२०८३ आश्विन २७ मंगलवार
२०८३ आश्विन २७ मंगलवार

दमक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदका लागि युवा नेता हुकुमसिंह राईले उम्मेदवारी घोषणा गरेका छन्। झापाको कमल गाउँपालिकाका अध्यक्षसमेत रहेका राईले आफ्नो उम्मेदवारीलाई जनमतको पार्टीभित्र प्रतिनिधित्व गराउने प्रयासका रूपमा व्याख्या गरेका छन्।

पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र पुनर्जागरणको एजेन्डामा सक्रिय राईले आफू नेतृत्वका लागि तयार हुनुपर्ने उपयुक्त समय आएको बताएका छन्।

“मेरो उम्मेदवारी जनमतलाई पार्टीमा अनुमोदन गराउन अनिवार्य छ। उमेर, पुस्ता, सक्रियता र वर्तमान परिस्थितिसमेतका आधारमा यो मेरा लागि नेतृत्वका लागि तयार हुनैपर्ने बेला हो,” राई भन्छन्, “अब हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?”

कांग्रेसभित्र नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने बहस चलिरहेका बेला राईले आफ्नो उम्मेदवारीलाई त्यसैको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन्। गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग जोडिएको विशेष महाधिवेशनको प्रक्रियामा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी पार्टीको आन्तरिक रूपान्तरणका पक्षधरका रूपमा चिनिन्छन्।

पार्टीको नेतृत्वमा पुग्न उमेर मात्र पर्याप्त नहुने उनको धारणा छ। नेतृत्वमा कार्यक्षमता, योग्यता, अनुभव र सक्रियताको उचित संयोजन आवश्यक रहेको उनी बताउँछन्।

“पार्टीमा कार्यक्षमता, योग्यता, अनुभव र सक्रियता सबै कुराको संगम हुनुपर्छ। यी सबै पक्षको उचित मूल्याङ्कन गर्ने बेला यही हो,” राई भन्छन्, “यसको मूल्याङ्कन आम महाधिवेशन प्रतिनिधि साथीहरू र पार्टी पङ्क्तिले गर्नेछन्।”

स्थानीय तहको नेतृत्वमा रहेर प्राप्त गरेको अनुभव र पार्टी संगठनमा गरेको सक्रियतालाई केन्द्रीय नेतृत्वमा उपयोग गर्ने उनको अपेक्षा छ। पुस्तान्तरणको बहसलाई व्यवहारमा रूपान्तरण गर्दै पार्टीभित्र नयाँ नेतृत्वको सम्भावना स्थापित गर्नु आफ्नो उम्मेदवारीको प्रमुख औचित्य रहेको राईको भनाइ छ।

दमक – सुजन गाैतम / झापाको दमकमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश जिल्ला स्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ को चौथो दिनको पाेहिले क्वार्टर फाईनल खेलमा चन्द्रगढी भेट्रान (झापा) र धरान भेट्रान (सुनसरी) बीच भिडन्त भएको थियो । प्रतियोगिताको चौथो दिनकाे खेलमा चन्द्रगढी भेट्रानले धरान भेट्रान लाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

दमक–२ स्थित बेलडाँगी खेलमैदानमा भएको खेलको खेल सुरु भएको ८औँ मिनेटमा धरान भेट्रानका जर्सी नम्बर १६ का राष्ट्रिय खेलाडी खगेन्द्र खड्काले १ गोल गरेका थिए। त्यसपछि खेलको २२औँ मिनेटमा चन्द्रगढी भेट्रानका जर्सी नम्बर ९ का प्रेमकुमार लिम्बूले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। यस्तै, हाफ टाइमपछि खेलको अन्तिम मिनेटमा चन्द्रगढी भेट्रानका जर्सी नम्बर ११ का मित्र बस्नेतले गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका थिए।

त्यसैगरी सोही दिनको दोस्रो खेलमा काकडभिट्टा भेट्रान र दुधे भेट्रान बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको चौथो दिनकाे दोस्रो खेलमा काकडभिट्टा भेट्रानले दुधे भेट्रान लाई २-० गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको पहिलो हाफसम्म कुनै पनि टोलीले गोल गर्न सकेन। दोस्रो हाफको ८औँ मिनेटमा पेनाल्टीमार्फत काँकरभिट्टा भेट्रानका राष्ट्रिय खेलाडी जर्सी नम्बर १४ का विशाल राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। लगत्तै दोस्रो हाफको ११औँ मिनेटमा पनि विशाल राईले अर्को गोल गर्दै टोलीलाई २–० को जित हासिल गराए। खेलका क्रममा दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाएका थिए।

यो खेलसँगै चन्द्रगढी भेट्रान र काकडभिट्टा भेट्रान प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। भाेलि हुने सेमिफाइनलकाे पहिलो खेल बिर्तामोड भेट्रान र चन्द्रगढी भेट्रान बीच हुनेछ भने सेमीफाइनलको दोस्रो खेल दमक भेट्रान (रातो) र काकडभिट्टा भेट्रान बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विजेताले प्राप्त गर्ने १ लाख रुपैयाँ पुरस्कार दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ। दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भइरहेको छ।

सुजन गौतम – दमक । झापाको दमकमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश जिल्ला स्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ अन्तर्गत शनिबार भएका क्वार्टरफाइनल खेलबाट बिर्तामोड भेट्रान र दमक भेट्रान (रातो) सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताको तेस्रो दिन भएको पहिलो क्वार्टरफाइनल खेलमा बिर्तामोड भेट्रानले दमक भेट्रान (निलो) लाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

दमक–२ बेलडाँगी खेलमैदानमा भएको खेलको ११औँ मिनेटमा बिर्तामोड भेट्रानका जर्सी नम्बर ७ का खेलाडी प्रवेश कटुवालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको १९औँ मिनेटमा जर्सी नम्बर १० का सन्तोष राईले गोल थपेपछि बिर्तामोडले २–० को जित सुनिश्चित गरेको हो।

त्यस्तै, दोस्रो क्वार्टरफाइनल खेलमा ढल्केजोबन उर्लाबारी भेट्रान र दमक भेट्रान (रातो) बीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमार्फत नतिजा निकालिएको थियो। पेनाल्टीमा दमक भेट्रान (रातो) ले ढल्केजोबन उर्लाबारी भेट्रानलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

उक्त प्रतिस्पर्धात्मक खेलमा ढल्केजोबन उर्लाबारीका तीन जना खेलाडीले पहेँलो कार्ड पाएका थिए भने दमक भेट्रान (रातो) का एक जना खेलाडीले पहेँलो कार्ड पाएका थिए।

अब प्रतियोगिताको बाँकी दुई क्वार्टरफाइनल खेल आइतबार हुनेछन्। पहिलो खेलमा चन्द्रगढी भेट्रान र धरान भेट्रानबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा काँकडभिट्टा भेट्रान र दुधे भेट्रानबीच खेल हुनेछ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विजेताले प्राप्त गर्ने पुरस्कारमध्ये १ लाख रुपैयाँ दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ।

दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भइरहेको छ।

झापा, कमल ।कमल गाउँपालिकामा सञ्चालन भएको जे.ई. विरुद्धको खोप अभियान–२०८३ अन्तर्गत आश्विन ५ गतेदेखि १५ गतेसम्म १७ हजार ९०२ जनाले जे.ई. विरुद्धको खोप लगाएका छन्। गाउँपालिकाको कुल लक्षित जनसंख्या २६ हजार ४६८ मध्ये उक्त संख्याले खोप लगाएसँगै अभियानको समग्र प्रगति ६७.६ प्रतिशत पुगेको छ।

अभियानअन्तर्गत ३० वर्षदेखि ६० वर्ष उमेर समूहका १३ हजार २३७ जना र ६० वर्षमाथिका ४ हजार ६६५ जना नागरिकले जे.ई. विरुद्धको खोप लगाएका छन्। खोप लगाउनेमध्ये १० हजार ४५० जना महिला र ७ हजार ४५२ जना पुरुष रहेका छन्।

वडा अनुसार हेर्दा कमल गाउँपालिका–६ मा ८०.१ प्रतिशत र वडा नं. ३ मा ७९.९ प्रतिशत प्रगति भएको छ। त्यसैगरी वडा नं. ७ मा ६९.२ प्रतिशत, वडा नं. ५ मा ६५.७ प्रतिशत, वडा नं. १ मा ६५.३ प्रतिशत, वडा नं. २ मा ६१.८ प्रतिशत र वडा नं. ४ मा ५३.५ प्रतिशत प्रगति भएको छ।

अभियानमा वडा नं. ५ बाट सबैभन्दा धेरै ३ हजार ५१४ जना नागरिकले खोप लगाएका छन्। त्यसपछि वडा नं. ६ बाट ३ हजार ११३ जना, वडा नं. ३ बाट २ हजार ५१७ जना, वडा नं. ७ बाट २ हजार ४८६ जना, वडा नं. १ बाट २ हजार १५५ जना, वडा नं. ४ बाट २ हजार ९९ जना र वडा नं. २ बाट २ हजार १८ जना नागरिकले खोप लगाएका छन्।

जे.ई. रोगको जोखिम न्यूनीकरण तथा नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको अभियानमा लक्षित उमेर समूहका नागरिकको उल्लेख्य सहभागिता रहेको गाउँपालिकाले जनाएको छ। अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाको समन्वय र सहकार्य रहेको थियो।

गाउँपालिकाले ३० वर्षमाथिका लक्षित नागरिकलाई जे.ई. विरुद्धको खोपबाट सुरक्षित रहन तथा खोप लिन बाँकी नागरिकलाई सम्बन्धित स्वास्थ्य संस्था वा तोकिएको खोप केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ।

आफू सुरक्षित बनौँ, परिवार सुरक्षित राखौँ, समुदाय सुरक्षित बनाऔँ” भन्ने सन्देशसहित सञ्चालन भएको जे.ई. खोप अभियानले कमल गाउँपालिकामा नागरिकको स्वास्थ्य सुरक्षाका लागि थप जनचेतना अभिवृद्धि गरेको छ।

दमक । झापाको दमक–६ स्थित ग्लोबल एजुकेसनल एकेडेमीले चाडपर्वका समयमा हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा विद्यालय परिसरमै आयोजित रक्तदान कार्यक्रममा करिब २५० पिन्ट रगत संकलन भएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक गुणराज अधिकारीका अनुसार विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र मानवताको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विद्यार्थी तथा विद्यालय परिवारलाई सामाजिक सेवाप्रति प्रेरित गर्ने उद्देश्यले रक्तदान कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो।

चाडपर्वका समयमा विभिन्न कारणले रगतको माग बढ्ने र अभावसमेत हुन सक्ने भएकाले कार्यक्रमले बिरामीहरूका लागि रगतको सहज आपूर्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्यालयले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

दमक – सुजन गाैतम / दमकमा बिहीबारदेखि कोशी प्रदेश जिल्लास्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ सुरु भएको छ। प्रतियोगिताको दोस्रो दिनको खेलमा मिक्लाजुङ भेट्रान र चन्द्रगढी भेट्रानबीच प्रतिस्पर्धा भएको थियो। दोस्रो दिनको खेलमा चन्द्रगढी भेट्रानले मिक्लाजुङ भेट्रानलाई ५–० गोल अन्तरले पराजित गरेको छ।

दमक–२ स्थित बेलडाँगी खेलमैदानमा भएको खेलको पहिलो हाफको अन्तिम मिनेटमा चन्द्रगढी भेट्रानका कप्तान जर्सी नम्बर ३ का प्रेम लिम्बूले पहिलो गोल गर्न सफल भएका थिए।
त्यस्तै, हाफपछि ६ मिनेटमा चन्द्रगढी भेट्रानका जर्सी नम्बर ११ का खेलाडी मित्र बसन्तले अर्को गोल गर्न सफल भएका थिए। त्यसैगरी चन्द्रगढी भेट्रानका जर्सी नम्बर १० का युगल किशोर राईले हाफ टाइमपछि ११औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

लगत्तै १६औँ मिनेटमा जर्सी नम्बर १८ का सुवास खड्काले गोल गर्न सफल भएका थिए। त्यसपछि तत्कालै चन्द्रगढी भेट्रानका कप्तान जर्सी नम्बर ३ का प्रेम लिम्बूले हाफपछि १७औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता ५ गोलमा पुर्‍याएका थिए।
चन्द्रगढी भेट्रानले मिक्लाजुङ भेट्रानमाथि गोलको वर्षा गरेको थियो भने मिक्लाजुङ भेट्रानले लज्जास्पद हार बेहोर्नुपरेको थियो।

त्यसैगरी सोही दिनको दोस्रो खेलमा काँकरभिट्टा भेट्रानले मिल्स भेट्रान विराटनगरलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।
मिल्स भेट्रान विराटनगर र काँकरभिट्टा भेट्रानबीच भएको खेलमा सुरुवातको दोस्रो मिनेटमै मिल्स भेट्रान विराटनगरका जर्सी नम्बर ८ का सुमित डंगेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको छैटौँ मिनेटमा काँकरभिट्टा भेट्रानका जर्सी नम्बर ९ का राजु गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको दुई मिनेटपछि अर्थात् आठौँ मिनेटमा काँकरभिट्टा भेट्रानका जर्सी नम्बर १७ का रमेश बस्नेतले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए।
खेलको २४औँ मिनेटमा काँकरभिट्टा भेट्रानका जर्सी नम्बर १६ का रानु राना मगरले पहेँलो कार्ड पाए।

दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा काँकरभिट्टा भेट्रानका जर्सी नम्बर १८ का राजु पौडेलले गोल गर्दै टोलीको अग्रता ३–१ बनाए। त्यसलगत्तै दोस्रो हाफको सातौँ मिनेटमा काँकरभिट्टा भेट्रानका जर्सी नम्बर २१ का लिला बहादुर जोशीले गोल गर्दै टोलीको जित ४–१ ले सुनिश्चित गरेका थिए ।

यो खेलसँगै दमक चन्द्रगढी भेट्रान र काँकरभिट्टा भेट्रान प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। भने अब क्वाटरफाइनल खेलमा पहिलो खेल दमक भेट्रान निले र बिर्तामोड भेट्रान र दोश्रो खेल ढल्के जोवन उर्लाबारी भेट्रान र दमक रातो भेट्रान बीच हुने छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। विजेताले प्राप्त गर्ने १ लाख रुपैयाँ पुरस्कार दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ।
दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भइरहेको छ।

दमक । झापाको दमकमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश जिल्लास्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ अन्तर्गत दोस्रो खेलमा ढल्केजोवन भेट्रान उर्लाबारीले धरान बुढासुब्बा भेट्रानलाई ३–० गोल अन्तरले पराजित गरेको छ।

दमक–२ स्थित बेलडाँगी खेलमैदानमा भएको खेलमा ढल्केजोवन भेट्रान उर्लाबारीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। उर्लाबारीका जर्सी नम्बर २० का रोजिन शिवाकोटीले खेलको १९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको चार मिनेटपछि जर्सी नम्बर १० का विनोद लामाले गोल गर्दै अग्रता २–० मा पुर्‍याए।
दोस्रो हाफमा पनि उर्लाबारीले आफ्नो दबदबा कायम राख्यो। रोजिन शिवाकोटीले खेलको ४८औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै उर्लाबारीलाई ३–० को जित दिलाए।

खेलका क्रममा दुवै टोलीका जर्सी नम्बर ६ का कमल खवास र जर्सी नम्बर ७ का सूर्यबहादुर राईले पहेँलो कार्ड पाए।
जितसँगै ढल्केजोवन भेट्रान उर्लाबारी प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अब उर्लाबारीले आगामी १७ गते दमक रातो भेट्रानसँग प्रतिस्पर्धा गर्नेछ।
दमक भेट्रान फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार रुपैयाँ तथा उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। विजेतालाई प्रदान गरिने १ लाख रुपैयाँ दमकस्थित माया क्याफेले सौजन्यस्वरूप सहयोग गरेको आयोजकले जनाएको छ।

दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन भइरहेको छ। उद्घाटन सत्रमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।

प्रतियोगिताका खेलहरू २५–२५ मिनेट गरी कुल ५० मिनेटको हुने रेफ्री लिला बस्नेतले जानकारी दिए।
प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन्। पहिलो खेलमा मिक्लाजुङ भेट्रान र चन्द्रगढी भेट्रानबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मिल्स भेट्रान र काकरभिट्टा भेट्रान आमनेसामने हुनेछन्।

नेपाली कांग्रेसकी नेतृ तथा झापाको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई जारी पार्टी महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा अघि बढ्ने तयारी गर्नु भएको छ ।

नेपाल विद्यार्थी संघको विद्यालय तहको समितिबाट राजनीतिक यात्रा सुरु गर्नुभएकी भट्टराई हाल नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिकी सदस्य तथा कार्यसम्पादन समिति सदस्य हुनुहुन्छ । पार्टीका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आउनुभएकी उहाँलाई अब केन्द्रीय तहमा रहेर काम गर्ने अवसर दिनुपर्ने कार्यकर्ताको समेत अपेक्षा रहेको बताइएको छ ।

भर्खरै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट लोकप्रिय मतसहित निर्वाचित भएपछि भट्टराईप्रति पार्टीभित्रको चासो थप बढेको छ । अध्ययनशील, जनप्रतिनिधिका रूपमा सक्रिय तथा संगठनभित्र निरन्तर जिम्मेवारी निर्वाह गर्दै आएकी नेतृका रूपमा उहाँलाई केन्द्रीय नेतृत्वमा देख्न चाहेको कार्यकर्ताहरू बताउँछन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरसमेत रहेको दमकमा नेपाली कांग्रेसबाट पहिलो पटक उपप्रमुखमा निर्वाचित भएपछि भट्टराईको राजनीतिक पहिचान स्थानीय तहभन्दा बाहिरसमेत स्थापित भएको हो । दमक नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएपछि उहाँले स्थानीय सरकार सञ्चालन, जनसरोकारका विषय र नगरपालिकाका विभिन्न गतिविधिमा नागरिकको पक्षमा कामगर्दै आउनु भएको छ । नेपाल नगरपालीका संघमा रहेर समेत उहाँले आप्mनो क्षमता देखाउनु भएको छ । उपप्रमुखको जिम्मेवारी सम्हालिरहँदा पनि उच्च शिक्षालाई निरन्तरता दिँदै उहाँ हाल पीएचडी अध्ययनरत रहनु भएको छ ।

पार्टीका यस अघिका अधिवेशनमा पनि लोकप्रिय मतसहित निर्वाचित हुँदै आउनुभएकी भट्टराईलाई महिला नेतृत्वको प्रतिनिधित्व बलियो बनाउने सम्भावित नेतृका रूपमा समेत हेरिएको छ । उहाँ संग स्थानीय तहको जनप्रतिनिधिको जिम्मेवारीसँगै पार्टी संगठनमा सक्रिय रहँदै प्रदेश तहको जिम्मेवारीसमेत प्रभावकारी रूपमा निर्वाह गरेको अनुभव रहेको छ ।
उहाँले पार्टीले यसअघि दिएको जिम्मेवारी आफूले कुशलतापूर्वक निर्वाह गरेको र प्रदेश समितिको कार्यसम्पादन समितिमा रहेर काम गर्ने अनुभवसमेत हासिल गरिसकेकाले अब केन्द्रीय समितिमा रहेर काम गर्ने इच्छा रहेको बताउनु भएको छ ।

“पार्टीले अहिलेसम्म दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै आएकी छु । प्रदेश समितिमा रहेर काम गर्ने अनुभव पनि प्राप्त भएको छ । अवसर पाए अब केन्द्रीय समितिमा रहेर पार्टीका लागि काम गर्ने इच्छा छ,” भट्टराईले भन्नु भयो ।

पार्टीको संगठन विस्तार, महिला सहभागिता, स्थानीय तहको जनप्रतिनिधिका रूपमा प्राप्त अनुभव तथा प्रदेश तहको राजनीतिक भूमिकालाई आधार बनाएर कार्यकर्ताले भट्टराईलाई केन्द्रीय नेतृत्वमा देख्न चाहेको बताइएको छ ।

कमल / हुकुमसिंह राईले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीको विशेष महाधिवेशनमार्फत देशभर नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला राईले नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नुपर्ने धारणा राख्दै केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
पार्टी नेतृत्वमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता र हस्तान्तरण आवश्यक रहेको मान्यतासहित सक्रिय रहँदै आएका राई झापा क्षेत्र नं. ५ बाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

यसअघि कोशी प्रदेश समिति सदस्य तथा पार्टी महासमिति सदस्यमा सर्वाधिक मत प्राप्त गरेका राई संगठनभित्र प्रभावशाली युवा नेताका रूपमा स्थापित छन्। कम्युनिष्ट प्रभाव बलियो मानिने झापाको पश्चिमी भूगोलमा पर्ने कमल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर स्थानीय तहको नेतृत्वसमेत सम्हालिरहेका राईले विकास र संगठन निर्माणलाई प्राथमिकतामा राख्दै आएका छन्।
१५ औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उनको उम्मेदवारीलाई नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने अभियानसँग जोडेर हेरिएको छ।

कमल । झापाको कमल गाउँपालिका–५, पाडाजुङ्गीस्थित स्मारिका सामुदायिक बोर्डिङ स्कुलमा विद्यार्थीहरूले मौलिक परम्परा, सांस्कृतिक विविधता र आपसी भाइचारा प्रवर्द्धन गर्ने उद्देश्यले विशेष ‘पोटलक तथा सांस्कृतिक उत्सव’ आयोजना गरेका छन्।

चाडपर्वको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नेपाली समाजको बहुजातीय तथा बहुसांस्कृतिक पहिचान झल्काउने विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए।
कार्यक्रमको मुख्य आकर्षण ‘पोटलक पार्टी’ रहेको थियो। विद्यार्थीहरूले आ–आफ्नो घरबाट स्थानीय तथा जातीय परिकार ल्याएर एकआपसमा साटासाट गर्दै स्वाद लिएका थिए। कार्यक्रममा नेवारी, सन्थाल, धिमाल, राई र लिम्बू समुदायका मौलिक तथा रैथाने परिकारको समेत प्रदर्शन गरिएको थियो।

कार्यक्रमले विद्यार्थीहरूबीच भाइचारा, आत्मीयता र सहकार्यको भावना विकास गर्न सहयोग पुगेको छ। साथै, किताबी ज्ञानमा मात्र सीमित नरही नेपालका विभिन्न समुदायका खानपान, भेषभूषा, परम्परा तथा सांस्कृतिक महत्त्वबारे विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक गुणराज गिरीले जानकारी दिनुभयो।
विद्यालय प्रशासनले यस्ता गतिविधिले विद्यार्थीमा आफ्नो संस्कृति पहिचानसँगै अन्य समुदायका संस्कृतिप्रति सम्मान र सहिष्णुता विकास गर्न सहयोग पुग्ने जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।