राजेन्द्र लिङ्देनको प्रस्ताव : ‘राष्ट्रपतिको ठाउँमा राजा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आवश्यक’

हेटौंडा, मकवानपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राष्ट्रपतिको स्थानमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।

राप्रपा मकवानपुरद्वारा हेटौंडाको एभोकाडो होटलमा आयोजित भेटघाट तथा अगुवा कार्यकर्ता कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले वर्तमान शासन प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै यस्तो व्यवस्था राष्ट्रको समृद्धि र स्थायित्वका लागि जरुरी भएको धारणा राखे।

उनका अनुसार लोकतान्त्रिक प्रवृत्तिका रूपमा ‘राजा र कार्यकारी प्रधानमन्त्रीको समावेशी संयोजन’ नै देशलाई सही दिशामा अघि बढाउने माध्यम बन्न सक्छ। लिङ्देनले भने, “राष्ट्रपतिको भूमिका तटस्थ रहनुपर्ने हो भने, देशलाई समृद्धि र प्रजातान्त्रिक दृष्टिकोणबाट अघि बढाउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र सशक्त राजा प्रणाली आवश्यक छ।”

कार्यक्रममा उपस्थित राप्रपाका अगुवा कार्यकर्ताहरूले पनि लिङ्देनको विचारमा सहमति जनाउँदै आगामी दिनमा यस विषयमा थप छलफल र अभियान सञ्चालन गर्ने तयारी भएको बताएका छन्।

भेटघाट कार्यक्रममा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिक दिशाबारे पनि विस्तृत छलफल गरिएको र विभिन्न सुझावहरू संकलन गरिएको जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *