दमक नगरपालिका–१ सिरपाली चोकका ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजे श्रीमान–श्रीमतीबीच सामान्य कुरामा विवाद भएको थियो। सोही विवाद बढ्दै जाँदा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट विजयकुमारीको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो।
श्रीमतीमाथि आक्रमण गरेलगत्तै धनबहादुरले घरकै अर्को कोठामा गएर सिलिङ पंखामा सलको पासो लगाई आत्महत्याको प्रयास गरेका थिए। सोही क्रममा उनकी २५ वर्षीया छोरीले बुबालाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटेर भुइँमा झारेकी थिइन्।
घटनाको जानकारी पाउनासाथ प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल पठाएकोमा उपचारकै क्रममा दुवैको मृत्यु भएको हो।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।



















