झापा, दमक । झापाको दमक–२ स्थित रहेको मानव उद्धार आश्रममा केही दिनअघि एक वृद्ध झुण्डिएको अवस्थामा मृत फेला परेको घटनापछि आश्रमको सुरक्षा तथा व्यवस्थापनप्रति स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ। दमकका युवा सन्देब राईका अनुसार उक्त घटना आश्रमको गम्भीर लापरबाहीका कारण भएको हुन सक्ने भन्दै घटनाको निष्पक्ष छानबिन र सुरक्षा व्यवस्थापन सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
मृतक दमक–१० स्थित सेतुमारी क्षेत्रमा बसोबास गर्दै आएका थिए। स्थानीय समुदायसँग घुलमिल भएर विभिन्न काम गर्दै जीविकोपार्जन गरिरहेका उनी केही समयपछि दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकको समन्वयमा मानव उद्धार आश्रममा राखिएका थिए।
मानव उद्धार आश्रमका सञ्चालक सुमन श्रेष्ठका अनुसार मृतकलाई दैनिक बेलुकि ‘इभिनिङ वाक’ सरह आश्रमबाट बाहिर जान दिइने गरिएको थियो। घटनाकै दिन पनि उनी आश्रमबाट बाहिर निस्किएपछि फर्किएनन्। त्यसपछि खोजी गर्दा उनी झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी उनले दिए।
घटनापछि आश्रमको सुरक्षा र व्यवस्थापनमा कमजोरी रहेको भन्दै स्थानीय युवाहरूले आश्रममा सुरक्षा गार्डको व्यवस्था गर्न, आश्रितहरूको नियमित निगरानी गर्न तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा मापदण्ड लागू गर्न माग गरेका छन्।
यसैबीच, प्राप्त जानकारीअनुसार दमक नगरपालिकाले पनि आगामी तीन महिनाभित्र आश्रमको सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउने निर्णय गरेको बताइएको छ।






















