दमक / सुनसरीबाट प्रहरीले बिहीबार दिउँसो ३ सय किलोग्राम गाँजा बरामद गरेको छ । रामधुनी नगरपालिका–७ क्वाटर डाँडास्थित बाँसको झ्याङबाट गाँजा बरामद भएको हो ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दिउँसो १२ः३० बजेतिर गाँजा भेटिएको थियो । बाँस झ्याङमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारिएको उनको भनाइ छ ।गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन अस्थायी प्रहरी पोष्ट पञ्चायन र इलाका प्रहरी कार्यालय पकलीबाट संयुक्त टोली खटिएको थियो । कालो प्लाष्टिकले बेरिएको १० पोका गाँजा प्रहरीले फेला पारेको हो ।
तौल लिँदा ३ सय किलोग्राम भएको छ । गाँजा कसले लुकाएर राखेको हो भन्ने यकिन छैन । बरामद भएको गाँजालाई इलाका प्रहरी कार्यालय पकलीमा ल्याएर राखिएको छ । यस विषयमा इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।