स्रावण महिनाको तेस्रो सोमबारको अवसर पारेर सामाजिक संस्था पहिलो पाइला नेपाल ले झापाको शिवसताक्षी नगरपालिका–स्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सताक्षीधाम मा दर्शनार्थी तथा बोलबम यात्रामा सहभागी भक्तजनलाई निःशुल्क पानी तथा फलफूल वितरण गरेको छ।
बिहान ४ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको सेवामूलक कार्यक्रममा सताक्षीधाम पुगेका सयौं भक्तजनलाई शुद्ध खानेपानी तथा फलफूल वितरण गरिएको संस्थाले जनाएको छ
पहिलो पाइला नेपालले यसअघि पनि दमकस्थित पशुपति मन्दिर र धनेश्वर मन्दिर मा स्रावण सोमबारका अवसरमा यस्तै सेवा कार्यक्रम सञ्चालन गरिसकेको छ। धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोड्दै संस्थाले निरन्तर यस्ता सेवामूलक अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
सामाजिक सेवामा सक्रिय पहिलो पाइला नेपालले विगत केही वर्षदेखि विद्यार्थीहरूलाई विद्यालय झोला, शैक्षिक सामग्री वितरण, ज्येष्ठ नागरिक सेवा, स्वास्थ्य तथा मानवीय सहयोगलगायत विविध सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाका अध्यक्ष राजु निरौला ले सताक्षीधाम व्यवस्थापन समिति तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै समाजसेवाका यस्ता अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाइने बताए।
त्यसैगरी, सताक्षीधाम व्यवस्थापन समितिका अध्यक्ष ले पहिलो पाइला नेपालको सेवामूलक कार्यको प्रशंसा गर्दै धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको सताक्षीधामको संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसारमा सबै पक्षले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याए। उनले यस्ता सामाजिक अभियानले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा संस्थाका सल्लाहकार महेश घिमिरे, पत्रकार तथा सामाजिक व्यक्तित्व हरु
अनिलदेव राई, सुवास सुवेदी, लगायत संस्थाका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै पहिलो पाइला नेपालले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक सेवा तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।























