दमक, भदौ ११ / बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीसाधनको पोर्टफोलियो विस्तार गर्दै चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक C2501 र चेतक C3503 सार्वजनिक गरेको छ।
नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा दमकको दिपिनी पुलस्थित राजेश मोटर्स प्रालिमा आयोजित कार्यक्रममा नयाँ मोडलहरू सार्वजनिक गरिएको हो।
दैनिक सहरी यात्रालाई लक्षित गर्दै ल्याइएको चेतक C2501 मा २.५ kWh क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ। यसले एकपटकको चार्जमा ११३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। स्कुटरको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ भने फास्ट चार्जिङ प्रणालीमार्फत २ घण्टा २५ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ। यसको मूल्य २ लाख ८१ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी चेतक C3503 मा ३.५ kWh क्षमताको ब्याट्री रहेको छ। यसले एकपटकको चार्जमा १५१ किलोमिटरसम्मको रेन्ज तथा ७० किलोमिटर प्रतिघण्टासम्मको गति प्रदान गर्ने कम्पनीको दाबी छ। आधुनिक फिचर, फराकिलो स्टोरेज तथा रेट्रो डिजाइनयुक्त यस स्कुटरको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
कार्यक्रममा हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका बिक्री प्रमुख रामेश्वर घिमिरे ले चेतकको नयाँ लाइनअपले नेपालमा हरित तथा दिगो मोबिलिटीको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर नयाँ मोडलहरू ल्याइएको बताउनुभयो।
राजेश मोटर्स प्रालिका प्रवन्ध निर्देशक राजेश बुढाथोकी ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, आयोजक तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कम्पनीका अनुसार चेतक C2501 र C3503 अब नेपालभरका छनोट गरिएका बजाज डिलरहरूमा बुकिङका लागि उपलब्ध हुनेछन्।
























