कार्तिक ९ , दमक / झापाको दमक नगरपालिका–८ सरस्वती टोलमा आइतबार आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। अर्गानिक कृषि भवन नजिक बसोबास गर्दै आएका रविन खडकाको टिनको छानो र खाँबाको संरचनामा बनेको दुई तले घरमा बिद्युत् सर्ट भएर आगलागी भएको हो।
इलाका प्रहरी कार्यालय दमकका अनुसार घरको पछाडिको कोठाबाट आगो सल्किएर केहीबेरमै नियन्त्रणबाहिर गएको थियो। आगलागीका कारण घरभित्र रहेका लत्ताकपडा, भाँडाकुडा, अन्नपात, काठपात, फर्निचर, गरगहना लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।
मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीको भनाइ छ।आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
दमक नगरपालिकाको दमकल भाद्र २४ गतेको जेन जि आन्दोलनका क्रममा क्षतिग्रस्त भई मर्मत कार्य सम्पन्न नभएकाले तत्काल आगो नियन्त्रणमा कठिनाइ भएको थियो। पछि गौरादह नगरपालिका, कमल गाउँपालिका र उर्लाबारी नगरपालिकाबाट आएका दमकल टोली तथा स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।





