दमक। नेपाली मौलिक चाडपर्व, धर्म तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दमक जेसीज वर्ष २०२६ ले दमकका दुई टोलमा लिङ्गे पिङ निर्माण गरी सम्बन्धित टोल विकास संस्थालाई हस्तान्तरण गरेको छ।
दमक नगरपालिका वडा नं. ८ स्थित आइतबारे टोल र वडा नं. ९ स्थित शुभबिहानी टोलमा एक–एक थान लिङ्गे पिङ निर्माण गरिएको हो। निर्माण सम्पन्न पिङको शुभारम्भ कार्यक्रमसहित सम्बन्धित टोल विकास संस्थालाई हस्तान्तरण गरिएको दमक जेसीजले जनाएको छ।
दमक जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी राजेन्द्र बिमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश) र वडा नं. ९ का वडाध्यक्ष कुबेरप्रसाद भट्टराईले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो।
कार्यक्रममा दमक जेसीज वर्ष २०१० का अध्यक्ष सिनेटर नेत्रप्रसाद चम्लागाईं, शुभबिहानी टोल विकास संस्थाका अध्यक्ष तथा रोटरी क्लब अफ दमकका पूर्वअध्यक्ष सन्दीप चापागाईं (दीपु), आइतबारे टोल विकास संस्थाका अध्यक्ष अमृत निरौला, बालुवाटार टोल विकास संस्थाका अध्यक्ष गणेश चौहान, सिनेटर मैना दाहाललगायत विभिन्न टोल विकास संस्थाका पदाधिकारी, स्थानीयवासी तथा जेसीज सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी साजन श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन महासचिव जेसी रूबल अधिकारीले गर्नुभएको थियो।
नेपाली चाडपर्वको रौनकलाई समुदायस्तरसम्म पुर्याउने, मौलिक संस्कृति तथा परम्पराको संरक्षण गर्ने र युवाहरूको सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दमक जेसीजले जनाएको छ। यस कार्यक्रमले स्थानीय समुदायमा चाडपर्वको उत्साह बढाउनुका साथै सामाजिक सद्भाव र जेसीजको सकारात्मक पहिचान स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




































