२०८३ आश्विन २७ मंगलवार
२०८३ आश्विन २७ मंगलवार

असार २०, दमक / विद्यालयमा नेतृत्व क्षमता र व्यवहारिक सिकाइको विकास गर्ने उद्देश्यले आयोजित “एक दिनका लागि विद्यालय सञ्चालन” कार्यक्रमअन्तर्गत प्रजिता शिवाकोटी एक दिनका लागि विद्यालयको प्रिन्सिपल बनेकी छन्।
प्रजिता क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा प्रजिता शिवाकोटीसहित १४ जना विद्यार्थीले विद्यालयका विभिन्न जिम्मेवारीपूर्ण पद सम्हाल्दै शिक्षक तथा प्रशासनले दैनिक रूपमा गर्ने कार्यको व्यवहारिक अभ्यास गरेका थिए।
विद्यार्थीहरूले कक्षा सञ्चालन, प्रशासनिक व्यवस्थापन, अनुशासन कायम, समन्वय तथा विद्यालय सञ्चालनसँग सम्बन्धित विविध गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए।
विद्यालयका अनुसार कार्यक्रमको उद्देश्य विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन, निर्णय गर्ने क्षमता तथा टोलीमा मिलेर काम गर्ने सीपको विकास गर्नु हो। यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थीलाई भविष्यका जिम्मेवार र सक्षम नेतृत्वका रूपमा तयार पार्न महत्वपूर्ण योगदान पुग्ने विद्यालयको विश्वास रहेको छ।

दमक, १८ असार / सामाजिक सेवामा सक्रिय संस्था पहिलो पाइला नेपाल, दमक शाखाले दमक–१० स्थित सेतुमारिमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै छाता, टोपी, रामनामी तथा फलफूल वितरण गरेको छ।

दुर्गा पाञ्चायन मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा वडा क्षेत्रका २५ जना ज्येष्ठ नागरिकलाई दैनिक जीवनमा उपयोगी सामग्री तथा फलफूल वितरण गरिएको हो। संस्थाले ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै उनीहरूको स्वास्थ्य, सुरक्षा र सामाजिक सम्मान प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रमको अध्यक्षता पहिलो पाइला नेपाल, दमक शाखाका अध्यक्ष राजु निरौलाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पारिजात टोल विकास संस्थाका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठ सहभागी थिए।

शाखाका उपाध्यक्ष लवराज खड्काले सञ्चालन गरेको कार्यक्रममा वक्ताहरूले पहिलो पाइला नेपालले शिक्षा, स्वास्थ्य, सामाजिक सहयोग तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर गर्दै आएको योगदानको प्रशंसा गर्दै यस्ता सेवामूलक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय सचिव दिवस खतिवडा, गौरादह शाखाका अध्यक्ष, कलश बचत तथा ऋण सहकारी संस्था दमकका अध्यक्ष महेश घिमिरे तथा स्थानीय सामाजिक व्यक्तित्वहरू नगेन्द्रमणि न्यौपाने, तुलसी देवान, बिनोद ढकाललगायतको उपस्थिति रहेको थियो।

पहिलो पाइला नेपालले विगतदेखि नै समाजका विभिन्न वर्गलाई लक्षित गरी शिक्षा, स्वास्थ्य, सामाजिक सहयोग तथा मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

दमक । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को अवसरमा झापाको दमकस्थित प्रतिफल कृषि सहकारी संस्थाले सोमबार विशेष रोपाइँ कार्यक्रम आयोजना गरी दिवस उल्लासपूर्वक मनाएको छ।

कार्यक्रममा जलवायुमैत्री कृषि प्रविधिको प्रयोग, खाद्य सुरक्षा प्रवर्द्धन तथा कृषिप्रति युवाको आकर्षण बढाउने उद्देश्यका साथ सामूहिक रूपमा धान रोपाइँ गरिएको थियो।

संस्थाका अध्यक्ष राजु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमक नगरपालिकाका प्रमुख राम थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नगरपालिकाको कृषि शाखाका अधिकृत, विभिन्न संघ–संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, सहकारीका सदस्य तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। नौमती बाजाको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

वक्ताहरूले कृषि उत्पादन वृद्धि, आधुनिक तथा जलवायुमैत्री खेती प्रणालीको विस्तार र खाद्य आत्मनिर्भरताका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए। सहभागीहरूले सामूहिक रूपमा धान रोप्दै कृषिको सम्मान, किसानको योगदान र परम्परागत संस्कृतिको संरक्षणमा जोड दिएका थिए।

कार्यक्रमले कृषि उत्पादन बढाउने, सहकारीमार्फत किसानलाई संगठित बनाउने तथा समुदायमा कृषि सचेतना अभिवृद्धि गर्ने सन्देश दिएको आयोजकले जनाएको छ।

असार-१५,दमक/पहिलो पाइला नेपाल (प्रस्तावित कमल शाखा) ले २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सोमबार कमल गाउँपालिका–५ स्थित रमा बिन्देबासिनी गुरुकुलमा दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाका सह–संयोजक कुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा प्रतिनिधि ओम प्रधान प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले धर्म, संस्कार र संस्कृतिको संरक्षणमा गुरुकुलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमले समुदायबीच आपसी सद्भाव र एकता बढाउने विश्वास व्यक्त गर्दै कार्यक्रम आयोजकलाई धन्यवाद तथा शुभकामना दिनुभयो।

कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय सचिव दिवस खतिवडा, जीवनचक्र समाज नेपालका अध्यक्ष जीपी गौतम, मङ्गलमय टोल विकास संस्थाका अध्यक्ष गणेश प्रधान, सामाजिक अगुवा तारा बस्नेत, गङ्गा निरौला, रमा बिन्देबासिनी गुरुकुलका प्रधानाध्यापकलगायत विभिन्न सामाजिक व्यक्तित्व तथा संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो।

हाल गुरुकुलमा २४ जना विद्यार्थी अध्ययनरत रहेका छन्। राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा गुरुकुलमा अध्ययनरत घरबाट टाढा रहेका बटुकहरूलाई दही–चिउरा खुवाउनुका साथै धान दिवसको महत्वबारे जानकारी गराइएको आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन संस्थाका सदस्य दीपेन्द्र खतिवडाले गर्नुभएको थियो।

असार १५, दमक / झापाको दमकमा तीनदिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ। पाशुपति आध्यात्मिक महिला समूह दमकको आयोजनामा सञ्चालित उक्त तालिम आइतबार दमक–३ स्थित पाशुपति मन्दिरको सभाहलमा समापन गरिएको हो। महिला दिदीबहिनीहरूको नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक बोल्ने सीप विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा ५० जना महिलाको सहभागिता रहेको थियोे ।

समापन समारोहकी प्रमुख अतिथि महिला तथा बालबालिका शाखाकी अधिकृत जमुना पौडेल ले यस्ता तालिमले महिलाको नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सार्वजनिक रूपमा आत्मविश्वासका साथ आफ्नो विचार प्रस्तुत गर्ने क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। तीन दिनसम्म सञ्चालन भएको तालिममा भवनि रेग्मी र विष्णु अधिकारी ले सहजीकरण गर्नुभएको थियो। उहाँहरूले नेतृत्व विकास, प्रभावकारी सञ्चार, उद्घोषण कला तथा सार्वजनिक प्रस्तुतीकरणका विविध विषयमा प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमकी अध्यक्ष तथा पाशुपति आध्यात्मिक महिला समूह दमककी अध्यक्ष रीता थापाले तालिमबाट सहभागीहरूमा मञ्चमा निडर भएर बोल्ने आत्मविश्वास बढेको बताउँदै सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। कार्यक्रममा सहभागी सम्पूर्ण लाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन समूहकी सदस्य विमला पोखरेल ले गर्नुभएको थियो। आयोजकका अनुसार आगामी दिनमा पनि महिलाको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ।

दमक,१५ असार/कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्मानजनक विदाइ तथा नवनियुक्त स्वयंसेविकाहरूको स्वागत कार्यक्रम गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रममा लामो समयदेखि समुदायको स्वास्थ्य प्रवर्द्धन, मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, परिवार नियोजनलगायत जनस्वास्थ्यका विभिन्न कार्यक्रममा उल्लेखनीय योगदान पुर्‍याई अनिवार्य अवकाश प्राप्त गर्नुभएका राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कमला कार्की र बिमला भट्टराईलाई सम्मानपत्र, मायाको चिनो तथा जनही नगद रु. १ लाखसहित सम्मानपूर्वक विदाइ गरिएको थियो।

विदाइ कार्यक्रममा उहाँहरूको निस्वार्थ, समर्पित र अनुकरणीय सेवाको उच्च प्रशंसा गर्दै आगामी जीवन सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।

विदाइ मन्तव्यका क्रममा स्वयंसेविका बिमला भट्टराईले ३३ वर्षसम्म सेवा गर्ने क्रममा धेरै चुनौती र अवरोध सामना गर्नुपरे पनि समाजप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै निरन्तर सेवा गर्न पाएकोमा गर्व र आत्मसन्तुष्टि महसुस भएको बताउनुभयो। कर्मप्रतिको सन्तुष्टिले जीवनलाई शान्त र सुखद बनाएको अनुभव पनि उहाँले सुनाउनुभयो।

त्यसैगरी, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा नवनियुक्त हेममाया विष्ट (कमल–४) र सविता पोखरेल (कमल–६)लाई खादा तथा पुष्पगुच्छासहित स्वागत गरिएको थियो। स्वागत मन्तव्यका क्रममा हेममाया विष्टले समुदायको स्वास्थ्य प्रवर्द्धनका लागि सक्रिय, जिम्मेवार र समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हुकुम सिंह राईले राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्दै लामो समयसम्म सेवा गर्ने स्वयंसेविकाहरूको योगदान सधैं स्मरणीय रहने बताउनुभयो। उहाँले नवनियुक्त स्वयंसेविकाहरूले पनि इमानदारी, समर्पण र सेवाभावका साथ समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रतिनिधि, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

दमक / दमक बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पारसमणी आचार्यले सार्वजनिक कार्यक्रममा गरेको ‘क्याम्पसले विद्यार्थीलाई निशुल्क यातायात सेवा उपलब्ध गराएको’ दाबी सत्यता नभएको पाईएको छ । बिहीबार क्याम्पसमा आयोजित एक कार्यक्रममा बोल्दै सहायक प्रधानाध्यापक आचार्यले भनेका थिए, ‘तपाईँहरूलाई थाहा छ होला, नेपालमै यस्तो एउटा क्याम्पस छ, जहाँ हामीले निशुल्क यातायात सेवा प्रदान गरिरहेका छौँ ।’ उनको यो अभिव्यक्तिपछि क्याम्पसले वास्तवमै निशुल्क सेवा दिएको हो वा होइन भन्ने विषयमा चासो बढेको हो ।
तर, प्राप्त जानकारीअनुसार दमक बहुमुखी क्याम्पसले सञ्चालन गरिरहेको यातायात सेवाबापत विद्यार्थीबाट शुल्क लिने गरेको देखिएको छ । प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूले यतायत प्रयोग गरेबापत वार्षिक रूपमा ८०० रुपैयाँ यातायात शुल्क तिर्नुपर्ने व्यवस्था रहेको क्याम्पसले उपलब्ध गराएको बिलमा देखिएको छ ।

अझ रोचक पक्ष के देखिएको छ भने क्याम्पसको बस वा अन्य यातायात सेवा प्रयोग नगर्ने विद्यार्थीहरूलाई समेत उक्त शुल्क अनिवार्य रूपमा तिर्न लगाइएको गुनासो विद्यार्थीहरूले गरेका छन् । सोहि क्याम्पसमा पहिलो बर्षमा अध्ययरनत एक बिद्यार्थी भन्छन् ‘ क्याम्पसले यातायात सेवा निःशुल्क भने पनि हामीबाट वार्षिक ८०० रुपैयाँ यातायात शुल्क लिइएको छ ।’ ती बिद्यार्थीले भने,‘बस प्रयोग नगर्ने विद्यार्थीले पनि अनिवार्य रूपमा यो शुल्क तिर्नुपरेको छ ।’विद्यार्थीहरूका अनुसार यातायात सेवा प्रयोग नगरे पनि शुल्क तिर्नुपर्ने व्यवस्थाले आर्थिक भार थपिएको छ । उनीहरुले यतायत प्रयोग नगर्ने बिद्यार्थीबाट लिन नहुने माग गरेका छन् । सोहि क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत एक बिद्यार्थी भन्छन्‘ हामीले यतायात सेवा प्रयोग गरेकै छैनौ । तर, हाम्रो बिलमा यतायात शुल्क भनेर राखिएको हुन्छ ।’ ती बिद्यार्थी भन्छन्, ‘ यो त बिद्यार्थीमाथि आर्थिक भार थोपरिएको जस्तो लाग्छ ।

दमक, १३ असार / झापाको दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा एकमहिने निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। हिमालय रोभर–रेन्जर स्काउट क्र्यु तथा हिमालय स्काउट ट्रुपको आयोजना, हिमालय माध्यमिक विद्यालयको सहयोग र ओम शान्ति डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरअन्तर्गत विद्यालयका सम्पूर्ण विद्यार्थीहरूको दन्त परीक्षण गर्ने लक्ष्य राखिएको छ।

ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेका अनुसार अघिल्लो शुक्रबार पहिलो शिविर सम्पन्न भएको थियो भने शुक्रबार दोस्रो चरणको शिविर सम्पन्न गरिएको हो। प्रत्येक शुक्रबार एक महिनासम्म सञ्चालन हुने शिविरमा स्मारक दाहाल र मालिका श्रेष्ठसहितको चिकित्सक टोलीले विद्यार्थीहरूको दन्त परीक्षण गरिरहेको छ।

शिविरमा सहभागी विद्यार्थीहरूले ओम शान्ति डेन्टल हस्पिटलबाट प्रदान गरिने सेवामा २० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। आवश्यक परे चिकित्सक शुल्कमा समेत विशेष छुटको व्यवस्था गरिएको सञ्चालक गैरेले जानकारी दिनुभयो। दमक–५ मा रहेको ओम शान्ति डेन्टल हस्पिटलले विशेषज्ञ चिकित्सकमार्फत दाँत तथा मुख स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

मोरङ । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढे पनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् ।

जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए । गत वर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उनले बताए । गत वर्ष ५ दशमलव ७१ उत्पादकत्व भएकोमा यस वर्ष वृद्धिभई ५ दशमलव ८० पुगेको हो ।

अघिल्लो साल चैते धानको मूल्य क्विन्टल दुई हजार सात सयसम्म पुगेकोमा यस वर्ष घटेर क्विन्टल दुई हजार सम्ममा भइरहेको रङ्गेली नगरपालिका–१ का किसान चन्द्र अधिकारी बताउँछन् । चैते धानले लगानी पनि नउठेको गुनासो गर्दै बेलबारी ९ नलबारीका किसान नरबहादुर कटुवालले भने “भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, किसानको पहुँचमा भण्डारण हुनेथ्यो भने यति सस्तोमा धान बेच्नुपर्ने थिएन । ”

कृषि ज्ञान केन्द्रका अनुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैते धानको खेती गर्ने गरेका छन् ।

काठमाडौँ । भक्तपुर सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब ७ः४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।

गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएकी उनको राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।