साउन, १९ दमक / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बोर्डले नतिजा सार्वजनिक गरेको हो ।यस वर्ष कुल ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । जस मध्ये ६१ दशमलव १७ प्रतिशत उत्तिर्ण भएका छन् भने १३ हजार ५ सय ३ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् ।
त्यस्तै ३.६० GPA ल्याउने ५५ हजार ८ सय ९६ जना, ३ दशमलव २० GPA ल्याउने ९४ हजार २ सय ६८ जना, २ दशमलव ८० GPA ल्याउने ६९ हजार ८ सय १२ जना, २ दशमलव ४९ GPA ल्याउने ८ हजार ९ सय ६४ जना र २ GPA ल्याउने २३ जना रहेका छन् ।
यसपटक अनुत्तीर्ण हुने अथवा एनजी ल्याने १ लाख ५३ हजार ८ सय ८२ जना रहेका छन् । सबै भन्दा बढि एनजी अंग्रेजी विषयमा ६६ हजार २ सय ७५ जनाले ल्याएका छन्। सोमबार बोर्डले नतिजा सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महाश्रम शर्माले नियमित तर्फ ११ र आंशिक तर्फ ६ जना गरी कुल जम्मा १७ जनाको परीक्षाफल रद्द गरिएको जानकारी दिनुभयो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आगामी भदौ २८ र २९ गते पूरक परीक्षा(ग्रेड वृद्धि) हुनेछ । गत वैशाख २१ गते देखि सञ्चालन गरिएको परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए । त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।