दमक, १२ भाद्र २०८२ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकारले समृद्धिको यात्रालाई गति दिएको दाबी गरेका छन्। बिहीबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री दाहालले विकास र समृद्धिका लागि यो गठबन्धन कायम रहने विश्वास व्यक्त गरे।
उनले देशमा केही भएन भन्नेहरु नागरिकमा भ्रम छर्ने काममा लागेको आरोप लगाउँदै सरकार ठोस योजनासहित अघि बढिरहेको स्पष्ट पारे।
यसअघि मन्त्री दाहालले दमकस्थित सडक डिभिजन परिसरमा निर्माण सम्पन्न भएको सडक आयोजना कार्यालय भवनको उद्घाटन गरेका थिए। काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) अन्तर्गत निर्माण गरिएको उक्त कार्यालय ८ करोड ७ लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा मन्त्री दाहालले निर्धारित समयमै सडक विस्तारका काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। योजना प्रमुख सुनिलबाबू पन्तका अनुसार आयोजना सम्पन्न भएपछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिनेछ।
कार्यक्रममा सडक विभागका महानिर्देशक डा. विजय जैशी, एडीबी परियोजना प्रमुख चुडाराज ढकाललगायत विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। प्रेस चौतारी झापाका उपाध्यक्ष राजु पोख्रेलको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटको सञ्चालन कोषाध्यक्ष सरोज भट्टराईले गरेका थिए।