कमल / जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी सामाजिक तथा मानवीय सेवासँग जोड्दै झापा कमल ६ का युवा भीम पौडेलले उदाहरणीय कार्य गरेका छन् ।
पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर कमल गाउँपालिकाका अति विपन्न तथा समस्यामा परेका चार परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका हुन् । उनले कमल गाउँपालिका–६ निवासी एकल महिला तथा प्यारालाइसिसबाट प्रभावित सिजा दर्नाल, चुड्के मुर्मु
राम ग्वाल र
अमन यादबको परिवारलाई चामल नुन तेल सहित सामग्री सहयोग गरेका हुन् ।
व्यक्तिगत खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै दुःख र अभावमा रहेका परिवारलाई केही राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको पौडेलले बताउनुभयो।
यस प्रकारको सामाजिक कार्यले समस्यामा रहेका परिवारको जीवनमा केही राहत र खुसी थप्नुका साथै अरूलाई पनि मानवीय सेवामा प्रेरित गर्ने दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले बताउनुभयो। उहाँले व्यक्तिगत उत्सवलाई सामाजिक सेवासँग जोड्ने पौडेलको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा लायन्स क्लब इन्टर नेशन ३२५ सीका गभर्नर लीला चिमरिया,
बाणिज्य संघका अध्यक्ष गुरागाईं , पहिलो पाइला नेपालका सल्लाहकार गणेश प्रधान, विवेक बजगाईं, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, कमल शाखाका अध्यक्ष सञ्जु निरौला,युवराज भट्टराई, लायन्सकर्मी तथा पहिलो पाइला नेपाल कमल शाखाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
जन्मदिनमा गरिने खर्च र उत्सवलाई असहाय, विपन्न तथा समस्यामा परेका व्यक्तिको सहयोगमा रूपान्तरण गर्ने यस्तो अभ्यासले समाजमा मानवीय संवेदना, परोपकार र सामाजिक उत्तरदायित्वको संस्कार विकास गर्न सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।



























