निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फागुन १६, झापा । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं.–५ मा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
फागुन १६ गते दमकको सङ्गम स्विटस्थित पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ति जारी गर्दै विज्ञप्तिमार्फत पार्टीको मूल निर्वाचन परिचालन समिति, क्षेत्र नं.–५ ले निर्वाचन आचारसंहिता विपरीत गतिविधि भइरहेको आरोप लगाएको हो। विज्ञप्तिमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको दाबी गरिएको छ।
विज्ञप्तिमा सत्ता र शक्तिको आडमा बजेट, योजना तथा विभिन्न प्रलोभन बाँडफाँड गरी निर्वाचन परिणाम प्रभावित पार्ने प्रयास भइरहेको आरोप लगाइएको छ। साथै, चुनाव उत्कर्षतर्फ जाँदै गर्दा विभिन्न सञ्चारमाध्यममार्फत तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण गरी मतदातामा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गरिएको छ।
पार्टीका तर्फबाट निर्वाचन परिचाल समितिका संयोजक सुरेन्द्र बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तिमा यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षसँग माग गरिएको छ। साथै निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।
त्यस्तै, कमल गाउँपालिकामा पत्रकार अर्जुन आचार्य माथि भएको भनिएको दुर्व्यवहारप्रति पनि पार्टीले आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। नेकपाका उम्मेदवार रन्जित तामाङले लोकतान्त्रिक मूल्य–मान्यताअनुसार चुनावी प्रक्रिया अघि बढाउन आग्रह गर्दै मतदातालाई विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *