दमक । झापाको दमक–६ स्थित घिमिरे मार्केटमा सञ्चालित इन स्टाईल फेसन वेयरले आफ्नो २०औँ वार्षिक उत्सव मनाएको छ। २० वर्षअघि दमकमा स्थापना भएको फेसन वेयरले शुक्रबारदेखि थप सेवा तथा नयाँ डिजाइनसहित व्यवसायिक सेवा विस्तार गरेको हो।
२०औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा इन स्टाईल फेसन वेयरकी सञ्चालिका संगीता राई तुम्बापोले सानै उमेरदेखि व्यवसायमा सक्रिय रहँदै लामो समयको मेहनत, संघर्ष र निरन्तरताका कारण आजको अवस्थामा आइपुगेको बताइन्।
उनले पछिल्लो समय व्यवसाय सञ्चालनको शैलीमा समेत परिवर्तन आएको बताउँदै सामाजिक सञ्जालको प्रभावले व्यवसाय प्रवर्द्धन तथा सञ्चालनमा सहजता थपिएको उल्लेख गरिन्। पहिलेको तुलनामा अहिले व्यवसाय गर्ने तरिका, ग्राहकको चाहना र बजारको अवस्था समेत परिवर्तन भएकाले सोहीअनुसार आफूले व्यवसायलाई समयसापेक्ष बनाउँदै लगेको उनको भनाइ छ।
दमक उद्योग वाणिज्य संघकी महिला उपाध्यक्षसमेत रहेकी तुम्बापोले ग्राहक तथा शुभेच्छुकहरूको माग र चाहनालाई ध्यानमा राख्दै २०औँ वर्षमा आइपुग्दा फेसन वेयरमा थप सेवा र नयाँ डिजाइनहरू विस्तार गरिएको बताइन्।
शुक्रबार आयोजित कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले इन स्टाईल फेसन वेयरको २०औँ वर्षगाँठ तथा नयाँ डिजाइनसहितको सेवाको रिबन काटेर उद्घाटन गरे। सो अवसरमा अध्यक्ष गुरागाईंले इन स्टाईल फेसन वेयरका सञ्चालक संगीता तुम्बापो र अजेन तुम्बापोलाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रुवल अधिकारीसहित विभिन्न व्यापारी तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। २० वर्षदेखि दमकमा फेसन व्यवसायलाई निरन्तरता दिँदै आएको इन स्टाईल फेसन वेयरले नयाँ डिजाइन र थप सेवामार्फत ग्राहकको माग तथा बदलिँदो बजारलाई सम्बोधन गर्ने जनाएको छ।

























