दमक,१५ असार/कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्मानजनक विदाइ तथा नवनियुक्त स्वयंसेविकाहरूको स्वागत कार्यक्रम गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा लामो समयदेखि समुदायको स्वास्थ्य प्रवर्द्धन, मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, परिवार नियोजनलगायत जनस्वास्थ्यका विभिन्न कार्यक्रममा उल्लेखनीय योगदान पुर्याई अनिवार्य अवकाश प्राप्त गर्नुभएका राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कमला कार्की र बिमला भट्टराईलाई सम्मानपत्र, मायाको चिनो तथा जनही नगद रु. १ लाखसहित सम्मानपूर्वक विदाइ गरिएको थियो।
विदाइ कार्यक्रममा उहाँहरूको निस्वार्थ, समर्पित र अनुकरणीय सेवाको उच्च प्रशंसा गर्दै आगामी जीवन सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।
विदाइ मन्तव्यका क्रममा स्वयंसेविका बिमला भट्टराईले ३३ वर्षसम्म सेवा गर्ने क्रममा धेरै चुनौती र अवरोध सामना गर्नुपरे पनि समाजप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै निरन्तर सेवा गर्न पाएकोमा गर्व र आत्मसन्तुष्टि महसुस भएको बताउनुभयो। कर्मप्रतिको सन्तुष्टिले जीवनलाई शान्त र सुखद बनाएको अनुभव पनि उहाँले सुनाउनुभयो।
त्यसैगरी, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा नवनियुक्त हेममाया विष्ट (कमल–४) र सविता पोखरेल (कमल–६)लाई खादा तथा पुष्पगुच्छासहित स्वागत गरिएको थियो। स्वागत मन्तव्यका क्रममा हेममाया विष्टले समुदायको स्वास्थ्य प्रवर्द्धनका लागि सक्रिय, जिम्मेवार र समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै लामो समयसम्म सेवा गर्ने स्वयंसेविकाहरूको योगदान सधैं स्मरणीय रहने बताउनुभयो। उहाँले नवनियुक्त स्वयंसेविकाहरूले पनि इमानदारी, समर्पण र सेवाभावका साथ समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रतिनिधि, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।















