दमक / झापाको दमक नगरपालिका–४ मा शनिबार भएको सवारी दुर्घटनामा एक साइकल यात्रीको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत दमक–४ चियाबगान नजिकै बिहान करिब ६:४५ बजे उर्लाबारीतर्फबाट दमक आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट ताराबारी जाँदै गरेका साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका साइकल यात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा बिहान साढे सात बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न बस र बस चालक मकवानपुर हेटौडा–७ का ४७ वर्षीय राजेन्द्र गौतमलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।