दमक, १३ असार / झापाको दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा एकमहिने निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। हिमालय रोभर–रेन्जर स्काउट क्र्यु तथा हिमालय स्काउट ट्रुपको आयोजना, हिमालय माध्यमिक विद्यालयको सहयोग र ओम शान्ति डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरअन्तर्गत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूको दन्त परीक्षण गर्ने लक्ष्य राखिएको छ।
ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेका अनुसार अघिल्लो शुक्रबार पहिलो शिविर सम्पन्न भएको थियो भने शुक्रबार दोस्रो चरणको शिविर सम्पन्न गरिएको हो। प्रत्येक शुक्रबार एक महिनासम्म सञ्चालन हुने शिविरमा स्मारक दाहाल र मालिका श्रेष्ठसहितको चिकित्सक टोलीले विद्यार्थीहरूको दन्त परीक्षण गरिरहेको छ।
शिविरमा सहभागी विद्यार्थीहरूले ओम शान्ति डेन्टल हस्पिटलबाट प्रदान गरिने सेवामा २० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। आवश्यक परे चिकित्सक शुल्कमा समेत विशेष छुटको व्यवस्था गरिएको सञ्चालक गैरेले जानकारी दिनुभयो। दमक–५ मा रहेको ओम शान्ति डेन्टल हस्पिटलले विशेषज्ञ चिकित्सकमार्फत दाँत तथा मुख स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।


- Multi Media
- Multi Media
- Multi Media
- Multi Media













