कनकाई । डाइनामिक पब्लिक लाइब्रेरी कनकाईको सहकार्यमा कनकाई नगरपालिका–७ स्थित फक्तालुङ्ग इङ्लिस हाई स्कुलमा कविता लेखन तथा वाचन तालिमसँगै बुक टक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना फक्तालुङ्ग इङ्लिस हाई स्कुल रिडर्स क्लब र फक्तालुङ्ग बाल क्लबको समेत संयुक्त आयोजनामा गरिएको थियो। कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरू, विभिन्न कक्षाका विद्यार्थी तथा डाइनामिक पब्लिक लाइब्रेरी कनकाईद्वारा विभिन्न विद्यालयमा गठन गरिएका रिडर्स क्लबका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
डाइनामिक पब्लिक लाइब्रेरी कनकाईका अध्यक्ष ओमविक्रम नेम्वाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा शिक्षक एवं डाइनामिक पब्लिक लाइब्रेरी कनकाईका साहित्यिक संयोजक डिल्लीराम चापागाईं ‘प्रदेशी’ प्रमुख प्रशिक्षकका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा डाइनामिक पब्लिक लाइब्रेरी कनकाईका निवर्तमान अध्यक्ष तथा डाईनामिक पब्लिक लाईबेरी नेपालका राष्ट्रिय निर्देशक जेनिस चम्लागाई लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमको सञ्चालन फक्तालुङ्ग रिडर्स क्लबकी सचिव गीतादेवी चापागाईंले गर्नुभएको थियो भने राष्ट्रिय निर्देशक चम्लागाईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख प्रशिक्षक डिल्लीराम चापागाईं ‘प्रदेशी’ले ब्यानर वाचन गरेर गर्नुभएको थियो।
तालिमका क्रममा सहभागी विद्यार्थीहरूलाई कविता लेखनका आधारभूत पक्ष, सिर्जनात्मक अभिव्यक्ति, कविता वाचनको शैली तथा प्रभावकारी प्रस्तुतीकरणलगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। सहभागी विद्यार्थीहरूले आफ्ना सिर्जना तथा कविता प्रस्तुत गर्दै वाचनसम्बन्धी अभ्याससमेत गरेका थिए।
पठन संस्कृतिको विकाससँगै बालबालिका तथा युवामा साहित्यप्रतिको रुचि, सिर्जनशीलता, आत्मविश्वास र अभिव्यक्ति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

























