पुर्वेली भेट्रानका खेम पोख्रेलले व्यक्तिगत चार गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। उनले ११औं, १६औं, २८औं र ५१औं मिनेटमा गोल गरेका थिए। टोलीका लागि अर्को गोल सन्तोष राईले खेलको तेस्रो मिनेटमै गरेका थिए।

    प्रकाशपुर भेट्रानका तर्फबाट टीका कटुवालले १९औं मिनेटमा सान्त्वना गोल फर्काए। उत्कृष्ट प्रदर्शन गरेका खेम पोख्रेल खेलको म्यान अफ दि म्याच घोषित भए। उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख सुभाष केसी तथा शिवसताक्षी–११ का वडा अध्यक्ष बहादुर आङ्बो लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताको विजेताले नगद रु. १ लाख ५१ हजार तथा उपविजेताले रु. ८१ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। भोली हुने खेलअन्तर्गत आयोजक दुधे भेट्रान (बि) ले कनकाई भेट्रानसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को खेलमा पथरी शनिश्चरे भेट्रान र बिर्तामोड भेट्रान आमनेसामने हुनेछन्।

  • दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

    दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

    जेठ ६, दमक / झापाको दमकमा नयाँ स्वाद र आकर्षक वातावरणसहित ‘63 Waffle Station’ सञ्चालनमा आएको छ। दमक–६ स्थित फुच्चे रेस्टुरेन्ट अगाडि मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको उक्त स्टेशनले स्वादिष्ट वाफल, बबल टी तथा विभिन्न चिसो पेय पदार्थ उपलब्ध गराउँदै युवापुस्तामाझ विशेष आकर्षण बढाइरहेको छ। स्टेशनको उद्घाटन विद्यार्थी नेता तथा युवा व्यवसायी जितेन साम्पाङ राईले रिबन काटेर गर्नुभएको थियो। बिविसा थापा र सनिया सुहाङको संयुक्त लगानीमा सञ्चालनमा आएको ‘63 Waffle Station’ छोटो समयमै ग्राहकहरूको रोजाइ बन्न थालेको बताइएको छ।

    सञ्चालिका सनिया सुहाङ का अनुसार स्टेशनमा परिवार तथा साथीभाइसँग बसेर मिठो परिकारको स्वाद लिन सकिने वातावरण तयार गरिएको छ। करिब दुई लाख रुपैयाँ बराबरको लगानीमा सञ्चालनमा ल्याइएको उक्त स्टेशनमा विभिन्न प्रकारका स्वादिष्ट वाफल, बबल टी तथा चिसो पेय पदार्थ पाइने व्यवस्था गरिएको छ। नयाँ स्वाद, आधुनिक प्रस्तुति र आकर्षक वातावरणका कारण दमकका युवाहरूबीच ‘63 Waffle Station’ लोकप्रिय बन्दै गएको सञ्चालक बिविसा थापाले बताउनुभयो ।