दमक । झापाको दमकमा आगामी असोज १५ गतेदेखि आयोजना हुने कोशी प्रदेश जिल्ला स्तरीय फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ।
दमक भेट्रान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता दमक–२, बेलडाँगीस्थित खेलमैदानमा सञ्चालन हुने क्लबका अध्यक्ष गजेन्द्र देवानले जानकारी दिनुभयो। प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट १२ वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने क्लबका सचिव विरेन राईले जानकारी दिनुभयो।
क्लबका अध्यक्ष देवानका अनुसार पछिल्लो समय खेलकुद गतिविधिमा कमी आएको अवस्थामा खेलाडीमा उत्साह र उत्प्रेरणा बढाउने तथा स्थानीयस्तरमा फुटबल खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
आयोजकले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी तथा समन्वयलाई तीव्रता दिएको जनाएको छ।

























