
दमक । दमक–२ र ३ स्थित हंसेदुम्से सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा योगराज दंगाल निर्वाचित भएका छन्।
निर्वाचनमा दंगालले ७५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भागवत दुलालले ४४ मत प्राप्त गरे। दंगाललाई राप्रपासहित नेकपा एमाले, नेकपा तथा अन्य दलको समेत समर्थन रहेको थियो भने दुलाल नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनेका थिए।
त्यस्तै, उपाध्यक्षमा नन्दीकेश्वर दंगाल ६३ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी चन्द्रवीर विश्वकर्माले ५७ मत प्राप्त गरे।
सचिवमा सुष्मादेवी अधिकारी ७१ मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी टुकाकुमारी बस्नेत अधिकारीले ४८ मत प्राप्त गरिन्।
उपसचिवमा मनोज बस्नेत ४४ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी चुडेम्बरकुमार खड्काले ३९ र टंकप्रसाद सापकोटाले ३७ मत प्राप्त गरे।
कोषाध्यक्षमा मायादेवी कोइराला (सिग्देल) ७० मत प्राप्त गरी निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी कल्पना राईले ५१ मत प्राप्त गरिन्।
त्यस्तै, लेखा समितिको संयोजकमा ठाकुरप्रसाद लुइँटेल ६४ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी श्यामप्रसाद आचार्यले ५२ मत प्राप्त गरे।
हंसेदुम्से सामुदायिक वनमा करिब १ हजार ९३ घरधुरी उपभोक्ता सदस्य रहेका छन्।
दमक– दमक–६ स्थित आदर्श समाज सहकारी संस्था लिमिटेडको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विजयकुमार राईको अध्यक्षतामा सम्पन्न सभाको उद्घाटन जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाले गर्नुभएको थियो।
साधारणसभा उद्घाटन कार्यक्रममा संस्थापक अध्यक्ष भरत खाती, महिला सदस्य कमला बस्नेत, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला लगायतको उपस्थिति रहेको थियो।
सभामा संस्थाका अध्यक्ष राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले बचत परिचालन, लगानी अभिवृद्धि तथा ग्रामीण विकासमा संयोजनकारी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले सहकारीलाई राज्यको नीति, नियम तथा मापदण्डअनुसार सञ्चालन गर्दै संस्थाको वित्तीय अवस्था थप मजबुत बनाउने र शेयर सदस्य केन्द्रित तथा सदस्यमुखी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।
प्रतिवेदनअनुसार संस्थामा ९१९ शेयर सदस्य रहेका छन् भने शेयर पुँजी रु. १ करोड ४०लाख ८८ हजार ९०० रहेको छ। त्यस्तै, जगेडा कोष रु. ३० लाख ६६ हजार ४४४, कर्जा जोखिम कोष रु. २१ लाख ४४ हजार ५५२ तथा अन्य कोषतर्फ रु. ३७ लाख ४२ हजार १९७ रहेको प्रतिवेदनमा उल्लेख छ। संस्थाको बचत रु. ८करोड ७३ लाख ९५ हजार ४४६, कर्जा रु. ७ करोड ४८ लाख ४२ हजार ५७४ तथा वासलात रु. ११ करोड ३२ लाख ११ हजार ९०९ रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि कोइरालाले सहकारी संस्थाले सदस्यको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले सहकारीको वास्तविक उद्देश्य सदस्यलाई केन्द्रमा राखेर सेवा, सुविधा र आर्थिक अवसर प्रदान गर्नु रहेको उल्लेख गर्नुभयो।
उहाँले सहकारीले पारदर्शिता, सुशासन र विश्वासलाई प्राथमिकतामा राख्दै सदस्यको आवश्यकता र हितअनुसार आफ्ना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, सहकारीलाई अझ व्यवस्थित, प्रविधिमैत्री र सदस्यमुखी बनाउँदै उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले आदर्श समाज सहकारीले आगामी दिनमा सदस्यको आर्थिक समृद्धिसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत थप प्रभावकारी काम गर्दै जाने विश्वास व्यक्त गर्दै साधारणसभाको सफलताको शुभकामना दिनुभयो।
साधारणसभाका अवसरमा उत्कृष्ट कारोबार गर्ने एक दर्जन भन्दा बढी शेयर सदस्य ,जेष्ठनागरिक हरुलाई सम्मान गरिएको थियो। त्यस्तै, शेयर सदस्यका छोराछोरीमध्ये SEE परीक्षामा उत्कृष्ट अंक ल्याउने मेरिना गौतम र सेरिना लिम्बू लाई नगद रु. ५ हजारसहित सम्मान गरिएको थियो। उत्कृष्ट कर्मचारी सस्थाको सुचना अधिकारी रोमन नेपाललाई दोसल्ला, प्रमाणपत्र, मायाको चिनो तथा नगदसहित सम्मान गरिएको संस्थाका व्यवस्थापक रुद्र खतिवडाले जानकारी दिनुभयो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष फडिन्द्र गर्तौलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सभाको सञ्चालन संस्थाका सचिब सुनिल बिस्वकर्माले गर्नुभएको थियो। साधारणसभाले संस्थाको आगामी कार्ययोजनामा शेयर सदस्यको हित, सदस्यमुखी सेवा, बचत परिचालन तथा लगानी विस्तारलाई प्राथमिकता दिँदै सहकारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
दमक । दमक जेसीज वर्ष २०२६ अन्तर्गत आयोजित जेसी सप्ताह विभिन्न सामाजिक, शैक्षिक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्दै समापन गरिएको छ। दमक जेसीजका अध्यक्ष राजेन्द्र बिमलीको अध्यक्षतामा आयोजित तालिम तथा सप्ताह समापन कार्यक्रममा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा प्रमुख अतिथि रहनुभएको थियो।
जेसी सप्ताहअन्तर्गत विद्यालयका चालक तथा सहचालकहरूलाई स्कूल यातायात सुरक्षा तथा सडक सुरक्षा सम्बन्धी जागरूकता तालिम प्रदान गरिएको थियो। सप्ताहभर युवाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरिएको दमक जेसीजका कानुनी सल्लाहकार जेसी विशाल अधिकारीले जानकारी दिनुभयो।
सप्ताहअन्तर्गत पब्लिक स्पिकिङ तालिम, सामुदायिक विद्यालयका विद्यार्थीहरूको दुर्घटना बीमा, पब्लिक लाइब्रेरी निर्माण, ओपन ब्याडमिन्टन टुर्नामेन्ट, रेफ्रिजरेटर हस्तान्तरण, पिउने पानी तथा मोही वितरण लगायतका कार्यक्रम आयोजना गरिएको थियो।
त्यस्तै, दमकमा आयोजित श्रीकृष्ण रथयात्रामा स्वयंसेवक परिचालन गरी दमक जेसीजले सामाजिक सेवामा समेत सहभागिता जनाएको थियो। समापन कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, दमक जेसीज बोर्ड अफ ट्रस्टीका अध्यक्ष गञ्जबहादुर दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा दमक जेसीजका पूर्वअध्यक्षहरू सञ्जीव बराल, कमल कटुवाल, नरेन्द्र बराल र सुयोग खरेल तथा सिनेटरहरू राजकुमार भट्टराई, सीता कार्की र निवर्तमान अध्यक्ष सहदेव भट्टराईलगायतको उपस्थिति रहेको थियो। दमक जेसीजले जेसी सप्ताहमार्फत युवामा नेतृत्व क्षमता विकास गर्नुका साथै सामाजिक सेवा, जनचेतना र समुदायसँगको सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।
दमक । झापाको दमक–६ स्थित घिमिरे मार्केटमा सञ्चालित इन स्टाईल फेसन वेयरले आफ्नो २०औँ वार्षिक उत्सव मनाएको छ। २० वर्षअघि दमकमा स्थापना भएको फेसन वेयरले शुक्रबारदेखि थप सेवा तथा नयाँ डिजाइनसहित व्यवसायिक सेवा विस्तार गरेको हो।
२०औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा इन स्टाईल फेसन वेयरकी सञ्चालिका संगीता राई तुम्बापोले सानै उमेरदेखि व्यवसायमा सक्रिय रहँदै लामो समयको मेहनत, संघर्ष र निरन्तरताका कारण आजको अवस्थामा आइपुगेको बताइन्।
उनले पछिल्लो समय व्यवसाय सञ्चालनको शैलीमा समेत परिवर्तन आएको बताउँदै सामाजिक सञ्जालको प्रभावले व्यवसाय प्रवर्द्धन तथा सञ्चालनमा सहजता थपिएको उल्लेख गरिन्। पहिलेको तुलनामा अहिले व्यवसाय गर्ने तरिका, ग्राहकको चाहना र बजारको अवस्था समेत परिवर्तन भएकाले सोहीअनुसार आफूले व्यवसायलाई समयसापेक्ष बनाउँदै लगेको उनको भनाइ छ।
दमक उद्योग वाणिज्य संघकी महिला उपाध्यक्षसमेत रहेकी तुम्बापोले ग्राहक तथा शुभेच्छुकहरूको माग र चाहनालाई ध्यानमा राख्दै २०औँ वर्षमा आइपुग्दा फेसन वेयरमा थप सेवा र नयाँ डिजाइनहरू विस्तार गरिएको बताइन्।
शुक्रबार आयोजित कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले इन स्टाईल फेसन वेयरको २०औँ वर्षगाँठ तथा नयाँ डिजाइनसहितको सेवाको रिबन काटेर उद्घाटन गरे। सो अवसरमा अध्यक्ष गुरागाईंले इन स्टाईल फेसन वेयरका सञ्चालक संगीता तुम्बापो र अजेन तुम्बापोलाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रुवल अधिकारीसहित विभिन्न व्यापारी तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो। २० वर्षदेखि दमकमा फेसन व्यवसायलाई निरन्तरता दिँदै आएको इन स्टाईल फेसन वेयरले नयाँ डिजाइन र थप सेवामार्फत ग्राहकको माग तथा बदलिँदो बजारलाई सम्बोधन गर्ने जनाएको छ।
लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा सचेतना फैलाउने उद्देश्यले टेकिटोला युवा समूह, गौरीगञ्जको आयोजनामा शनिबार म्याराथन दौड सम्पन्न भएको छ।
गौरीगञ्ज–३ स्थित टेकिटोलाबाट सुरु भएको दौड मोरङको सिमाना, रतुवा खोला पुल हुँदै पुनः टेकिटोला चोकसम्म करिब १६ किलोमिटर दूरीमा सञ्चालन गरिएको थियो। दौडमा पुरुष तथा महिला धावकहरूको सहभागिता रहेको थियो।
स्थानीयस्तरका धावकमध्ये उत्कृष्ट एक जनालाई छनोट गरिएको थियो। प्रतियोगितामा भारतको सिक्किम, कालिम्पोङ, दार्जिलिङ, हिमाञ्चल, मिरिक तथा नेपालका काठमाडौं, कैलालीलगायत विभिन्न जिल्लाबाट समेत धावकहरू सहभागी भएका थिए।
दौडमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रतिनिधिसहित २ सय ७५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा सबैभन्दा कम उमेरका ११ वर्षीय सुजित लिम्बू र १३ वर्षीय अतिस सरदार समेत सहभागी भएका थिए।
पुरुषतर्फ गोर्खाका गणेश सिंह प्रथम, तेह्रथुमका सरोज लिम्बू दोस्रो र ताप्लेजुङका अमिर लिम्बू तेस्रो भएका छन्। प्रतियोगिताले युवालाई लागुऔषधबाट टाढा राख्दै खेलकुदप्रति आकर्षित गर्न सकारात्मक सन्देश दिएको आयोजकको भनाइ छ।
किरात राई यायोक्खा झापाको नवौं जिल्ला अधिवेशन विर्तामोडमा शुरु भएको छ । अधिवेशन उदघाटन कार्यक्रममा अग्रज पत्रकार दिपिन राई र दमक थुलुङ डेन्टलकी सञ्चालिका स्व. डा. सहदेव थुलुङकी सुपुत्री डा. सोफिया थुलुङ राईसहित कूल १० जनालाई सम्मान गरिएको छ ।
पत्रकारिता र चिकित्सा क्षेत्रमा रहेर समाजमा किराँत राई समुदायको प्रतिष्ठा उचो बनाएको ठहर गर्दै राईद्धयलाई सम्मान गरिएको हो
अधिवेशनका क्रममा झापाका विभिन्न सरकारी कार्यालयमा अधिकृत तहमा कार्यरत आठ जनालाई पनि प्रशंसापत्रसहित सम्मान गरिएको छ ।
सम्मानित हुनेहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख सन्तोष राई, अर्जुनधारा नगरपालिकाको पशु शाखा प्रमुख पदमलाल राई, कनकाई नगरपालिकाको योजना शाखा प्रमुख मनिता राई, मेची यातायात व्यवस्था कार्यालयकी लेखा अधिकृत तीर्थमाया राई र कृषि विकास बैंक गौरादह शाखाका प्रमुख विकास राई छन्।् ।
त्यस्तै काँकरभिट्टा भन्सार कार्यालयका प्रमुख महङकल राई, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालय बिर्तामोडका प्रमुख राजबहादुर राई र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख निशान राईलाई पनि प्रशंसापत्र प्रदान गरिएको छ ।
किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको प्रमुख आतिथ्य र यायोक्खा झापाका अध्यक्ष गणेशबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा यायोक्खा कोशी प्रदेश अध्यक्ष पारसमणी राई, राजनीतिक दलका तर्फबाट मणिकुमार साम्पाङ राई (विजय), सल्लाहकारका तर्फबाट दिलिप राई, आदिवासी जनजाति महासंघ झापाका पूर्वअध्यक्ष प्रेम घिसिङ र किरात याक्थुम चुम्लुङका अध्यक्ष सेसेहाङ फियाकलगायतले शुभकामना मन्तव्य राखेका थिए ।







