माग १४ , दमक / दमक नगर प्रमुख तथा राप्रपा कोशी प्रदेश अध्यक्ष रामकुमार थापाले पछिल्ला दिनहरूमा आफूलाई लक्षित गरी भइरहेको मिडियाबाजी र दुष्प्रचारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। निर्वाचन नजिकिँदै जाँदा आफ्नो नाम जोडेर योजनाबद्ध रूपमा भ्रम फैलाउने काम भइरहेको भन्दै उनले यसलाई स्पष्ट राजनीतिक बदनियतको परिणाम बताएका छन्।
केही दिनअघि जन–जी आन्दोलनका क्रममा आफ्नो घर जलाउनेहरूले नै पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पार्टी कार्यालय बनाउन घर उपलब्ध गराएको भन्ने अभिव्यक्ति दिएको भन्दै मिडियामा गरिएको प्रचारप्रति पनि मेयर थापा असन्तुष्ट देखिएका छन्। उनले आफूले त्यस्तो अभिव्यक्ति कहिल्यै नदिएको स्पष्ट पार्दै, तथ्यविहीन र मनगढन्ते समाचारमार्फत जनतालाई गुमराहमा राख्ने प्रयास भइरहेको आरोप लगाए।
यसै सन्दर्भमा केही फेसबुक आइडीबाट आफ्नो नाम जोडेर सामग्रीहरू पोस्ट गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै उनले सामाजिक सञ्जाललाई हतियार बनाएर राजनीतिक चरित्र हत्या गर्ने प्रयास भइरहेको बताए। विगतमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहभागी भएका सार्वजनिक कार्यक्रमका तस्बिरहरू प्रयोग गरी आगामी निर्वाचनसँग जोडेर एमालेसँग आफ्नो सम्बन्ध देखाउने प्रयास गरिएको भन्दै उनले यसलाई सुनियोजित दुष्प्रचारको संज्ञा दिएका छन्।
मेयर थापाले कडा शब्दमा भने, “मेरो पार्टी स्पष्ट छ, मेरो उम्मेदवार स्पष्ट छ। झापा क्षेत्र नम्बर ५ मा राप्रपाका आधिकारिक उम्मेदवार लक्ष्मीप्रसाद संग्रौला नै हुन्। तर केही तत्वहरू मतदाता भ्रमित पार्न निरन्तर सक्रिय छन्।” उनले यस्ता गतिविधिले स्वस्थ राजनीतिक प्रतिस्पर्धालाई कमजोर बनाउने चेतावनी दिँदै मतदातालाई अफवाह र भ्रमको पछि नलाग्न आग्रह गरेका छन्।
साथै, राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गरी उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलालाई विजयी गराउन अपिलसमेत गरेका छन्। स्थानीय राजनीतिमा प्रभावशाली व्यक्तित्व मानिने मेयर थापामाथि केन्द्रित यो दुष्प्रचारले झापा क्षेत्र नम्बर ५ को चुनावी माहोल थप तनावपूर्ण बन्दै गएको संकेत देखिएको छ।



