वैशाख २८, दमक / झापाको दमकमा सामाजिक तथा सामुदायिक क्षेत्रमा सक्रिय रोटरी क्लब अफ दमकले शिक्षा क्षेत्रमा सहयोगलाई निरन्तरता दिएको छ । क्लबले सोमबार दमक–७ स्थित राधाकृष्ण मन्दिर परिसरमा रहेको पृथ्वी माध्यमिक विद्यालयलाई ३० थान डेक्स बेञ्च हस्तान्तरण गरेको हो । विद्यालय र रोटरी क्लब अफ दमकबीचको सहकार्यमा आयोजित संक्षिप्त कार्यक्रममा विद्यार्थीहरूलाई सहज वातावरणमा बसेर पठनपाठन गर्न सहयोग पुग्ने उद्देश्यले फर्निचर सामग्री उपलब्ध गराइएको रोटरी क्लब अफ दमकका सहसचिव देबेन्द्र बरालले जानकारी दिनुभयो ।
रोटरी डिष्ट्रिक्ट ३२९२ नेपालको सहयोगमा सञ्चालन गरिएको “ह्याप्पी स्कुल” कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो । कार्यक्रम रोटरी क्लब अफ दमकका अध्यक्ष केशवकुमार अग्रवालको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले दमकको विकास र परिवर्तनका लागि नगरपालिका विभिन्न संघ–संस्थासँग सहकार्य गरेर अघि बढिरहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको सुधारका लागि यस्ता सामाजिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
कार्यक्रम संयोजक तथा रोटरी क्लब अफ दमकका पूर्व अध्यक्ष सन्दिप चापागाईले विद्यालय तथा बालबालिकाको क्षमता विकासमा टेवा पुर्याउने उद्देश्यले “ह्याप्पी स्कुल” कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार यसअघि पनि सोही विद्यालयमा शुद्ध खानेपानीसहितको सौचालय निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरिएको थियो । रोटरी क्लब अफ दमकका अध्यक्ष अग्रवालले गुणस्तरीय शिक्षाबाट नै असल नागरिक उत्पादन हुने भन्दै विद्यार्थीहरूको अध्ययन वातावरणलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन सहयोग गरिएको बताउनुभयो ।
कार्यक्रममा दमक–७ का वडाध्यक्ष भीम पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष लालसुन्दर राई, दमक रोट्रयाक्ट क्लबका अध्यक्ष दीवाकर पञ्चकोटी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, विद्यालयका प्रधानाध्यापक विष्णुकुमार राई, सहायक प्रधानाध्यापक अमृत श्रेष्ठ, डा. लेखनाथ न्यौपाने, रोटरी क्लब अफ दमकका पूर्वअध्यक्ष नबीन श्रेष्ठ, बिक्रम शाह लगायत रोटरीयन, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ दमकका सहसचिव देबेन्द्र बरालले गर्नुभएको थियो ।


