भदौ ७, दमक / दमक–१० स्थित रोजमेरी पब्लिक स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा महिलाहरूको महिनावारीसम्बन्धी पाठेघर तथा स्तन क्यान्सर जाँच, मुटुको ईसीजी परीक्षण, फिजिसियन परामर्शलगायतका सेवा उपलब्ध गराइएको थियो । स्थानीय बासिन्दाले उक्त सेवाबाट लाभ उठाएका छन् ।
कार्यक्रमले स्वास्थ्यप्रति सचेतना जगाउने तथा नियमित परीक्षण गर्न प्रेरित गर्ने उद्देश्य बोकेको क्लब हिमालयन टाइगरका अध्यक्ष रेवतराज भण्डारीले बताएका छन् । “स्वस्थ रहौँ, व्यस्त रहौँ, मस्त रहौँ” भन्ने मूल नारासहितको यस स्वास्थ्य शिविरले स्थानीयस्तरमा स्वास्थ्य सचेतना अभियानलाई नयाँ उचाइमा पुर्याएको सहभागीहरूको भनाइ छ ।
शिविरको आयोजना क्लब हिमालयन टाइगर अफिसियल, संगम स्पोर्टिङ्ग क्लब दमक–१०, र रोजमेरी पब्लिक स्कुल दमक–१० ले गरेका हुन् । कार्यक्रममा प्राविधिक सहयोग भने B&C Hospital र पूर्वाञ्चल क्यान्सर अस्पतालले प्रदान गरेका थिए ।
स्थानीयले यस्ता सामाजिक–स्वास्थ्यमुखी कार्यक्रमहरूलाई अझै निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।