२०८३ आश्विन १ बिहीबार
२०८३ आश्विन १ बिहीबार

झापा, कमल। कमल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम, सेवा प्रवाह तथा उपलब्धिको समीक्षा गर्दै वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।

बिहीबार कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाले वर्षभरि सञ्चालन गरेका स्वास्थ्य सेवा, कार्यक्रम, उपलब्धि, समस्या तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।

समीक्षाका क्रममा नियमित खोप, मातृ तथा नवजात शिशु स्वास्थ्य, सुरक्षित प्रसूति, पोषण, परिवार नियोजन, सरुवा तथा नसर्ने रोग नियन्त्रण र मानसिक स्वास्थ्यलगायतका कार्यक्रमको प्रगति तथा प्रभावकारिताबारे छलफल गरिएको थियो।

कमल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दहालका अनुसार विगत एक वर्षमा स्वास्थ्य क्षेत्रमा भएका कामको वस्तुनिष्ठ मूल्याङ्कन गर्दै आगामी दिनमा सेवाप्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने उद्देश्यले समीक्षा कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिकाले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिँदै कमल नगर अस्पतालमार्फत सुरक्षित प्रसूति, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे (USG) तथा स्वास्थ्य बीमालगायतका सेवाहरू विस्तार गर्दै आएको जनाएको छ।

कार्यक्रममा अध्यक्ष राईले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता र अधिकारसँग जोडिएको विषय भएकाले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। नागरिकले आफ्नै गाउँघरमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले स्वास्थ्य पूर्वाधार, उपकरण, दक्ष जनशक्ति तथा सेवा विस्तारमा निरन्तर जोड दिइएको उहाँको भनाइ थियो।

वार्षिक समीक्षाले विगतका उपलब्धिको मूल्याङ्कनसँगै सेवा प्रवाहका क्रममा देखिएका कमजोरी र चुनौती पहिचान गरी आगामी वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण आधार प्रदान गर्ने अध्यक्ष राईले बताउनुभयो।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी, साझेदार संस्था फेयरमेड, सहारा नेपाल र एनएलएफ, भृकुटी अस्पतालका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक तथा कार्यक्रम फोकल पर्सन विश्वनाथ श्रेष्ठले गर्नुभएको थियो। सहभागीहरूले स्वास्थ्य सेवाका उपलब्धि, चुनौती तथा आगामी दिनमा स्थानीय तह, स्वास्थ्य संस्था र साझेदार निकायबीचको समन्वय थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

कमल गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य सेवालाई गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा विस्तारलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

दमक / कुमारी बैंक लिमिटेड र दमक–६ स्थित तेजस् डेन्टल क्लिनिकबीच स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने सम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार तेजस् डेन्टल क्लिनिकले कुमारी बैंकका कर्मचारी तथा उनीहरूका नजिकका परिवारका सदस्य, बैंकका खातावाला, डेबिट/क्रेडिट कार्डधारक तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई दन्त सेवाका सबै सेवामा २० प्रतिशत छुट उपलब्ध गराउने डेन्टलका सञ्चालक कमल गैरेले जानकारी दिनुभयो ।

सम्झौतामा तेजस् डेन्टल क्लिनिकका तर्फबाट सञ्चालक जानुका कोइराला तथा कुमारी बैंकका तर्फबाट सम्बन्धित प्रतिनिधिले हस्ताक्षर गरेका छन्। सम्झौता २०२६ अगस्ट २७ मा भएको हो।

सम्झौताअनुसार बैंकले आफ्ना ग्राहक तथा कार्डधारकहरूलाई यस सहकार्यबारे प्रचार–प्रसार गर्ने, बैंकको वेबसाइट तथा अन्य प्रचार माध्यमबाट जानकारी गराउने जनाएको छ। यस सहकार्यबाट कुमारी बैंकका ग्राहक तथा कर्मचारीले दमकस्थित तेजस् डेन्टल क्लिनिकबाट दन्तसम्बन्धी उपचार तथा सेवामा सहुलियत प्राप्त गर्ने भएका छन्।

दमक – झापाको दमक नगरपालिका–७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा विपन्न विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। दमक नगरपालिका वडा नं. ७ र बाल्यकालका साथी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले वडा नं. ७ ले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले वडा नं. ७ मा रहेको एकमात्र सरकारी विद्यालय पृथ्वी माध्यमिक विद्यालयमा कक्षा ८ सम्म पूर्ण निःशुल्क शिक्षा प्रदान गरिएको र कक्षा ९ तथा १० का विपन्न विद्यार्थीलाई समेत आवश्यक सहयोग गर्दै आएको जानकारी दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राईका अनुसार कार्यक्रममा करिब १ सय २ जना विपन्न विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो। उहाँले विद्यालयमा प्रत्येक वर्ष विपन्न विद्यार्थीलाई पोशाक वितरण गर्दै आएको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक विष्णु राईका अनुसार वि.सं. २०१२ सालमा स्थापना भएको यस विद्यालयमा हाल करिब ८ सय विद्यार्थी अध्ययनरत छन्। विपन्न विद्यार्थीको शिक्षामा वडा नं. ७ ले निरन्तर सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा वडा सदस्य मानबहादुर खवास, इन्दु पौडेल, तारा रण पहेली लगायतको उपस्थिति थियो। बाल्यकालका साथी संस्थाका अध्यक्ष चन्दन महतो पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन कमल तामाङले गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

दमक, भदौ ११ / बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीसाधनको पोर्टफोलियो विस्तार गर्दै चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक C2501 र चेतक C3503 सार्वजनिक गरेको छ।
नेपालमा बजाजका दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा दमकको दिपिनी पुलस्थित राजेश मोटर्स प्रालिमा आयोजित कार्यक्रममा नयाँ मोडलहरू सार्वजनिक गरिएको हो।
दैनिक सहरी यात्रालाई लक्षित गर्दै ल्याइएको चेतक C2501 मा २.५ kWh क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ। यसले एकपटकको चार्जमा ११३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। स्कुटरको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ भने फास्ट चार्जिङ प्रणालीमार्फत २ घण्टा २५ मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ। यसको मूल्य २ लाख ८१ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी चेतक C3503 मा ३.५ kWh क्षमताको ब्याट्री रहेको छ। यसले एकपटकको चार्जमा १५१ किलोमिटरसम्मको रेन्ज तथा ७० किलोमिटर प्रतिघण्टासम्मको गति प्रदान गर्ने कम्पनीको दाबी छ। आधुनिक फिचर, फराकिलो स्टोरेज तथा रेट्रो डिजाइनयुक्त यस स्कुटरको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
कार्यक्रममा हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका बिक्री प्रमुख रामेश्वर घिमिरे ले चेतकको नयाँ लाइनअपले नेपालमा हरित तथा दिगो मोबिलिटीको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर नयाँ मोडलहरू ल्याइएको बताउनुभयो।
राजेश मोटर्स प्रालिका प्रवन्ध निर्देशक राजेश बुढाथोकी ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, आयोजक तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कम्पनीका अनुसार चेतक C2501 र C3503 अब नेपालभरका छनोट गरिएका बजाज डिलरहरूमा बुकिङका लागि उपलब्ध हुनेछन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।