२०८३ श्रावण १३ बुधबार
२०८३ श्रावण १३ बुधबार

कमल–७ रंगपुरमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राईद्वारा ल्याब सेवाको शुभारम्भ

झापा, कमल गाउँपालिका। कमल गाउँपालिका–७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, रंगपुरमा प्रयोगशाला (ल्याब) सेवाको औपचारिक शुभारम्भ गरिएको छ। ल्याब सेवा शुभारम्भसँगै आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन्।
कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले रिबन काटेर ल्याब सेवाको उद्घाटन गर्नुभएको थियो। उद्घाटनपछि उहाँले प्रयोगशालामा जडान गरिएका उपकरण, सामग्री तथा रसायनहरूको निरीक्षण गर्दै सेवाको गुणस्तर र प्रभावकारिताबारे जानकारी लिनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष राईले गाउँपालिकाका दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज र गुणस्तरीय प्रयोगशाला सेवा घरआँगनमै उपलब्ध गराउने उद्देश्यले ल्याब सेवा विस्तार गरिएको बताउनुभयो। उहाँले कमल–७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट टिटानसविरुद्धको खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै आगामी दिनमा आवश्यकता र स्रोतका आधारमा थप स्वास्थ्य सेवाहरू विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावतीले गाउँपालिकाभित्र रहेका अन्य आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा समेत क्रमशः ल्याब सेवा विस्तार गरे सबै वडाका नागरिकलाई सहज पहुँचमा प्रयोगशाला सेवा उपलब्ध गराएमा सहज सेवा उपलब्ध हुने बताउनुभयो।
कार्यक्रममा कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले ल्याब सेवा विस्तार कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रम सञ्चालन आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–७ का प्रमुख अमृत सुब्बाले गर्नुभएको थियो। उहाँले कमल–७ मा सरुवा भएर आएपछि स्वास्थ्य संस्थामा नयाँ सेवा थप्ने लक्ष्यका साथ वडा अध्यक्ष पृथ्वीपति राई तथा गाउँपालिका अध्यक्ष हुकुम सिंह राईसँग समन्वय गरी ल्याब सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले सेवा विस्तारबाट सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा थप स्वास्थ्य सेवाहरू विस्तार गरिने बताउनुभयो।
ल्याब असिस्टेन्ट गीता न्यौपानेले अब यस स्वास्थ्य सेवा केन्द्रबाट रगत, पिसाब (युरिन), दिसा (स्टुल),सुगर जाँच, परीक्षणका साथै गर्भवती महिलाका आवश्यक प्रयोगशाला परीक्षणहरू नियमित रूपमा सञ्चालन हुने जानकारी दिनुभयो।

ल्याब सेवा शुभारम्भसँगै आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावतीले बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गर्नुभएको थियो। शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका स्थानीय सेवाग्राहीले सेवा लिई लाभान्वित भएका थिए।
कमल–७ का वडा अध्यक्ष तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पृथ्वीपति राईले ल्याब सेवा विस्तारसँगै वडा नम्बर–७ का नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध भएको भन्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईप्रति आभार व्यक्त गर्नुभयो।

ल्याब सेवा सञ्चालनमा आएपछि अब कमल–७ तथा आसपासका बासिन्दाले सामान्य प्रयोगशाला परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। यस सेवाले समयमै रोग पहिचान, उपचार तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका पदाधिकारी, विद्यालय नर्स तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। ल्याब सेवा शुभारम्भपछि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो।

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।