
साउन/दमकमा टिभिएस ब्राण्डको नया विद्युतीय स्कुटर ‘अर्बिटर’ लन्च गरिएको छ। दमक–५ स्थित दुर्गा इन्टरप्राइजेजमा आइतबार आयोजित एक समारोहबीच टिभिएस अर्बिटर भेरियन्ट सार्वजनिक गरिएको हो।
‘अलवेज अन’ उपनाम दिइएको सो स्कुटरले एकपटकको फूल चार्जमा १ सय ५८ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। तीन वटा विभिन्न रङमा उपलब्ध हुने यो स्कुटर नेपालमा गत साउन ७ गते जगदम्बा मोटर्स प्रालिले औपचारिक रूपमा लन्च गरेको थियो। अर्बिटर नेपालमा टिभिएसको आईक्युबपछि दोस्रो विद्युतीय स्कुटरका रूपमा आएको हो।
सो स्कुटरमा ४ घण्टा १० मिनेटमा पूर्ण चार्ज हुने सुविधा रहेको बताइएको छ। अगाडि र पछाडि सहज पार्किङ गर्न सकिने पार्किङ असिस्ट, इको र सिटी ड्राइभिङ मोड, मोबाइल एपलगायतका सुविधा यसमा उपलब्ध छन्। कम्पनीले स्कुटरमा ५ वर्ष तथा ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको जनाएको छ।
आज दुर्गा इन्टरप्राइजेजका प्रोप्राइटर दुर्गा बस्नेत, जगदम्बा मोटर्सका रिजनल म्यानेजर अमृत चौहान, ईभीका रिजनल म्यानेजर अर्जुन खनाललगायतले संयुक्त रूपमा उल्लेखित स्कुटर लन्च गरेका थिए।
कार्यक्रममा टिभिएसका रिजनल अफिसर सुरेश महतो, योगेन्द्र कार्की, दीपक मैनाली, सन्तोष ढकाल, कौशल न्यौपानेलगायत संचारकर्मीहरूको उपस्थिति रहेको थियो।
एक दशकदेखि टिभिएसका विभिन्न ब्राण्डका दुईपांग्रे सवारीसाधन बिक्री गर्दै आएको दुर्गा इन्टरप्राइजेजले अर्बिटर स्कुटरमा एक्सचेन्ज अफरसमेत उपलब्ध रहेको जनाएको छ। कम्पनीकाअनुसार पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी नया स्कुटर खरिद गर्न सकिनेछ।
अर्बिटरको बिक्री मूल्य २ लाख ८१ हजार ९ सय रुपैया रहेको बताइएको छ। कम्पनीले अप्रिल १० देखि १४ गतेसम्म एक्सचेन्ज अफर सञ्चालन गर्ने जनाएको छ।
दुर्गा इन्टरप्राइजेजका प्रोप्राइटर दुर्गा बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको अपरेशन म्यानेजर बालचन्द्र कार्कीले गरेका थिए।
दमक, साउन–झापाको गौरादह–५ बालुबथानस्थित जनता माध्यमिक विद्यालयमा आज एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
शुक्रबार, बालुबथानस्थित जनता माध्यमिक विद्यालयको आयोजना र दमक थुलुङ डेन्टल केयर सेन्टरका विशेषज्ञ डाक्टरहरुसहितको प्राविधिक सहयोगमा सम्पन्न दन्त शिविरबाट २ सय ११ जना लाभान्वित भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार दन्त शिविरमा विद्यार्थीहरु, अभिभावक र शिक्षक–शिक्षिकाहरुसहित २ सय ११ जना लाभान्वित भएका थिए ।
सो शिविरमा सेवा लिन आएका मध्ये ३३ जनाको किराले खाएर बिग्रिएका दाँत झिकिएको छ । त्यस्तैं, सो शिविरमा दन्त परिक्षण भएकाबाट २७ जनाको दाँत स्वास्थ्य देखिएको दन्तरोग विशेषज्ञ डाक्टर सोफिया थुलुङले जानकारी दिनुभयो । लाइफ लाइन अस्पतालमा दन्त रोगसम्बन्धि उपचारमा लामो समयदेखि कार्यरत थुलुङ डेन्टल केयर सेन्टरकी सञ्चालिका डाक्टर सोफिया थुलुङले जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई दाँतको हेरचार, रोकथाम र उपचारका बारेमा बुझाउन जरुरी देखिएको बताउनुभयो ।
शिविरमा दमक थुलुङ डेन्टलकी सञ्चालिका वरिष्ठ दन्त रोग विशेषज्ञ थुलुङसहित डाक्टर हाङमा माखिम, करुणा कार्की, धनमाया घिमिरे र शरद राजवंशी लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए ।
गौरादह । पहिलो पाइला नेपाल गौरादह शाखाको आयोजना तथा केन्द्रीय कार्यसमितिको सहजीकरणमा ट्रेनिङ तथा नवआगन्तुक स्वागत कार्यक्रम सम्पन्न भएको छ।
शाखा अध्यक्ष भूपेन्द्र निरौलाको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा पहिलो पाइला नेपालका केन्द्रीय अध्यक्ष कृष्णबहादुर राउत प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा गौरादह नगरपालिका–८ का वडाध्यक्ष गणेशकुमार राजवंशी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा गौरीगञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द घिमिरे, इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक, स्वतन्त्र विद्यार्थी युनियन गौरादह बहुमुखी क्याम्पसका अध्यक्ष तुलसीराम पौडेल, गौरीगञ्ज माविका शिक्षक तथा गायक होमनारायण ताजपुरिया, गौरीगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष रूपक श्रेष्ठलगायतको उपस्थिति थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राउतले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रममा बोल्दै वडाध्यक्ष राजवंशीले वडा कार्यालयसँग सहकार्य गर्दै संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उपस्थित वक्ताहरूले पहिलो पाइला नेपालले सञ्चालन गर्दै आएका सामाजिक तथा रचनात्मक गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।
कार्यक्रममा प्रस्तावित कमल शाखाका तर्फबाट नृत्य प्रस्तुत गरिएको थियो भने विभिन्न अतिथिहरूले गजल वाचन गर्दै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
प्रशिक्षकहरू नारायण बस्नेत, सम्झना अधिकारी अग्रवाल, सन्तोष बन्जाडे र खेमराज सापकोटालगायतले कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।
प्रमुख अतिथि कृष्णबहादुर राउतले पहिलो पाइला नेपालका विभिन्न शाखासँग समन्वय र सहकार्य गर्दै आगामी दिनमा अझ प्रभावकारी तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा संस्थाका विभिन्न शाखाका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पहिलो पाइला नेपाल गौरादह शाखाका सचिव प्रदीप धमलाले गरेका थिए।







