भदौ २५ दमक, सुजन गाैतम – झापाको दमक नगरपालिका वडा नं ५ स्थित क्याम्पस मोडबाट आमदा अस्पताल जाने बाटोमा खुकुरी प्रहार भएको छ। घटनामा दुई जना घाइते भएका छन्।
उर्लाबारी नगरपालिका वर्गाछी बस्ने २६ वर्षीय अमन मोता गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गहिरो चोट लागेको र दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ। अर्का घाइते दमक नगरपालिका वडा नं ९ बस्ने अर्जुन राई रहेका छन्, उनको अवस्था सामान्य रहेको बताइएको छ।
घाइते अर्जुन राईका अनुसार करिब आठ जनाको समूह मोटरसाइकलमा आएर क्यारमबोर्ड खेलिरहेको बेला खुकुरी प्रहार गरेका थिए। घटनामा सिरुपाते खुकुरी, बियरको बोतल र बाइकको हेल्मेट प्रयोग भएको जानकारी दिइएको छ।
खुकुरी प्रहार गर्ने मध्ये दमक नगरपालिका वडा नं ९ बस्ने सुनिल वानेन फागो (उपनाम माइला) र दमक वडा नं ९ कै सनम लिम्बुको संलग्नता खुलेको छ। सनम लिम्बुले हेल्मेटले प्रहार गरेको र उनी लागूऔषध कारोबारमा संलग्न रहेको समेत खुलेको छ। अन्य ६ जनाको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।
घटना सम्बन्धी थप अनुसन्धान गर्नका लागि Gen – Z आन्दोलनका कारणले दमकमा प्रहरीसमेत नरहेको जानकारी गर्दछौं।