झिलझिले, २८ असोज–झापाको झिलझिलेमा जारी पवन राई स्मृति तेस्रो प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगितामा ढल्क्यो जोवन भेट्रान क्लब मोरङ र रामधुनी भेट्रान क्लब सुनसरी बिजयी भएको छ ।
मंगलबार, झिलझिलेस्थित गणेमान अध्ययन प्राविधिक प्रतिष्ठानको खेलमैदानमा भएको दुई खेलमा ढल्क्यो जोवन भेट्रान क्लब मोरङ र रामधुनी भेट्रान क्लब सुनसरी बिजयी भएको हो । ढल्क्यो जोवनले दुधे भेट्रान फुटबल क्लबलाई १ बिरुद्ध २ गोल अन्तरले बिजयी भएको हो । त्यस्तैं, रामधुनी भेट्रान फुटबल क्लबले आयोजक झिलझिले भेट्रान फुटबल क्लबलाई शुन्यकोबिरुद्ध २ गोलले विजयी भएको हो ।
दुधे भेट्रान फुटबल क्लबले खेलको पहिलो हापमै पालुङ किपगनले १ गोल गर्दै टिमलाई अग्रता बनाएका थिए । तर, दोस्रो हापमा दुधे भेट्रान फुटबल क्लबले दुई गोलको सामाना गर्नुपर्यो । निकै रोमाञ्चक खेलमा ढल्क्यो जोवन भेट्रान फुटबल क्लबको तर्फबाट कुन्दन श्रेष्ठले १ गोल फर्काए । खेल समय सकिन लाग्दा ढल्क्यो जोवन भेट्रान फुटबल क्लबका प्रदिप बस्नेतले टिमका लागि दोस्रो गोल गरे ।
त्यस्तैं, यता आजै सम्पन्न दोस्रो खेलमा आयोजक झिलझिले भेट्रान फुटबल क्लबलाई सुनसरीको रामधुनी भेट्रान फुटबल क्लबले निकै कठिनका साथ जीत दर्ता गरेको छ । पहिलो हाप बराबरी खेलेको रामधुनीले दोस्रो हापको अन्तिम समयमा दुई गोल गरे । रामधुनी भेट्रानका तर्फबाट दिपेन राईले क्रमशः दुई गोल गर्दै टीमलाई जीताए । खेलको म्यान अफ द म्याच राई घोषित भए । उनले रु ५ हजार नगदसहित मायाको चिनो हात पारे ।
झिलझिले भेट्रान फुटबल क्लबका अध्यक्ष बमबहादुर राईको अध्यक्षतामा र शिबसताक्षी–८ का वडाध्यक्ष सन्त फेउदिन लिम्बू र ११ का वडाध्यक्ष बहादुर लिम्बूले पुरस्कार वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको बुधबार दुई खेल सम्पन्न हुने आयोजक झिलझिले भेट्रान फुटबल क्लबका संस्थापक तथा खेल संयोजक जसु कुलुङ राईले जानकारी दिए । संयोजक राईका अनुसार बुधबारको पहिलो खेल दमक–लखनपुर भेट्रान फुटबल क्लब र ढल्क्यो जोवन भेट्रान फुटबल क्लबबीच हुने छ भने दोस्रो खेल बिर्तामोडको चारपाने भेट्रान फुटबल क्लब र सुनसरीको रामधुनी भेट्रान फुटबल क्लबबीच हुनेछ ।
प्रतियोगिताका बिजेता क्लबले रु १ लाख १ सय ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तैं, उपबिजेता क्लबले रु ५१ हजार ११ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । भारतको १ क्लबसहित १० वटा क्लबहरुले प्रतियोगितमा सहभागिता जनाएका छन् ।
असोज २६ गते आइतबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद लालप्रसाद (एलपी) साँवाले गर्नुभएको थियो ।






