शिवसताक्षी दुधेमा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता कात्तिक १५ देखि

झापा, १५ साउन / झापाको शिबसताक्षीको दुधेमा अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट महिला फुटबल प्रतियोगिता हुने भएको छ । दूधेस्थित रंगशालामा कार्तिक १५ देखि २२ गतेसम्म अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको हो ।

झापा महिला गोल्ड कपले आयोजना गरेको अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताका बारेमा आज दुधेमा पत्रकार सम्मेलन गरेको छ । महिला फुटबलको विकास, प्रवर्द्धन र ग्रामीण क्षेत्रका महिला खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक संस्था झापा महिला गोल्ड कपले जनाएको छ ।

नेपालमै सर्वाधिक पुरस्कार राशीको तयारी प्रतियोगिताको विजेता टिमलाई नेपालमै सर्वाधिक पुरस्कार राशी प्रदान गरिने आयोजकको तयारी छ । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक तथा हरेक खेलको प्लेयर अफ दी म्याचलाई नगदसहित ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगितामा आयोजकको एक टिमसहित नेपालका तीन विभागीय टिम (नेपाल आर्मी, नेपाल एपीएफ, नेपाल पुलिस), भारत र भुटानबाट एक–एक टिम तथा नेपालकै ए डिभिजनका दुई टिम गरी कुल आठ टिमको सहभागिता रहने आयोजनले जनाएको छ । यद्यपी अहिले पुरस्कार राशी कति हुने भन्ने खुलाइएको छैन ।

आयोजकको अनुसार नेपालमा सञ्चालित महिला गोल्डकपमा राखिने गरेको राशी भन्दा माथि हुने जनाएको छ । आयोजकले अब फेरी गरिने पत्रकार सम्मेलनमा पुरस्कार राशी खुलाइने जनाएको छ ।

दुधे रंगशालाको स्तरोन्नति, अत्याधुनिक प्याराफिट निर्माण र मैदान तयारीसहित प्रतियोगिता सञ्चालनमा करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। अन्तराष्टिय आमन्त्रण महिला फुटबल प्रतियोगितालाई भव्य र सफल बनाउन उद्योगी, व्यवसायी, व्यापारी महासंघ, पत्रकार तथा मिडिया हाउसहरूको सहकार्यको अपिल गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *