झापा।कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह, व्यवस्थापन तथा समग्र अवस्थाबारे जानकारी लिने क्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–१, बाँसबारी र लखनपुर स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गर्नुभएको छ।
२०८३ साल मंसिर ११ गते अध्यक्ष राई र स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहालसहितको टोलीले दुवै स्वास्थ्य संस्थाको निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा अध्यक्ष राईले स्वास्थ्य संस्थाबाट प्रदान भइरहेका स्वास्थ्य सेवाहरू, सेवाग्राहीको अवस्था, औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता, स्वास्थ्यकर्मीको उपस्थिति, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार, सरसफाइ तथा सञ्चालन भइरहेका स्वास्थ्य कार्यक्रमहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो। साथै, पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि भइरहेको घरधुरी सर्वेक्षण, मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रमलगायतका गतिविधिको प्रगतिबारे समेत जानकारी लिनुभएको थियो।
*बाँसबारी स्वास्थ्य केन्द्रमा अवाञ्छित गतिविधिप्रति अध्यक्षको चासो, सीसीटीभी जडान गरिने*
बाँसबारीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यालय परिसर तथा शौचालयमा फोहोर र अव्यवस्थित अवस्था देखिएपछि अध्यक्ष राईले घटनाबारे विशेष चासो व्यक्त गर्नुभएको थियो।
मिति २०८३/८/११ गते बिहान करिब ९ बजे कार्यालयमा कर्मचारी पुग्दा कण्डम वितरणका बाकस भुइँमा फालिएको, शौचालयमा हार्पिक पोखिएको तथा पान–सुपारी खाएर शौचालयका विभिन्न स्थानमा थुकेको अवस्थामा फोहोर बनाइएको पाइएको थियो।
घटनाबारे जानकारी पाएपछि अध्यक्ष राईले तत्काल स्वास्थ्य केन्द्र पुगेर वस्तुस्थितिबारे जानकारी लिनुभएको थियो। सो क्रममा कार्यरत अ.न.मी. बिन्द्रा राईले यसअघि पनि कार्यालयमा यस्तै प्रकृतिको घटना भएको र पुनः दोहोरिएको जानकारी गराउनुभएको थियो।
कार्यालयको सुरक्षा, स्वास्थ्य सामग्रीको संरक्षण तथा यस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष राईले स्वास्थ्य केन्द्रमा तत्काल सीसीटीभी क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।
*लखनपुर स्वास्थ्य चौकीको निरीक्षण तथा स्वास्थ्यकर्मीसँग छलफल*
त्यसपछि अध्यक्ष राईले लखनपुर स्वास्थ्य चौकीको समेत निरीक्षण गर्नुभएको थियो। निरीक्षणका क्रममा उहाँले स्वास्थ्य चौकीबाट प्रदान भइरहेका सेवा, स्वास्थ्य कार्यक्रमको कार्यान्वयन अवस्था, औषधि तथा सामग्रीको उपलब्धता र सेवा प्रवाहमा देखिएका समस्या तथा चुनौतीबारे जानकारी लिनुभएको थियो।
सो अवसरमा जनस्वास्थ्य निरीक्षक देवराज पराजुली, सि.अ.न.मी. निरीक्षक बिनुता सङ्ग्रौला, डम्बरकुमारी शर्मा, अ.न.मी. विद्या प्रधान तथा कार्यालय सहयोगी नारदमणि बर्देवासँग अध्यक्ष राईले छलफल गर्नुभएको थियो।
छलफलका क्रममा अध्यक्ष राईले स्वास्थ्यकर्मीहरूलाई नागरिकले आफ्नै गाउँठाउँमा सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने गरी जिम्मेवार, अनुशासित र सेवामैत्री ढङ्गले काम गर्न निर्देशन दिनुभयो। स्वास्थ्य संस्थामा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै देखिएका समस्या तथा आवश्यकतालाई प्राथमिकताका आधारमा सम्बोधन गर्न गाउँपालिकाले आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहालले स्वास्थ्य संस्थाको वर्तमान सेवा अवस्था, सञ्चालन भइरहेका कार्यक्रम, पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि भइरहेका गतिविधि घरधुरी सर्वेक्षण र सेवा प्रवाहका क्रममा देखिएका चुनौतीबारे अध्यक्ष राईलाई जानकारी गराउनुभएको थियो।
गाउँपालिकाले स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँचमा पुर्याउने, स्वास्थ्य संस्थाको व्यवस्थापकीय सुधार गर्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले नियमित अनुगमन र निरीक्षणलाई प्राथमिकता दिँदै आएको छ।




























