दर्पण कला संसारद्वारा तीजको अवसरमा महिलाहरूको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

निशान निराैला – भदौ ३ , झापा / झापाको दक्षिणी भेगमा स्थापित दर्पण कला संसारले तीजको उपलक्ष्यमा महिलाहरूको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न गरेको छ। कला, साहित्य र अभिनयको क्षेत्रमा सक्रिय यो संस्थाले पछिल्ला दिनमा विविध कार्यक्रम गर्दै आएको छ।

आधिकारिक रुपमा दर्ता भएको दुई वर्षको अन्तरालमै यस संस्थाले धेरै गतिविधि सम्पन्न गरिसकेको छ। गत वर्ष तीजकै अवसरमा स्थानीय महिलालाई अवसर दिँदै तीज म्युजिक भिडियो निर्माण गरेको थियो भने, लागुऔषध न्यूनीकरणको उद्देश्यसहित “परिणाम” नामक छोटो चलचित्र पनि निर्माण गरेको थियो। सो चलचित्रको निर्देशन हरि बस्नेत ‘डिके’ ले गरेका हुन् भने सहनिर्देशन भुवन खड्का लगायतको टिमले गरेको थियो। उक्त चलचित्र यही भाद्र १३ गते नगरपालिकाको सवालबाट सार्वजनिक प्रदर्शन गर्ने तयारी गरिएको अध्यक्ष प्रेमलावतीले जानकारी दिइन्।

यसै सन्दर्भमा महिलाहरूलाई हरितालिका पर्वमा एक सूत्रमा बाँध्ने उद्देश्यले संस्थाले वडास्तरीय खुल्ला नृत्य प्रतियोगिता सम्पन्न गरेको हो। प्रतियोगितामा वडानं ५ को मनकामना समूह प्रथम, वडा नं ३ को जनचेतना महिला समूह द्वितीय, र वडा नं १ को पारिजात कीर्तन मण्डली तृतीय स्थान हासिल गर्न सफल भए।

कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख जलवर्षा राजवंशी थिइन्। विभिन्न वडाध्यक्ष, संघसंस्थाका प्रतिनिधि, सामाजिक एवं बौद्धिक व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो।

कार्यक्रम सञ्चालन संस्थाका सचिव भुवन खड्का र सदस्य निर्मला रिमालले गरेका थिए। स्वागत नृत्यमा संस्थाकी कोषाध्यक्ष गंगा खड्का, सदस्यहरू मिना बराल, अनुजा काफ्ले सुवेदी र लक्ष्मी थापाले प्रस्तुति दिएका थिए। साथै अतिथि सम्मानको लागि स्वयंसेवाको भूमिकामा लक्ष्मी चिमरिया कुमारी बस्नेत स्मिता अधिकारी रहेका थिए।

निर्णायकको भूमिकामा खगेन्द्र न्यौपाने र देबु निरौलाले नृत्य प्रदर्शन मूल्यांकन गरेका थिए भने, युवराज खड्का र पूजा निरौलाले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। गौरादह वडा नं ३ स्थित दशमी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रम सुव्यवस्थित र मर्यादित तरिकाले सम्पन्न भएको संस्थाका सदस्य हरि बस्नेत ‘डिके’ ले बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *