कार्तिक २, दमक / भुटानी शरणार्थी शिविर (बेलडागी क्याम्प)मा आइतबार ग्लोबल फाउन्डेसन अफ अमेरिकाका संस्थापक अध्यक्ष प्रजा धिताल तथा उनको टिमलाई स्वागत तथा सम्मान गरिएको छ।
पूर्व वस्ती व्यवस्थापन समितिको आयोजनामा भएको उक्त कार्यक्रममा धिताललाई दोसल्ला, नेपाली ढाका टोपी र सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता पूर्वक्याम सचिव टि. भी. राईले गर्नुभएको थियो भने सञ्चालन मनोज राईले गर्नुभएको थियो।
ग्लोबल फाउन्डेसन अफ अमेरिकाले सन् २०२३ देखि बेलडागी क्याम्प दमक र पथरीस्थित बाल विकास केन्द्रमा स्वास्थ्य सेवा निरन्तर दिँदै आएको छ। फाउन्डेसनले स्थानीयहरूलाई निःशुल्क औषधि वितरण, महिलामुखी स्वास्थ्य सचेतना कार्यक्रम र सेनेटरी प्याड वितरणजस्ता गतिविधि गर्दै आएको छ।
कार्यक्रममा प्रमुख अतिथि प्रजा धितालले आगामी दिनमा पनि स्वास्थ्य सेवामा सहयोग निरन्तर रहने बताउँदै शिविरका लागि एम्बुलेन्स व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो।
विशिष्ट अतिथिहरूमा ग्लोबल फाउन्डेसन नेपालका अध्यक्ष भोला धिताल, राप्रपा क्षेत्र नम्बर ५ का सदस्य राजु बुढाथोकी, ग्लोबल फाउन्डेसन नेपालका सिइओ केजाङ घिसिङ, फाउन्डर मेम्बर गोविन्द कोइराला लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथिहरूले शिक्षा र स्वास्थ्य मानव जीवनका अनिवार्य पक्ष भएको बताउँदै ग्लोबल फाउन्डेसन अफ अमेरिकाले शरणार्थी समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य पूर्व व्यवस्थापन समितिका सल्लाहकार देवीदास राईले गर्नुभएको थियो। अध्यक्ष टि. भी. राईले पनि ग्लोबल फाउन्डेसनको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सो सहयोग जारी रहने अपेक्षा व्यक्त गर्नुभयो।






