भदौ ९, झापा / हिन्दू नारीको महान चाड तीज परम्परागत रूपमा भक्ति, माया र संस्कृतिको अभिव्यक्तिका साथ मनाइँदै आएको थियो । अघिल्ला पुस्तामा तीजलाई चेलीबेटी भेटघाट, दर खाने, शिवपूजा गर्ने र आफ्ना पीडा–वेदना गीतमार्फत पोख्ने अवसरका रूपमा लिइन्थ्यो । गीतमा परिवारप्रतिको समर्पण, माइतीको सम्झना र सामाजिक सन्देश झल्किने गर्थ्यो ।
तर पछिल्ला वर्षमा भने तीजको स्वरूप फेरिँदै गएको देखिन्छ । तडकभडक, होटल–रेस्टुरेन्टमा पार्टी, आधुनिक पोशाक प्रदर्शन, अश्लील गीत र नाचगानले यसको मौलिकता ओझेल पार्दै लैजाँदैछ भन्ने आलोचना बढेको छ । महिनौँअगावैदेखि दर खाने, बार–रेस्टुरेन्टमा रमाइलो गर्ने र तीजका गीतलाई बजारमुखी बनाउने प्रवृत्तिले तीज साँस्कृतिक उत्सव हो कि विकृत मनोरञ्जन भन्ने बहस खडा भएको छ ।
सामाजिक सञ्जालदेखि बौद्धिक बहससम्म तीजको यो रूपान्तरणबारे मिश्रित प्रतिक्रिया आइरहेका छन् । एकातिर नयाँ पुस्ताले यसलाई रमाइलो र मनोरञ्जनको माध्यमका रूपमा लिइरहेका छन् भने अर्कोतिर परम्परा र संस्कृतिको जगेर्ना गर्नुपर्ने आवाज पनि उच्च रूपमा उठिरहेको छ ।