झापाको दमक नगरपालिका–३ स्थित सखुवाको काठ तस्करी भइरहेको अवस्थामा बोलेरो गाडीसहित एक प्रहरी हवलदार स्थानीयको नियन्त्रणमा परेका छन्। स्थानीयका अनुसार सखुवाको ५० थानभन्दा बढी काठ तस्करी गरी उर्लाबारीतर्फ लैजाँदै गरेको अवस्थामा को २ च २२४१ नम्बरको बोलेरो गाडी नियन्त्रणमा लिइएको हो। गाडीमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवलदार सन्तोष पाण्डे समेत सादा पोशाकमा रहेको स्थानीयले बताएका छन्।
काठ तस्करी भइरहेको अवस्थामा उर्लाबारीका सिभिल प्रहरी हवल्दार सन्तोष पाण्डेसहित स्थानीयलाई नियन्त्रणमा लिइएको छ। एक जिल्लाबाट अर्को जिल्लामा कारबाही वा अनुसन्धानका लागि प्रहरी खटिँदा सम्बन्धित जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्नुपर्ने व्यवस्था भए पनि, हवल्दार पाण्डे बिना अनुमति झापा आएको पाइएको हो।
हंसेदुम्से सामुदायिक वनका अध्यक्ष योगराज दङ्गालका अनुसार वन क्षेत्रमा गस्ती गर्ने क्रममा काठसहितको गाडी नियन्त्रणमा लिइएको हो।
दमक–३ का स्थानीयले यस क्षेत्रमा लामो समयदेखि काठ तस्करी हुने गरेको दाबी गर्दै आएका छन्। प्रहरीकै कर्मचारीको संलग्नता रहेको भनिएको घटनाले प्रहरीकै सेटिङमा यस्तो गतिविधि भइरहेको हो कि भन्ने प्रश्नसमेत उठाएको स्थानीयको भनाइ छ।
गाडी चालक अरुण साहाका अनुसार, उक्त गाडी वनबाट ल्याइएको दाबी गर्नुभएको छ।
घटनाको विषयमा आधिकारिक जानकारी लिन हामीले सबैभन्दा पहिले दमक इलाका प्रहरी कार्यालयसँग समन्वय गर्यौँ। तर, त्यहाँबाट सूचना दिने अधिकार जिल्ला प्रहरी कार्यालयसँग रहेको भन्दै पन्छाइयो। त्यसपछि जिल्ला प्रहरी कार्यालय, झापासँग पनि पटक–पटक समन्वय गरेर घटनाबारे स्पष्ट जानकारी र आधिकारिक प्रतिक्रिया लिन खोज्यौँ। तर जिल्ला प्रहरी कार्यालयसमेत घटनाबारे क्यामेरामा आएर स्पष्ट धारणा राख्न तयार देखिएन। यसले घटनाबारे प्रहरीको आधिकारिक धारणा सार्वजनिक हुन नसकेको अवस्था देखिएको छ।”
सुरुङ्गा वन कार्यालयका वन अधिकृत महेन्द्र पौडेलका अनुसार बरामद गरिएको ४१ क्युफिटभन्दा बढी काठको सरकारी मूल्य करिब ७१ हजार रुपैयाँ बराबर रहेको छ। उहाँका अनुसार काठसम्बन्धी सम्पूर्ण फर्दार तथा कानुनी प्रक्रिया वन कार्यालयले अघि बढाउनेछ। बरामद गरिएको गाडीको मूल्यांकन भने श्रम तथा रोजगार मन्त्रालयबाट गरिने र त्यसपछिको सम्पूर्ण प्रक्रिया गाडी चालकको बयानका आधारमा अघि बढाइने उहाँले बताउनुभयो।
एक जिल्लाबाट अर्को जिल्लामा कुनै कारबाही वा अनुसन्धानका लागि प्रहरी खटिँदा सम्बन्धित जिल्लाको प्रहरी कार्यालयसँग आवश्यक समन्वय गर्नुपर्ने व्यवस्था भए पनि, उर्लाबारीका प्रहरी हवल्दार सन्तोष पाण्डे बिना अनुमति झापा आएको पाइएको छ ।

























